
मंगलवार , आषाढ ५, २०८०
भैरहवा, ६ असार । जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले भारतबाट १ सय रुपैयाँभन्दा बढीको सामान नेपालमा ल्याउँदा भन्सार लगाउने नियम अव्यवहारिक भन्दै तत्काल हटाउन माग गरेका छन् । उनले १ सय रुपैयाँभन्दा माथिको सामानमा भन्सार लगाएर आर्थिक संकटबाट गुज्रिएका नागरिकलाई थप समस्या दिन नहुने भन्दै यस्तो नियम तत्काल हटाउन माग गरेका हुन् ।
मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध रहेकोले सामान्य वस्तुमा पनि भन्सार लगाउँदा दुई देशका नागरिकबीच रहेको साँस्कृतिक र सामाजिक सम्बन्धमासमेत असर पर्ने बताए । भन्सारको यो नियमले नागरिकलाई प्रत्यक्ष असर पुगेको यादवले बताए । यस्तो अव्यवहारिक नीतिनियमले उपभोक्ताले सास्ती खेप्नुपरेको उल्लेख गर्दै पुनरावलोकन नभए जनमत पार्टी आन्दोलनमा उत्रिन बाध्य हुने उनको भनाइ छ । उनले भने, ‘दुई छिमेकी मुलकका नागरिक एक देशबाट अर्को देशमा जान्छन् । यसरी भन्सार लगाउँदा नागरिकलाई मर्कामा परेका छन् ।’
नेता यादवले २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका थिए ।
भैरहवा भन्सार कार्यालय रुपन्देहीले एकसय रुपैयाँ भन्दा बढी मूल्यको मालसामान लिएर भारतको स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले आफ्नो साथमा ल्याएको मालसामानहरुको अनिवार्य घोषणा गरी जाँचपास गराएर राजस्व बुझाउनुपर्ने सूचना जारी गरेको छ ।
भारतीय बजारबाट बिनाभन्सार सामान भित्र्याउँदा स्वदेशी बजार र राजस्वसमेत सुक्दै गएको भन्दै भन्सार कार्यालयले सीमा नाकामा कडाइ गरेको हो ।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले एकसय रुपैयाँ भन्दा बढी सामान भारतबाट नेपालमा ल्याउँदा भन्सार गर्नुपर्ने व्यवस्था अनुसार नै सीमा नाकामा कडाइ गरिएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij