२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

ओमसतिया गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, ४७ करोड बढी बजेट 

आइतवार , आषाढ १०, २०८०

भैरहवा, १० असार । 
रुपन्देहीको ओमसतिया गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘ओमसतियाको शान ः शिक्षा स्वास्थ्य सुधार हाम्रो अभियान’ भन्ने नारासहित आगामी आर्थिक वर्षमा पालिकाले सुन्दर, समुुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प रहेको छ । 

नीति तथा कार्यक्रम प्रस्तुुत गर्दै गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनुु) ले पालिकालाई उत्कृष्ट गन्तब्यको रुपमा स्थापित गर्ने, स्वच्छ सफा र सुन्दर गाउँपालिकाको पहिचान बनाउन योजनावद्ध शहरीकरण तथा बस्ती विकासलाई निति तथा कार्यक्रमले प्राथमिकतामा राखेको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले आर्जन गरेको सीप र दक्षतालाई उपयोग गरी ‘विदेश छोडौ, बिजनेश गरौं’ भन्ने नाराका साथ स्वरोजगार उन्मुख बनाई आयआर्जनको दायरा फराकिलो बनाउने पालिकाले नीति लिएको यादवले बताए । पालिकाले सामाजिक विकासअन्र्तगत शिक्षा, युवा तथा खेलकुुद, संस्कृति एवम लैंगिक समानता र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा परेको उनले बताए । 

‘हिंसामुक्त गाउँपालिका हाम्रो पहिचान’ अन्र्तगत लैंगिक परीक्षणको व्यस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ । स्वास्थ्यतर्फ पालिकाभित्रका सबै स्वास्थ्य संस्थालाई किशोरीमैत्री बनाइने नीति लिइएको यादवले बताए । 

आर्थिक विकासका सम्भावनाहरुको पहिचान र व्यवसायिक परिचालनका लागि गाउँपालिकाले विशेष पहल गर्ने र यसको लागि स्थानिय तहमा ब्यवसायीक वातावरणको विकास गर्न गाउँपालिकाले निजी क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारीको सहभागीता रहने गरी आर्थिक विकास सम्वाद मञ्च गठन गर्ने पालिकाको योजना रहेको छ ।

लगानीमैत्री निति तथा औद्योगिक पूर्वाधार सुुदृढीकरण गर्दै उद्योग तथा पर्यटन विकासको निति लिइने नीति तथा कार्यक्रममा उल्लेख छ । 

गाउँपालिकाले न्यायसम्पादनको कार्यलाई थप व्यवस्थित बनाउन डिजिटल जस्टिस सफ्टवेयर तयार गरी लागू गर्ने योजना रहेको छ । 

पूर्वाधार निर्माणका आयोजनाहरु सञ्चालन गर्दा लागत–लाभ विश्लेषणको आधारमा उच्च नतिजा एवं प्रतिफल दिने आयोजनाहरु पहिचान गरी आयोजना बैंक तयार गरिने पालिका अध्यक्ष यादवले बताए । 

ओमसतियाको बजेट ४७ करोड 

आइतबार भएको पालिकाको १३ औं गाउँसभाले ४७ करोड ६६ लाख ९६ हजार १ सय ७ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बजेट सार्वजनिक गर्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले आर्थिक बर्ष २०८०/०८१ मा सो बराबरको अनुमानित आय व्यय पेश गरेकी हुन् ।

चौधरीले पेश गरेको बजेटमा राजस्वबाट १४ करोड ८ लाख ७५ हजार १ सय ७ रुपैयाँ, आन्तरिक श्रोतबाट ३ करोड ५० लाख, जि.स.स. बाट प्राप्त अनुदान १ करोड ४० लाख, राजस्व बाँडफाडबाट प्राप्त हुने रकम १० करोड ४४ लाख ७५ हजार १ सय ७ रुपैयाँ, संघीय सरकारबाट अन्तर सरकारी बित्तिय हस्तान्तरण वापत २८ करोड ९० लाख, प्रदेश सरकारबाट अन्तर सरकारी बित्तिय हस्तान्तरण वापत २ करोड ६८ लाख २१ हजार तथा गत वर्षको नगद मौजदात २ करोड गरि ४७ करोड बढीको बजेट पेश गरिएको थियो ।

१३ औ गाउँसभामा पालिकाका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, पालिकाका कर्मचारीलगायतको सहभागीता रहेको थियो ।