
आइतवार , आषाढ १०, २०८०
भैरहवा, १० असार ।
रुपन्देहीको सियारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु. ६१ करोड ५० लाख ३१ हजार ८ सय ३० बजेट पेश गरेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष तारा थारुद्वारा आइतबार प्रस्तुत गरिएको बजेटमा आन्तरिक आयबाट रु ४ करोड, राजश्व बाँडफाँडतर्फ स्थानीय राजश्व बाँडफाँडबाट रु. ६ करोड ७५ लाख, प्रदेश राजश्व बाँडफाँडबाट रु. ४० लाख ५३ हजार ६ सय ३० र संघीय राजश्व बाँडफाँडबाट रु. ९ करोड ४७ लाख ८३ हजार २ सय, संघीय सरकार वित्तीय हस्तान्तरणबाट रु ३८ करोड ३ लाख र प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट रु. २ करोड ८३ लाख ९५ हजार आउने अनुमान गरिएको छ ।
आर्थिक विकासको क्षेत्रमा सशर्त अनुदानबाट रु. २ करोड १५ लाख ९० हजार र गाउँपालिकाका तथा वडातर्फका विभिन्न योजना तथा कार्यक्रमहरुमा रु. ३ करोड ४४ लाख ८० हजार गरी जम्मा रु ५ करोड ६० लाख १९ हजार बजेट विनियोजन गरिएको उपाध्यक्ष थारुले बताइन् ।
चालु आर्थिक २०७९/८० को संशोधित बजेट ७४ करोड १७ लाख ६ हजार रहेकोमा हालसम्म चालुतर्फ ७५.५२ प्रतिशत र पूँजीगततर्फ ६५.२५ प्रतिशत गरी समग्रमा ७१.१२ प्रतिशत बजेट खर्च भएको उनले बताइन् । गत आ.व.को यसै अवधीमा पुँजीगततर्फ ५३.५६ प्रतिशत तथा चालुतर्फ ६४.१३ प्र्रतिशत गरी समग्रमा ५९ प्रतिशत बजेट खर्च भएको उनले जानकारी दिइन् । चालु आ.ब.का विकास योजनाहरु धेरैजसो निर्माण सम्पन्न भई भुक्तानी भइसकेका उनको भनाइ छ । बाँकी रहेका योजना तथा कार्यक्रमहरु पनि सम्पन्न भई भुक्तानी प्रकियामा रहेको उनले बताइन् ।
समयमै कर तिर्नु नागरिकको कर्तव्य हो भने गुणस्तरीय विकास प्राप्त गर्नु अधिकार हो भन्ने मान्यताका साथ आ.व.२०८०/०८१ लाई कर संकलनको वर्षको रुपमा घोषणा गरी कर तिर्ने प्रक्रियालाई सरलीकरण गर्ने, अनलाइन माध्यमबाट कर तिर्ने प्रणालीको विकास गर्ने तथा विभिन्न घुम्ती टोलीमार्फत कर संकलन गर्ने व्यवस्था मिलाइने उपाध्यक्ष थारुको भनाइ छ ।
आर्थिक, सामाजिक रूपान्तरणका माध्यमबाट विद्यमान गरिबी, असमानता तथा बेरोजगारीको अन्त्य गर्दै कृषि, पर्यटन र दीगो पूर्वाधारयुक्त नगरी : समावेशी, मर्यादित, स्वच्छ र समृद्ध सियारी निर्माण गर्ने दीर्घकालिन सोच पुरा गर्ने उद्देश्यका साथ आ.व. २०८०/०८१ को वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको उनले बताइन् ।
कृषिलाई आर्थिक समृद्धिको मेरूदण्ड मान्दै ‘व्यवसायिक कृषि पेशा अबलम्वन गरौं, आत्मनिर्भर बनौं’ भन्ने उद्देश्यका साथ कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गराउन व्यवसायिक तथा साना कृषकहरूलाई दुध उत्पादन, माछा तथा मकै खेतीमा उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गर्न रु. ८५ लाख विनियोजन गरेको उपाध्यक्ष थारुले जानकारी गराइन् ।
सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, कार्यपालिका सदस्यहरु, वडा अध्यक्ष, वडा सदस्य, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
पूर्णपाठ
“कृषि, पर्यटन र दिगो पूर्वाधारयुक्त नगरी : समावेशी, मर्यादित, स्वच्छ र समृद्ध सियारी”
सियारी गाउँपालिका रूपन्देहीको
आर्थिक वर्ष २०८०/०८१ को बार्षिक बजेट तथा कार्यक्रम
गाउँसभाका अध्यक्षज्यू, सदस्यज्यूहरू, सभाका सचिव तथा राष्ट्रसेवक कर्मचारीहरु, शिक्षकहरु, पत्रकारज्युहरु, सञ्चारकर्मी, सुरक्षाकर्मीहरु तथा उपस्थित सम्पूर्ण महानुभावहरु;
१. नेपालको संविधान जारी भई राज्यको पुनर्संरचना पश्चात दोस्रो पटक भएको निर्वाचन पछिको तेस्रो पटक बसेको सियारी गाउँपालिकाको गरिमामय गाउँसभामा आर्थिक वर्ष २०८०/८१ को बार्षिक बजेट तथा कार्यक्रम, विनियोजन विधेयक २०८० र आर्थिक विधेयक २०८० यस गरिमामय सभामा प्रस्तुत गर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको छु ।
२. संघीय शासन प्रणाली र समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्रात्मक राज्य स्थापनाका लागि पटक-पटक भएका जनआन्दोलन र संघर्षहरुमा शहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात-अज्ञात शहिदहरुप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछु । उहाँहरुको परिवार तथा आफन्तजनहरुप्रति गहिरो समवेदना प्रकट गर्दछु ।
३. सविंधान प्रदत्त एकल तथा साझा अधिकारको कार्यान्वयन गर्दै अन्तर सरकार समन्वय र सहकार्य मार्फत आम नागरिकलाई खुसी र सुखी बनाउँदै समावेशी,मर्यादित,स्वच्छ र समृद्ध सियारी बनाउने दीर्घकालीन सोंचका साथ एकताबद्ध भएर अगाडी बढ्न हामी सबै निर्वाचित जनप्रतिनिधिहरु सधैं प्रतिबद्ध रहेको र रहिरहने विश्वास आम सियारी बासीलाई दिलाउन चाहन्छौ ।
४. बढ्दो शैक्षिक तथा यूवा बेरोजगारी, सामाजिक-आर्थिक उच्छृङ्गखलता, महिला तथा घरेलु हिंसा र पारिवारिक झै-झगडा, प्राकृतिक श्रोतको अवैध उत्खनन तथा चोरी निकासी जस्ता कारणहरुले गर्दा कानूनी शासनको पालनामा चुनौति देखिएका छन् । यी र यस्तै चुनौतिहरुलाई चिर्दै मर्यादित र समृद्ध सियारी निर्माणमा हामी जनप्रतिनिधीहरु सक्षम हुनेछौं र हुनैपर्दछ, किनकी यो हामीलाई जनताले सुम्पेको अभिभारा हो । अतः कृषि,पर्यटन र दीगो पूर्वाधार यूक्त नगरीः समावेशी,मर्यादित,स्वच्छ र समृद्ध सियारी भन्ने प्रथम आवधिक योजनाको दीर्घकालीन सोंच अनुसार अघि बढ्नु आजको आवश्यकता हो ।
५. स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भई ल्याएको पहिलो बजेटको कार्यान्वयन अन्तिम चरणसम्म आइपुग्दा विगत एक वर्षमा शासन,विकास र सेवा प्रवाहको क्षेत्रमा उल्लेख्य सुधारहरु भएका छन् । योजना तथा कार्यक्रमहरु समयमै सम्पन्न भएका छन् तथापी विश्वव्यापी आर्थिक मन्दि, इन्धनको मूल्यवृद्धी, न्युन आन्तरिक राजश्व परिचालनका कारण अर्थतन्त्रमा आएको सङ्कुचनले हामीलाई पनि अछुतो राखेन । संघीय सरकारबाट प्राप्त गर्ने राजश्व बाँडफाँडको रकम तथा अनुदानको रकममा समेत कटौती हुँदा वार्षिक योजनाले अगाडी सारेका कतिपय कार्यक्रमहरुमा स्रोत जुटाउन नसकी स्थगित गर्नु पर्यो, विनियोजन ऐनले नसमेटेका गौशाला व्यवस्थापन लगायतका आकस्मिक कार्यहरुमा श्रोत स्थानान्तरण गर्दा आन्तरिक वित्तीय चाप पर्न गयो । तथापी आन्तरिक राजश्व परिचालनमा गरिएको प्रयास र खर्च तथा कार्यक्रम कटौती गरी भुक्तानीमा समस्या पर्न दिइएको छैन ।
६. बजेट तर्जुमाको क्रममा नेपालको संविधान, विद्यमान ऐन र नियम, स्थानीय सरकार सञ्चालन ऐन २०७४, अन्तर सरकारी वित्त ब्यवस्थापन ऐन,२०७४, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन २०७४, गाउँपालिकाको प्रथम आवधिक योजना, संघीय पन्ध्रौ आवधिक योजना र प्रादेशिक प्रथम आवधिक योजना, दिगो विकासका लक्ष्यहरु, संघीय र प्रदेश सरकारबाट प्राप्त मार्ग निर्देशन, गाउँपालिकाका प्रमुख समस्या र सम्भावना, स्थानीय तहमा सहभागी राजनीतिक दलहरुका घोषणापत्रहरु, उपलब्ध स्रोत र साधनहरु, सियारी गाउँपालिकाको नीति तथा कार्यक्रमका साथै सभाका सदस्य ज्यूहरु, राजनैतिक दलहरु, विभिन्न संघ संस्था, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज, बुद्धिजीवि, पत्रकार र सियारी गाउँपालिकाका आदरणीय आमा बुबा, दिदीबहिनी, दाजुभाइहरुबाट प्राप्त रचनात्मक सुझाबहरुलाई समेत आधार मानेर बजेट निर्माण गरेकोछु । बार्षिक बजेट तथा कार्यक्रम सियारी गाउँपालिकाले अबलम्वन गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने महत्वपूर्ण औजारको रुपमा रहेको ब्यहोरा सम्मानित सभालाई जानकारी गराउन चाहन्छु । संघीय र प्रदेश सरकारबाट प्राप्त मार्गदर्शन, स्थानीय आर्थिक अवस्था र आन्तरिक आयको अवस्था समेतको आधारमा रही बजेट निर्माण गरेकोछु ।
७. सभाध्यक्ष महोदय, चालु आ.व ०७९/८० को संशोधित बजेट ७४ करोड १७ लाख ६ हजार रहेकोमा हालसम्म चालु तर्फ ७५.५२% र पूजीगत तर्फ ६५.२५% गरी समग्रमा ७१.१२% बजेट खर्च भएको छ । गत आ.ब.को यसै अवधीमा पुजिगत तर्फ ५३.५६ % तथा चालु तर्फ ६४.१३% गरी समग्रमा ५९% वजेट खर्च भएको थियो । चालु आ.ब.का विकास योजनाहरु धेरैजसो निर्माण सम्पन्न भई भुक्तानी भइसकेका छन् । वाँकी रहेका योजना तथा कार्यक्रमहरु पनि सम्पन्न भई भुक्तानी प्रकियामा छन ।
८. सभाध्यक्ष महोदय, चालु आ.ब.मा खर्च तर्फ सन्तोषजनक प्रगति देखिए तापनि आम्दानी तर्फ भने सिलिङ्ग अनुसार अनुदान तथा राजश्व बाँडफाँडको रकम प्राप्त नहुँदा हालसम्म जम्मा ८३.२% आय प्राप्त भएको छ । जसमध्ये संघीय अनुदान ९१.६%, प्रदेश अनुदान ८०.१९%, राजश्व बाँडफाँड ६२.७५% तथा आन्तरिक आय ८१.२% प्राप्त भएको छ । राजश्व बाँडफाँडमा सिलिङ्ग भन्दा धेरै कम रकम प्राप्त हुँदा तलव भत्ता लगायत चालु खर्चको भुक्तानीमा दवाव परेको देखिन्छ भने समानीकरण अनुदानमा भएको कटौतीले सम्पन्न योजनाको भुक्तानीमा समेत असर परी आगामी आ.ब.को लागि दायित्व सार्नु पर्ने अवस्था सृजना भएको छ ।
९. जनचाहाना छिटो र एकैपटक धेरै विकास भैदियोस भन्ने हुन्छ तर साधन-स्रोतको सिमितताले असिमित आवश्यकता एकैपटक पुरा गर्न सम्भव हुदैन तसर्थ योजनाहरूको प्राथमिकीकरण गर्दै सबै वर्ग क्षेत्र समेट्ने गरी सन्तुलित विकासको अवधारणा अनुरुप वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गरेको छु । आ.ब.२०८०/०८१ का लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणमा उल्लेख्य कटौती भएको र चालु आ.ब.को सञ्चित कोष मौज्दात समेत नरहने अवस्था देखिएकोले बजेटको आकारमा गत आ.ब.को संशोधित अनुमानको तुलनामा १७% को हाराहारीमा सङ्कुचन आएको छ ।
अव म आ.ब. २०८०/८१ को राजश्व तथा श्रोत परिचालन सम्वन्धमा प्रस्ताव गरिएका व्यवस्थाहरुको विषयमा सम्मानित सभालाई जानकारी गराउन चाहन्छु ।
१०. समयमै कर तिर्नु नागरिकको कर्तव्य हो भने गुणस्तरीय विकास प्राप्त गर्नु अधिकार हो भन्ने मान्यताका साथ आ.ब.२०८०/०८१ लाई कर सङ्कलनको वर्षको रुपमा घोषणा गरी कर तिर्ने प्रकृयालाई सरलीकरण गर्ने, अनलाइन माध्यमबाट कर तिर्ने प्रणालीको विकास गर्ने तथा विभिन्न घुम्ती टोली मार्फत कर सङकलन गर्ने व्यवस्था मिलाएको छु ।
११. नेपालको संविधान, २०७२ को अनुसूची-८ बमोजिमको स्थानीय तहलाई प्राप्त एकल अधिकार तथा स्थानीय सरकार संचालन ऐन, २०७४ ले दिएको वित्तीय अधिकार क्षेत्र भित्र स्थानीय सरकारले लगाउन पाउने कर, सेवा शुल्क, दस्तुर तथा अन्य विविध आय तर्फ छुट हुन गएका शिर्षकहरु थप गरी फराकिलो कराधार निर्माणको व्यवस्था मिलाएको छु ।
१२. नदीजन्य पदार्थ चोरी, निकासी तथा अवैध उत्खनन रोकथाम , कर चुहावट नियन्त्रण गर्दै आन्तरिक आय बृद्धि गरि आत्मनिर्भर उन्मुख हुदैं जाने तथा राजस्व परामर्श समितिले दिएका कर सुधारका सुझावहरुलाई तथा सम्मानित सभाले पारित गरिसकेको नीति तथा कार्यक्रमले अवलम्वल गरेका राजश्व सम्वन्धी नीतिहरुको कार्यान्वयन गर्दै लैजाने ब्यवस्था मिलाएको छु ।
१३. महिला अपाङ्गता भएका व्यक्ति लगायतका कृषक, ज्येष्ठ नागरिक, बालबालिका तथा विरामीहरुलाई सम्मान गर्दै तोकिएको विषयमा सिफारिस दस्तुर छुट दिने व्यवस्था मिलाएको छु । साथै उत्कृष्ट करदातालाई सम्मान गर्ने व्यवस्था मिलाएको छु ।
१४. सभाध्यक्ष महोदय, आर्थिक, सामाजिक रूपान्तरणका माध्यमबाट विद्यमान गरिवी, असमानता तथा बेरोजगारीको अन्त्य गर्दै कृषि,पर्यटन र दीगो पूर्वाधारयुक्त नगरीः समावेशी, मर्यादित, स्वच्छ र समृद्ध सियारी निर्माण गर्ने दीर्घकालिन सोच पुरा गर्ने उद्देश्यका साथ आ.ब. २०८०/०८१ को बार्षिक बजेट तथा कार्यक्रम यस गरिमामय सभामा प्रस्तुत गर्न चाहन्छु ।
आ.ब. २०८०/८१ को लागि आम्दानीका स्रोतहरुको संक्षिप्त विवरण निम्ननुसार रहेको छ ।
• आन्तरिक आय : रु ४ करोड
• राजश्व बाँडफाँड
क. स्थानीय राजश्व बाँडफाँडः रु. ६ करोड ७५ लाख
ख. प्रदेश राजश्व बाँडफाँडः रु. ४० लाख ५३ हजार ६३०
ग. संघीय राजश्व बाँडफाँडः रु. ९ करोड ४७ लाख ८३ हजार २००
जम्मा १६ करोड ६३ लाख ३८ हजार ८३०
• संघीय सरकार वित्तीय हस्तान्तरण: रु ३८ करोड ३ लाख
• प्रदेश सरकार वित्तीय हस्तान्तरण: रु. २ करोड ८३ लाख ९५ हजार
जम्मा : रु. ६१ करोड ५० लाख ३१ हजार ८३०
• माथि उल्लेखित रकम संचित कोष मार्फत खर्च हुने रकम हो । यसमा सामाजिक सुरक्षा वापतको अनुमानित रकम रु. १९ करोड जोड्दा जम्मा बजेटको आकार रु. ८० करोड ५० लाख ३१ हजार ८३० हुन जान्छ ।
सभाध्यक्ष महोदय, अव म सियारी गाउँपालिकाको आ.व २०८०/०८१ को लागि विषय क्षेत्रगत विनियोजन तथा कार्यक्रमको संक्षिप्त विवरण पेश गर्न चाहन्छु ।
१५. आर्थिक विकासको क्षेत्रमा सशर्त अनुदानबाट रु. २ करोड १५ लाख ९० हजार र गाउँपालिकाका तथा वडा तर्फका विभिन्न योजना तथा कार्यक्रमहरुमा रु. ३ करोड ४४ लाख ८० हजार गरी जम्मा रु ५ करोड ६० लाख १९ हजार बजेट विनियोजन गरेको छु । त्यसबाहेक संघीय सरकार र प्रदेश सरकारका थप योजना तथा कार्यक्रमहरु समेत कार्यान्वयन हुने हुँदा अझ बढी जनता लाभान्वित हुने विश्वास लिएको छु ।
१६. कृषिलाई आर्थिक समृद्धिको मेरूदण्ड मान्दै “व्यवसायिक कृषि पेशा अबलम्वन गरौं, आत्मनिर्भर बनौं” भन्ने उद्देश्यका साथ कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गराउन व्यवसायिक तथा साना कृषकहरूलाई दुध उत्पादन, माछा तथा मकै खेतिमा उत्पादनमा आधारित अनुदान कार्यक्रम संचालन गर्न रु. ८५ लाख विनियोजन गरेको छु । आ.ब. २०८०/०८१ मा गाउँपालिकालाई खाद्यान्न, दुध, माछामासु, बेसार, खुर्सानी र लसुनमा आत्मनिर्भर हुने गरी कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
१७. कृषि पेशालाई सम्मानित र व्यवसायिक बनाई कृषिमा आश्रित जनताको जीवनस्तर सुधार गर्न तथा युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न कृषकहरुको तथ्याङ्क संकलन गरी निश्चित मापदण्डको आधारमा कृषकको वर्गीकरण गरी कृषक परिचय पत्र वितरण गर्ने कार्यलाई पूर्णता दिन बजेटको व्यवस्था गरेको छु । साथै किसानहरुले प्राप्त गर्ने रासायनिक मल, बिउबिजन, अनुदान लगायतका सम्पूर्ण सेवा सुविधाहरु किसान कार्ड मार्फत प्राप्त गर्ने व्यवस्था मिलाएको छु ।
१८. आधुनिक कृषि व्यवसायबाट मात्र उत्पादन बढ्ने, रोजगारीको सृजना हुने हुँदा उत्पादनलाई बढावा दिदैं बजारीकरण गर्ने जसका लागि उपलब्ध हाटबजारहरुको संरचनात्मक सुधार गर्दै सहज रुपमा विनिमय गर्नसक्ने व्यवस्थित हाटबजारमा रुपान्तरण गरिनेछ । आ.ब.२०८०/०८१ मा अमुवा तथा वनघुसरी हाटबजार स्तरोन्नतीका लागि १५/१५ लाखका दरले रु. ३० लाख बजेट विनियोजन गरेको छु ।
१९. गाई, भैसी र बाख्रामा नश्न सुधार कार्यक्रमलाई प्रभावकारी बनाउन चालु आ.ब.मा शुरु गरिएको निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रमलाई आगामी आ.ब.मा पनि निरन्तरता दिएको छु । यस कार्यक्रमबाट चालु आ.ब.को जेठ मसान्तसम्म ४ हजार १०० पशुहरुमा निशुल्क कृत्रिम गर्भाधान कार्य सम्पन्न भएकोमा आगामी आ.ब.मा यो संख्या ४ हजार ५०० पुर्याउने गरी कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
२०. वडा नं. २ च्याङ्गठामा सञ्चालनमा रहेको पशु हाटबजारलाई व्यवस्थित रुपमा सञ्चालन गरी प्रदेशस्तरीय गाईभैंसीको हाटबजारका रुपमा विकास गर्नुका साथै पशु मेला प्रदर्शनी कार्यक्रमका लागि आवस्यक बजेट व्यवस्था गरेको छु ।
२१. गत आ.ब.मा शुरुवात गरिएको फलफुल खेति कार्यक्रमलाई निरन्तरता दिएको छु, जसका लागि रु.१० लाख बजेट विनियोजन गरेको छु ।
२२. नियमित रुपमा संचालन हुने पशु-पंक्षी खोप कार्यक्रम संचालन, आन्तरिक तथा वाह्य परजिवि विरुद्धको औषधि, लगायत पशुपंक्षि विकास, मत्स्य विकास, माहुरी पालन, तेलहन तथा मसला वालि विकास, कृषि तथा पशु यान्त्रीकरण जस्ता विभिन्न कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
२३. कृषि उत्पादन वृद्धीका लागि कृषकहरुलाई उन्नत बीउ उपयोगमा प्रोत्साहन गरिनेछ । धान, गहुँ लगायतका खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदान प्रदान गर्न रु.३० लाख विनियोजन गरेको छु । साथै आलु प्रवर्द्धन कार्यक्रमका लागि रु.१० लाख विनियोजन गरेको छु ।
२४. भै.लु.भू.ज.अन्तर्गत सञ्चालनमा रहेका पम्मबाट सिचाई सुबिधा लिने कृषकहरुलाई विद्युत महशुलमा ६०% अनुदान उपलब्ध गराउनका लागि रु. १५ लाख विनियोजन गरेको छु । साथै भै.लु.भु.ज.नहरहरुको नियमित मर्मत संभारको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
२५. वडा नं. २,३ र ४ को अधिकांश कृषियोग्य भूमी सिञ्चित गर्ने उद्देश्यका साथ तिनाउ तथा दानव नदीमा लिफ्ट सिँचाई आयोजना सञ्चालन गर्नका लागि बजेट व्यवस्थापन भएको छ जसमध्ये सिँचाई डिभिजन कार्यालय मार्फत कार्यान्वयन हुने गरी तिनाउ लिफ्ट सिँचाई आयोजना रु.३ करोड तथा दानव नदी लिफ्ट सिँचाई आयोजना रु.२ करोड र सोही दानव लिफ्ट सिँचाई आयोजनामा विशेष अनुदान तर्फको रु.१ करोड गरी जम्मा रु.६ करोड व्यवस्थापन भएको छ । उक्त आयोजनाहरु सम्पन्न भए पश्चात्त कृषकहरुले बाह्रै महिना सिँचाई सुविधा प्राप्त गरी कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धी हुने अपेक्षा गरेको छु । साथै भै.लु.भु.ज.बाट सिञ्चित हुने क्षेत्र बाहेकका कृषकहरुलाई सिँचाई सुविधा उपलब्ध गराउन साना सिँचाई कार्यक्रम सञ्चालनको लागि रु.२० लाख बजेट विनियोजन गरेको छु ।
२६. स्थानीय लोक सँस्कृतिको जगेर्ना गर्दै आन्तरिक पर्यटनलाई आकर्षण गर्न वजेट व्यवस्था गरेको छु ।
२७. कृषि तथा मत्स्य पर्यटनलाई बढावा दिनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरेको छु ।
२८. डि.पि.आर.सम्पन्न भई कार्यान्वयनका लागि तयार सियारी गौरवको आयोजना सियारी पर्यटन करिडोरको निर्माण कार्य यसै आ.ब.मा शुरु गरिनेछ । जसका लागि प्रदेश सरकारको समपुरक अनुदान तथा आन्तरिक स्रोतको रकम समेत गरी रु.१ करोड ५० लाख विनियोजन गरेको छु ।
२९. भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित वसोवासीहरुलाई लालपूर्जा वितरण गर्ने कार्य प्राथमिकताका साथ अगाडी बढाइनेछ जसका लागि आवश्यक जनशक्ति व्यवस्थापनका लागि रकम विनियोजन गरेको छु ।
३०. भूमिहिन तथा घरबारविहिन नागरिकहरुको लागि आवासको व्यवस्था गरिने छ । जसका लागि तराई-मधेस समृद्धि कार्यक्रम तथा गा. पा. को साझेदारीमा ७ परिवारलाई आवासको व्यवस्था गर्न रु. ३५ लाख व्यवस्था गरेको छु ।
३१. स्थानीय स्रोत, साधन ,सामाग्री तथा कच्चा पदार्थको प्रयोग गरी महिलाहरुलाई साना उद्यम मार्फत आय-आर्जनमा संलग्न गराई महिलाको आयस्तर वृद्धि गर्नका लागि लघु उद्यम विकास कार्यक्रम संचालन गरिनेछ । जसका लागि रु. १३ लाख ४० हजार वजेट व्यवस्था गरेको छु ।
३२. विभिन्न आयमूलक तथा सीपमूलक तालिमहरु सञ्चालन गरी उद्यमशिलता प्रवर्द्धन गर्न आवश्यक व्यवस्था मिलाएको छु ।
३३. यूवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना अन्तर्गत रोजगारी सृजना, सेवाकेन्द्र सञ्चालन, रोजगार संवाद मञ्चको सञ्चालन, श्रमको सम्मानः राष्ट्रको अभियान लगायतका कार्यक्रमहरु सञ्चालन गर्न रु.३५ लाख विनियोजन गरेको छु ।
३४. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारी श्रृजना लगायतका कार्यक्रमका लागि रु.२३ लाख विनियोजन गरेको छु ।
३५. शिक्षा सबैको सरोकार र अधिकारको विषय हो । सबैले निःशुल्क र गुणस्तरिय शिक्षा पाउनु पर्छ । यसै मान्यतालाई आत्मसात गर्दै आगामी आ.व २०८०/८१ को लागि शिक्षा युवा तथा खेलकूदमा शशर्त अनुदानबाट रु. १८ करोड १७ लाख, लुम्बिनी प्रदेश सरकारको सशर्त अनुदानबाट रु. १५ लाख, गाउँपालिकाबाट रु. २ करोड ४५ लाख र वडा तहबाट रु. ८४ लाख गरी कूल रु. २१ करोड ६१ लाख विनियोजन गरेको छु । यो रकम कूल वजेटको ३५.१३ प्रतिशत हुन आउने व्यहोरा सम्मानित सभालाई जानकारी गराउन चाहन्छु । यसका अतिरिक्त संघीय सरकार र प्रदेश सरकारबाट शैक्षिक पूर्वाधारमा थप बजेट प्राप्त भई कार्यान्वयन हुने व्यहोरा समेत जानकारी गराउँदछु ।
३६. शिक्षित, सभ्य, स्वस्थ र सक्षम, सामाजिक न्यायसहितको सम्वृद्ध सियारी गाउँपालिका निर्माण गर्ने शिक्षाको दिर्घकालीन सोच रहेको सन्दर्भमा शिक्षाको विकासमा सूचना प्रविधिमा जोड दिने गरी सूचना प्रविधिको माध्यमवाट पठन पाठनको लागि शिक्षकहरुको विषयगत र प्राविधिक तालिमको लागि रकमको व्यवस्था मिलाएको छु ।
३७. दरवन्दीको अभावलाई कम गर्न माध्यमिक विद्यालय कक्षा ९ र १० का विज्ञान, अंग्रेजी र गणित विषयमा शिक्षण सहयोग अनुदानमा नेपाल सरकारको सशर्त तर्फको रु. ३९ लाख ७६ हजार र आधारभूत तह कक्षा ६ देखि ८ सम्म विज्ञान, अंग्रेजी र गणित विषयमा शिक्षण सहयोग अनुदान रु. ३१ लाख ६० हजार गाउँपालिकाको आन्तरिक स्रोतवाट रु. १ करोड ५९ लाख ६४ हजार विनियोजन गरेको छु । जसबाट विद्यार्थी संख्या बढी र दरबन्दी न्यून भएका विद्यालयहरुमा गुणस्तरीय शिक्षकको आपूर्ती भई लक्षित शैक्षिक उपलब्धी हासिल हुने विश्वास लिएको छु ।
३८. असल अभ्यासहरुको अनुभव आदान प्रदान, प्र.अ.हरुको अवलोकन भ्रमण, कार्यसम्पादनको आधारमा प्रोत्साहन तथा प्रअहरुवाट नतिजा सुधारमा गरेको प्रतिवध्दताजस्ता उत्प्रेणात्मक कार्यक्रमका लागि वजेट विनियोजन गरेको छु ।
३९. स्थानीय पाठ्यक्रम हाम्रो सियारी आधारभूत तह (कक्षा१-८सम्म) पठनपाठन सञ्चालन गर्नका लागि पाठ्यपुस्तक छपाइ गर्न आवश्यक वजेट व्यवस्था मिलाएको छु ।
४०. “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मान्यताका साथ खेलकुद मार्फत सियारीको पहिचान वढाउन खेलकुद विकासतर्फ अध्यक्ष कप रनिङ्गशिल्ड फुटवल प्रतियोगिता लगायत विभिन्न क्रियाकलापहरु सञ्चालन गर्न जम्मा रु. ५२ लाख ५० हजार विनियोजन गरेको छु ।
४१. विभिन्न क्लव तथा संघ संस्थाहरुलाई खेलकुद सामाग्रीहरु वितरण गर्न रकमको व्यवस्था गरेको छु ।
४२. खेलकुद विकासका लागि प्रशिक्षकको व्यवस्था, विभिन्न प्रतियोगिताहरुमा खेलाडीहरुलाई सहभागी गराउनका लागि आवश्यक रकम व्यवस्था गरेको छु । साथै सियारी गाउँपालिका भित्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा छनोट हुने खेलाडिलाई पुरस्कार तथा सम्मानका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
४३. युवा प्रतिभा पहिचानको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
४४. निशुल्क र गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा प्राप्त गर्नु नागरिकको नैसर्गिक अधिकार रहेको कुरालाई मध्यनजर गर्दै आगामी आ.व.का लागि जनस्वास्थ्य तथा पोषणका क्षेत्रमा संघीय सशर्त अनुदान रु. ३ करोड ३९ लाख र गाउँपालिका र वडाबाट गरी रु. २ करोड १९ लाख ७९ हजार गरी जम्मा रु. ५ करोड ५८ लाख ७९ हजार बिनियोजन गरेको छु ।
४५. सियारी गाउँपालिका वडा नं.४ छपीयामा निर्माणाधिन १५ शैयाको आधारभूत अस्पताललाई तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक स्रोत व्यवस्थापन गर्न संघीय सरकारलाई अनुरोध गर्दछु ।
४६. परिवार कल्याण कार्यक्रम अन्तर्गत मातृ तथा नवशिशु कार्यक्रम, परिवार योजना सेवा, प्रजनन रुग्णता, किशोरकिशोरी स्वास्थ्य सेवा, नियमित तथा दीगो खोप सुनिश्चितता, पोषण लगायतका कार्यक्रमहरु सञ्चालन गर्न जम्मा रु. ७६ लाख ५० हजार विनियोजन गरेको छु । साथै उपाध्यक्ष सहितको सुत्केरी पोषण तथा नव शिशु स्वागत कार्यक्रमलाई रु.१५ लाख विनियोजन गरेको छु ।
४७. क्षयरोग, कुष्ठरोग, मलेरीया जस्ता रोग नियन्त्रण तथा उपचारमा आवश्यक बजेट व्यवस्था गरेको छु ।
४८. राष्ट्रिय स्वास्थ्य तालिम अन्तर्गत स्वास्थ्य कर्मीहरुलाई इम्प्लान्ट कार्यक्रम तथा मानसिक रोग सम्बन्धी तालिम प्रदान गर्न बजेट व्यवस्था गरेको छु ।
४९. महिला स्वास्थ्य स्वयम् सेविका र स्वास्थ्य कर्मीहरुलाई उच्च मनोवलका साथ सेवाप्रवाहमा लगाउन आमा स्वास्थ्य सुरक्षा र बाल स्वास्थ्य सुधार कार्यक्रमका लागि विशेष प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था मिलाएको छु ।
५०. संघ तथा प्रदेश सरकारको समन्वयमा पाठेघर खस्ने र क्यान्सर स्क्रिनिङ्ग शिविर सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
५१. ७० बर्षमाथिका ज्येष्ठ नागरिक, अति अशक्त “क” र “ख” वर्गको परिचय पत्र भएका अशक्त लगाएतलाई घरदैलो उपचार कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरेको छु ।
५२. सियारी गाउँपालिका भित्रका नागरिकहरुलाई ब्लड आवश्यक परेमा सरल र सहज तरिकाले निःशुल्करुपमा ब्लड-बैंकबाट उपलब्ध गराउने व्यवस्थालाई निरन्तरता दिएको छु ।
५३. उपचारात्मक सेवा कार्यक्रम अन्तर्गत आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका लागि औषधी व्यवस्थापन गर्न तथा स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड कार्यक्रम सञ्चालन गर्न रु. ३८ लाख विनियोजन गरेको छु ।
५४. नागरिक आरोग्य केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गरि आयुर्वेद पद्धती र योग अभ्यासको माध्यमबाट शारिरिक तथा मानसिक स्वास्थ्य सुधारका लागि कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक वजेट व्यवस्था गरेको छु ।
५५. फिजियोथेरापी सेवा सञ्चालन गर्न रु.७ लाख ५० हजार विनियोजन गरेको छु
५६. खानेपानी तथा सरसफाईतर्फ गाउँपालिका तथा वडातर्फबाट गरी जम्मा रु. ५१ लाख ५० हजार विनियोजन गरेको छु ।
५७. सबैका लागि स्वच्छ खानेपानी सुबिधा पुर्याउनका लागि ओभरहेड ट्याङ्ककी भएका ठाउँमा तीव्रताका साथ पाइपलाइन विस्तार तथा आवश्यक सामग्री खरिद गर्ने कार्यका लागि वजेट विनियोजन गरेको छु । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट समेत थप पाइपलाइन विस्तार गरिने छ ।
५८. टोल विकास संस्था परिचालन गर्न रु. ७ लाख वजेट विनियोजन गरेको छु ।
५९. सरसफाई सम्बन्धी विभिन्न कार्यक्रम तथा अभियानका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
६०. आर्थिक, सामाजिक र शैक्षिकरुपमा पछाडी परेका महिला, दलित, आदिवासी जनजाती, मुस्लिम, पिछडावर्ग,अपांङ्गता भएका व्यक्ति,ज्येष्ठ नागरिक लगायतका वर्ग तथा समुदायको उत्थानका लागि गाउँपालिका तथा वडा तर्फबाट गरी जम्मा रु. ८६ लाख बजेट विनियोजन गरेको छु ।
६१. महिलाहरुको सशक्तीकरण, क्षमता विकास, आयमुलक तथा जिवनोपयोगी सीप सिकाइ मार्फत स्वरोजगार बनाउनका लागि विभिन्न क्रियाकलाप सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
६२. विभिन्न जातीय,भाषिक, धार्मिक तथा सांस्कृतिक विविधताको सम्बोधन र जगेर्ना गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
६३. अपाङ्गता भएका व्यक्तिहरुको सम्मान, सहयोग, सहायता सामाग्री वितरण, आयमुलक तालिम लगायतका कार्यका लागि रु. १८ लाख ५० हजार विनियोजन गरेको छु ।
६४. ज्येष्ठ नागरिकहरुको सामाजिक सम्मान प्रवर्द्धन गराउनका लागि ज्येष्ठ नागरिक सम्मान, घरदैलो स्वास्थ्य उपचार सेवा लगायतका कार्यक्रमहरु सञ्चालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
६५. स्थानीय महिला उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरणका लागि प्रवर्द्धनात्मक कार्यहरु सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
६६. दलित तथा पिछडिएको वर्गको विकास र उत्थानका लागि विभिन्न आयमूलक तालिम, स्वास्थ्य बीमा तथा अवलोकन भ्रमण लगायतका कार्यका लागि रु.१५ लाख विनियोजन गरेको छु ।
६७. शैक्षिक यूवा बेरोजगारहरुलाई विभिन्न सरकारी सेवामा प्रवेश गर्न अभिप्रेरित गराउने उद्देश्यका साथ विभिन्न सरकारी सेवाका तयारी कक्षाहरु सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
६८. गाउँपालिकालाई ३ वर्षभित्र बालमैत्री घोषणा गर्ने नीति अनुरुप बालमैत्री स्थानीय शासन सम्बन्धी विभिन्न क्रियाकलापहरु सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
६९. भौतिक पुर्वाधार विकास तर्फ संघीय तथा प्रदेश अनुदान र आन्तरिक स्रोत गरी जम्मा रु.११ करोड ७७ लाख विनियोजन गरेको छु ।
७०. विकासका पूर्वाधारमा सडक पहिलो शर्त हुनाले गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिइनेछ । आवश्यकता अनुसार साना तथा गल्ली सडकहरु पि.सि.सि.गर्ने, मापदण्ड नपुगेका सडकहरु ग्राभेल गर्ने र मापदण्ड पुगेका सडकहरु क्रमशः कालोपत्रे गर्दै जाने तथा आवश्यकतानुसार कृषि सडक निर्माणका लागि वजेट व्यवस्था गरेको छु ।
७१. मर्मत सम्भार कोषको व्यवस्था गरी मौसमी तथा अन्य गतिविधीबाट क्षयीकरण हुने पूर्वाधार तथा ग्रामीण सडकहरुको तत्काल मर्मत सम्भारको व्यवस्था गरिनेछ । जसका लागि पूर्वाधार तर्फका हरेक योजनाको लागत अनुमानमै २% रकम मर्मत संभार कोषको लागि छुट्याउने व्यवस्थालाई निरन्तरता दिएको छु ।
७२. संघीय सरकार र प्रदेश सरकारसँगको सहकार्यमा सञ्चालन हुने समपुरक योजनाको लागि साझेदारी गर्न रु. १ करोड ७५ लाख विनियोजन गरेको छु ।
७३. विद्युत पोल तथा ट्रान्सफर्मर थप तथा स्थानान्तरणका लागि विद्युत प्राधिकरणसँग नियम अनुसार साझेदारी गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
७४. अर्घाखाँची सिमेन्ट लि. सँगको साझेदारी तथा सहकार्यमा बेलवास बेथरी सडक सियारी खण्डको सुन्दरीकरण कार्य पुरा गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
७५. विभिन्न प्राकृतिक तथा अन्य प्रकोपजन्य परिस्थितिमा तत्काल राहत,खोज, उद्धार र पुन: स्थापना कार्य संचालनका लागि विपद व्यवस्थापन कोषमा रु. २५ लाख विनियोजन गरेको छु ।
७६. गाउँपालिका भित्र रहेका सामुदायिक वनहरुको संरक्षण तथा प्रवर्द्धन गरिनेछ । वाउन्न कोटी वन संरक्षण गर्न रु.१० लाख विनियोजन गरेको छु ।
७७. गाउँपालिका क्षेत्र भित्र रहेका विभिन्न सार्वजनिक खाली जमिनहरु, नदी उकास, सडक किनारा लगायतका स्थानमा अभियानका रुपमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ । जसका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
७८. गणसारी,भगदरी र ओर्लहवामा रहेका पोखरीको संरक्षण गर्नका लागि रु.१० लाख विनियोजन गरेको छु ।
७९. गाउँपालिका परिसरलाई हरियाली युक्त तथा वातावरण मैत्रि वनाउन गाउँपालिका अगाडिको खाली क्षेत्रमा पार्क निर्माण गर्नका लागि रु. २० लाख विनियोजन गरेको छु ।
८०. संस्थागत विकास तथा सुशासन तर्फ विभिन्न क्रियाकलाप सञ्चालन गर्न रु. ३ करोड २० लाख विनियोजन गरेको छु ।
८१. सम्पूर्ण वडा कार्यालय भवनहरुलाई आधुनिक प्रविधियुक्त, सेवाग्राहीमैत्री तथा अपांग तथा बालमैत्री लगायतका सबै सुचकहरु पूरा हुनेगरी क्रमशः सुधार तथा नव निर्माण गरीनेछ । आ.ब.२०८०/०८१ मा वडा नं.४ को वडा कार्यालय भवन निर्माण सम्पन्न गर्नका लागि रु.१ करोड २० लाख विनियोजन गरेको छु ।
८२. गाउँपालिका, वडा कार्यालयहरु, विषयगत शाखाहरु, स्वास्थ्य संस्थाहरुमा कार्यरत सबै कर्मचारीहरुलाई आचरण र अनुशासन पूर्णरुपमा पालना गर्दै सेवाग्राहीमा मुस्कान आउने वातावरण सृजना गर्ने गरी कार्य गर्न राष्ट्रसेवक कर्मचारीहरुलाई अभिप्रेरित गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
८३. सबै कर्मचारीहरुको कार्य विवरण,काम,कर्तब्य र अधिकार तथा कार्य सम्पादन सम्झौता, जिम्मेवारीमा हेरफेर गर्ने लगायतका विषयमा कार्यविधि बनाई कार्यान्वयन गरिने छ । साविकको स्थानीय निकायमा स्थायी नियुक्ति पाई हाल यस गाउँपालिकामा समायोजन भएका कर्मचारीहरुको वृत्ति विकासको लागि आवश्यक कानून बनाई लागु गरिनेछ ।
८४. नियमित र प्रभावकारी बजार अनुगमनको माध्यमबाट गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यहरु व्यवस्थित गरिनेछ । जसका लागि आवस्यक वजेटको व्यवस्था गरेको छु ।
८५. गाउँपालिका क्षेत्रमा आवश्यक शान्ति तथा सुव्यवस्था कायम गरी गाउँपालिका एवं गाउँक्षेत्र भित्रको सार्वजनिक सम्पत्तिको सुरक्षा एवं संरक्षण गर्न, अनाधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्न नगर प्रहरीको प्रभावकारी परिचालन गरिनेछ । जसका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
८६. कर्मचारीलाई उच्च मनोवलका साथ कार्यसम्पादनमा लाग्न अभिप्रेरित गर्न पुरस्कार र सम्मानको ब्यवस्था गरेको छु । कार्यबोझ तथा कार्यसम्पादन सूचकका आधारमा कार्यविधि अनुरुप कर्मचारीलाई प्रोत्साहन गर्न रकम विनियोजन गरेको छु । गाउँपालिकाको हित र विकासको लागि अहोरात्र खटिने कर्मचारीहकरुको वृत्ति र नविन सिकाइ अनुकरणका लागि आन्तरिक पर्यटन काजलाई निरन्तरता दिएको छु ।
८७. गाउँपालिकाको समग्र हित र विकास व्यवस्थापनका लागि समय समयमा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका ज्येष्ठ नागरिक, सामाजिक, राजनीतिक व्यक्तित्व, समाजसेवी उद्योगी, शिक्षाप्रेमी लगायत महत्वपूर्ण व्यक्तित्वहरुलाई सम्मान गरिने छ । जसका लागि आवस्यक वजेट विनियोजन गरेको छु ।
८८. जनताको सर्वोपरी हितलाई ध्यानमा राखी कानूनले अधिकार प्रदान गरेका न्यायिक कार्यलाई निष्पक्ष, व्यवस्थित विश्वासयोग्य, पारदर्शी बनाउदै लगिने छ । मेलमिलापको माध्यमबाट समाजमा सामाजिक सहिष्णुता बढाउने विषयलाई जोड दिइनेछ । सबै वडामा मेलमिलाप केन्द्रलाई क्रियाशील बनाइनेछ जसका लागि न्यायिक समिति तर्फ रु. १२ लाख विनियोजन गरेको छु ।
८९. सार्वजनिक परीक्षण, सामाजिक परीक्षण र सार्वजनिक सुनुवाई, नागरिक सन्तुष्टी सर्वेक्षण जस्ता क्रियाकलापको माध्यमबाट पारदर्शिता अभिवृद्धि गर्नका लागि आवस्यक वजेटको व्यवस्था गरेको छु ।
९०. इन्ट्रानेटको माध्यमबाट एकीकृत सूचना प्रणालीको विकास गरी तथ्यांक व्यवस्थापन गर्दै गाउँपालिका तथा अन्तर्गतका निकायहरुबाट हुने सेवाप्रवाहमा एकरुपता ल्याई चुस्त र दुरुस्त बनाउन रु.२० लाख विनियोजन गरेको छु ।
९१. लामोसमय सम्म गाउँपालिका तथा अन्तर्गतका कार्यालयमा रही सेवा गरेका कर्मचारीहरुको हित र कल्याणका लागि कर्मचारी कल्याण कोषको व्यवस्था गरेको छु । उक्त कोषको लागि गाउँपालिकाबाट रु.३० लाख विनियोजन गरेको छु ।
९२. सियारी गाउँपालिका, मायादेवी गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाको साझेदारीमा सञ्चालनमा रहेको वारुणयन्त्र सञ्चालनका लागि रु.१० लाख विनियोजन गरेको छु ।
सभाध्यक्ष महोदय,
९३. बजेटको समयमै कार्यान्वयनको लागि श्रावण पहिलो हप्ता भित्र खरिद योजनासहित वार्षिक कार्यतालिका निर्माण गरी भदौ-असोजमा साना योजनाको खरिद सम्झौता र कार्तिक र मंसिर मसान्तभित्र क्रमशः मझौला र ठूला योजनाको सम्झौता गरी सक्नु पर्ने गरी प्रस्ताव गरेको छु । यसबाट वैशाख मसान्त भित्र कार्यक्रम तथा योजनाहरु सम्पन्न भै सक्ने अपेक्षा लिएको छु ।
९४. सभाध्यक्ष महोदय, यसरी समग्रमा आ.व २०८०/८१ को कूल वजेटको आकार जम्मा : रु. ६१ करोड ५० लाख ३१ हजार ८३० रहने गरी सन्तुलित वजेटको प्रस्ताव गरेको छु । जसमध्ये चालुतर्फ रु. ३५ करोड १८ लाख ७३ हजार ३ सय तीस (५७.२१ %) र पुजीगत तर्फ रु. २६ करोड ३१ लाख ५८ हजार ५ सय (४२.७९%) प्रस्ताव गरिएको कुरा सम्मानित सभा समक्ष जानकारी गराउन चाहन्छु ।
९५. बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न तथा राजस्व प्राप्तिको लागि आवश्यक पर्ने विनियोजन विधेयक,२०८० र आर्थिक विधेयक,२०८० सम्मानित सभाबाट स्वीकृतिको लागि प्रस्तुत गरेको छु ।
९६. वार्षिक वजेट तथा कार्यक्रम सम्बन्धी विस्तृत विवरण तथा राजश्वका दरहरु संलग्न अनुसूचिहरुमा प्रस्तुत गरेको छु ।
अन्त्यमा, बजेटमा ब्यवस्था गरिएका योजना तथा कार्यक्रमहरू प्रभावकारीरुपमा कार्यान्वयन गरी “कृषि, पर्यटन र दिगो पूर्वाधारयुक्त नगरी : समावेशी, मर्यादित, स्वच्छ र समृद्ध सियारी” बनाउन सभाका सम्पूर्ण सदस्यहरू लाग्नु हुने छ भन्ने विश्वास लिएको छु । यसमा राष्ट्र सेवक कर्मचारीहरू सदा झै खटिनु हुनेछ भन्ने अपेक्षासहित आम सियारी गाउँपालिकावासी नागरिकहरु, राजनीतिक दल, बुद्धिजीवि, समाज सेवीहरूबाट सहयोगको अपेक्षा राख्दछु । बार्षिक बजेट तर्जुमा गर्न सहयोग पुर्याउनुहुने गाउँपालिका अध्यक्ष ज्यू, सभाका सम्पूर्ण सदस्यज्यूहरू, राष्ट्रसेवक कर्मचारीहरू, विषयगत समितिका पदाधिकारीहरू, राजस्व परामर्श समितका पदाधिकारीहरू, बुद्धिजीवि, समाजसेवी, शिक्षक, प्राध्यापक, लगायत सबैलार्इ हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
२०८०/०३/१०
धन्यवाद, जय सियारी
तारा थारु
उपाध्यक्ष
सियारी गाउँपालिका, रूपन्देही
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij