२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रोहिणीमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरुलाई सम्मान

आइतवार , आषाढ ३, २०८०

भैरहवा, ३ असार । 
रुपन्देहीको रोहिणी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा धकधईले गाउँपालिकास्तरीय कक्षा ५ र ८ को परीक्षा २०७९ मा उत्कृष्टता प्रदर्शन गर्ने विद्यालय, विद्यार्थी र शिक्षकहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।  शुक्रबार रोहिणी–३ स्वामीनगर, धकधईस्थित श्री रामनरेश नमूना आदर्श माध्यमिक विद्यालयमा कार्यक्रमको आयोजना गरी सम्मान तथा पुरस्कार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

कक्षा ५ तर्फ छिपागढ माध्यमिक विद्यालयकी नेहा कुमार यादव प्रथम, द्वितीय हुने बोदवार माविका सुमन कोइरी र तृतीय हुने नवजीवन आधारभूत विद्यालयका राजनारायण तेलीलाई साइकलसहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।

त्यस्तै कक्षा ८ तर्फ संस्थागत विद्यालयतर्फ स्पांगल इङलिस बोर्डिङ स्कूलकी आकृति श्रेष्ठ र सागर कुर्मी तथा सामूदायिक विद्यालयतर्फ बोदवार माविकी कल्पना यादव, भविष्य उज्जवल आधारभूत विद्यालयका सिद्धार्थ हरिजन र छिपागढ माविका अस्मिता यादव साइकल र प्रमाणपत्रसहित पुरस्कृत भएका छन् ।

IMG_9648.JPG

त्यस्तै विषयगत शिक्षकतर्फ धनेश्वर कँवर (नेपाली), राधेश हरिजन (गणित र सामाजिक), लेखराज हरिजन (विज्ञान), उर्मिला चौधरी (पेशा), सीतादेवी भट्टराई (स्वास्थ्य), शिवराम गडेरिया (अंग्रेजी), सावित्री कुंवर (कम्प्युटर), मुक्तिनारायण थारु (नैतिक), भानुशंकर कहाँर (विज्ञान), सलिमुन निशा (नेपाली), अमिना खातुन अन्सारी (सामाजिक), नजमा खातुन (अंग्रेजी) र कृष्ण प्रसाद चौधरी (नेपाली) सम्मानपत्रसहित पुरस्कृत भएका छन् ।

IMG_9691.JPG

त्यस्तै कक्षा ५ को परीक्षामा प्रथम हुने छिपागढ मावि, द्वितीय हुने नवजीवन आधारभूत विद्यालय र तृतीय हुने भविष्य उज्जवल आधारभूत विद्यालयलाई क्रमशः नगद रु. २० हजार, १५ र १२ हजार तथा प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

त्यसै गरी कक्षा ८ को परीक्षामा प्रथम हुने भविष्य उज्जवल आधारभूत विद्यालय, द्वितीय हुने पजरकट्टी र तृतीय हुने बोदवार माविलाई क्रमश : नगद रु. २० हजार, १५ र १२ हजार तथ प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

त्यस्तै विद्यालयलाई हराभरा र सरसफाईयुक्त राख्न सफल भएको भन्दै हरित विद्यालयतर्फ जनचेतना आधारभूत विद्यालय रु. ३५ हजार र भविष्य उज्जवल आधारभूत विद्यालय रु. १५ हजारसहित पुरस्कृत भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले जानकारी दिए ।

कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष तथ गाउँ शिक्षा समितिका संयोजक विद्या प्रसाद यादवले शिक्षा र स्वास्थ्यलाई गाउँपालिकाले बढी प्राथमिकता दिएको बताए । उनले पाँचवर्षे कार्यकालमा शैक्षिक गुणस्तर सुधार गरेर नमूना गाउँपालिका बनाउनेतर्फ लागिपरेको बताए । अध्यक्ष यादवले कमीकमजोरीलाई सुधार्दै शिक्षा क्षेत्रको विकासमा जुट्न आग्रह गरे । उनले भने, ‘सबैले आ–आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्छ । विरोधलाई सुझावको रुपमा लिएको छु ।’

गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजनले गाउँपालिकाले गरेको सम्मानले विद्यार्थी र शिक्षकलाई हौसला प्रदान हुने विश्वस्त रहेको बताइन् । उनले भनिन्, आगामी दिनमा अन्य विद्यालयलाई पनि सम्मान गर्न अवसर पाउने अपेक्षा गरेका छौं । उनले शिक्षा क्षेत्रलाई अगाडि बढाउन लागिपरेको बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक मात्र लागेर नहुने बताए । उनले जनप्रतिनिधि पनि जागरुक हुन आवश्यक रहेको बताए । उनले भने, ‘गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई चासोका साथ हेरिरहेको छ । आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन्छौं ।’

गाउँ शिक्षा समिति सदस्य तारानाथ त्रिपाठीले गाउँपालिकाले सराहनीय कार्य गरेको बताए । उनले यो कार्यक्रमले शिक्षक र विद्यार्थीको हौसला बढाउने कार्य गरेको बताए । उनले भने, ‘सम्मानित विद्यालयको जिम्मेवारी थपिएको छ । अंक र ग्रेडले मात्र शैक्षिक गुणस्तर निर्धारण हुँदैन ।’

गाउँ शिक्षा समिति सदस्य मनोज कुमार यादवले रोहिणीको शैक्षिक विकासका लागि गाउँपालिका लागिपरेको बताए । उनले गाउँपालिकाले जस्तै विद्यालयहरुले पनि शिक्षकहरुलाई बेलाबेलामा सम्मान गर्नुपर्ने बताए ।
भविष्य उज्जवल आधारभूत विद्यालयका प्रधानाध्यापक धनेश्वर कँवरले सम्मानले जिम्मेवारी थपिएको बताए । उनले भने, ‘सम्पूर्ण पक्ष कर्तव्यप्रति विचलित नबनौं ।’

सम्मानित शिक्षकको तर्फबाट बोल्दै पिपरहवा माविका राधेश हरिजनले पढाउन भन्दा सिकाउनतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए । उनले कुनै काम कठिन भनियो भने पूरा गर्न ग्राहो हुने बताए ।

सम्मानित विद्यार्थीको तर्फबाट बोल्दै स्पांगल इङलिस बोर्डिङ स्कूल सागर कुर्मीले सम्मानित हुन पाउँदा खुसी भएको बताए । गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।