images

शनिवार, बैशाख १५ गते २०८१

सिद्धार्थ होटल संघको श्रीलंकामा ‘सेल्स मिशन’ कार्यक्रम

सिद्धार्थ होटल संघको श्रीलंकामा ‘सेल्स मिशन’ कार्यक्रम

images
images
images
सोमवार, आषाढ ११ २०८०
सोमवार, आषाढ ११ २०८०
  • सिद्धार्थ होटल संघको श्रीलंकामा ‘सेल्स मिशन’ कार्यक्रम

    भैरहवा, ११ असार ।
    बुद्धजन्मस्थल लुम्बिनीसहित वरपरका बौद्ध जीवनीमा आधारित स्थलहरुको प्रचार गर्दै श्रीलंकन बौद्धिष्टहरुलाई भ्रमणको निम्तो दिन सिद्धार्थ होटल संघ नेपाल (शान) को टोली श्रीलंका हिडेको छ । ‘सेल्स मिशन’ कार्यक्रम असार १२ देखि असार १७ गतेसम्म सञ्चालन हुनेछ । संघले भैरहवामा पत्रकार सम्मेलनमार्फत सेल्स मिशन कार्यक्रमको जानकारी गराउदै सोमबार प्रस्थान गरेका हुन् ।

    images

    स्थलमार्ग हुँदै बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने सबैभन्दा बढी तेस्रो मुलुकको पर्यटकमा श्रीलंकनहरु रहेका छन् । कोरोना कहर सुरु हुनुअघि सम्म वार्षिक ५० हजारको हाराहारीमा श्रीलंकन पर्यटक आउने गरेकोमा अहिले निकै न्यून श्रीलंकन पर्यटकहरु आएका छन् ।

    ‘६ दिनको श्रीलंकाको कार्यक्रममा हामीहरुले कोलम्बो र केन्डी शहरमा प्रचारात्मक अभियानका कार्यक्रम गर्नेछौं, ’सिद्धार्थ होटल संघ नेपाल (शान)का अध्यक्ष श्रीलंका सेल्स मिशन कार्यक्रमका लिडर चन्द्र प्रकाश श्रेष्ठ (सिपी)ले भने । ‘अहिले वातावरण सहज छ, हामीसँग भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल पनि छ, बजेट अनुसारको होटलहरु पनि छ, श्रीलंकनहरु लुम्बिनी भ्रमणमा आउनुस्, हामी स्वागत गर्न तयार छौ, तपाईहरुको बजेट अनुसारको भ्रमण प्याकेज उपलब्ध गराउँछौ, त्यहाँ हामीले भन्नेछौं, ’अध्यक्ष श्रेष्ठले भने ।

    ‘श्रीलंकाको कोलम्बोबाट भैरहवासम्म सिधा हवाई उडान सुरु गर्न हामीले त्यहाँका पर्यटन सरोकारवाला  संघ–संस्थासँग भन्नेछौ, हामीहरुको कार्यक्रममा त्यहाँका पर्यटन मन्त्री र प्रधानमन्त्रीका छोरा पनि सहभागी हुनुहुने भएकाले उहाँहरुमार्फत कोलम्बो भैरहवा विमानसेवा सुरु गर्न पहल गर्न आग्रह गर्नेछौं, ’अध्यक्ष श्रेष्ठले भने ।

    सिद्धार्थ होटल संघ (शान) को सेल्स मिशन कार्यक्रममा सुरुमा केन्डी शहरमा त्यहाँका पर्यटन व्यवसायी,  टुर तथा ट्राभल अपरेटरलगायतसँग  अन्तरक्रिया, छलफल र बी टु बी कार्यक्रम गरिने सेल्स मिशन कार्यक्रमका संयोजक तथा सिद्धार्थ होटल संघका वरिष्ठ उपाध्यक्ष किशोर जोशीले बताए । त्यस्तै कोलम्बोमा हुने कार्यक्रममा त्यहाँका पर्यटन मन्त्रीसहित, नेपालका लागि श्रीलंकाका राजदुत, कोलम्बोका पर्यटन व्यवसायी, ट्रााभल एजेण्ट, टुर अपरेटर, सरकारी, गैरसरकारी संस्थाका प्रतिनिधि एवं नेपालका प्रतिनिधिमण्डलसहित २ सय जनाको उपस्थितिमा लुम्बिनी र वरपरका क्षेत्रहरु कपिलवस्तु, राम्रगाम, देवदहलगायतका  बारेमा जानकारी, साथै वित्तचित्र प्रदर्शनी, बी टु बी लगायतको कार्यक्रम आयोजना हुने जोशीले बताए ।

    श्रीलंका सेल्स मिशन कार्यक्रमको प्रबद्र्धकमा नेपाल टुरीजम बोर्ड रहेको छ । त्यसै गरी होटल संघ नेपाल र लुम्बिनी विकास कोष पनि साथमा रहेका छन् । सिद्धार्थ होटल संघले आफनै पहलमा २०७२ सालको भुकम्पपछि जेठ महिनामा नेपाल भ्रमणका लागि सुरक्षित छ, भ्रमण गर्न आउनुहोस भन्दै थाईल्याण्डमा सेल्स मिशन कार्यक्रम आयोजना गरेको थियो ।  

    टोली कार्यक्रम सकेर असार १७ गते नेपाल फर्कनेछ ।  टोलीलाई नेपाल टुरीजम बोर्डले सोमबार बिदाई गरेको थियो । यस अघि संघले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका सचिव रबिन्द्र शर्मा घिमिरे, सदस्य श्रीचन्द्र गुप्ता, लुम्बिनी प्रेस क्लवका निवर्तमान अध्यक्ष नरेश केसी, शानका सल्लाहकार मनोरञ्जन शर्मा, पर्यापर्यटन समूहका दीपेन्द्र बडुवाललगायतले आफनो धारणा राखेका थिए । 

    श्रीलंका प्रस्थान गरेको टोलीमा शानका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष किशोर जोशी, कोषाध्यक्ष भोजेन्द्र खत्री क्षेत्री, सदस्य श्रीचन्द्र गुप्ता, सुजन पाण्डे, नलिन न्यौपाने, अंकित जैसवाल, कैलाश गुप्ता, पवन गोयल, अभय शंकर झा, पशुपति कान्दु, पदम केसी, बुद्धिराम यादव र लुम्बिनी प्रेस क्लबका सचिव प्रकाश न्यौपाने छन् ।
     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij