
बुधवार , आषाढ १३, २०८०
भैरहवा, १३ असार ।
पाल्हीनन्दन गाउँपालिका नवलपरासी (बर्दघाट.सुस्ता.पश्चिम) को सहयोग तथा बुटवल लुम्बिनी टेक्निकल कलेज प्रा.लि.मायादेवी गाउँपालिका–८, रुपन्देहीको आयोजनामा पाल्हीनन्दनमा सञ्चालित दुईमहिने सीपमूलक हाउस वायरिङ तालिम सम्पन्न भएको छ । गत वैशाख १३ गतेदेखि सुरु भएको तालिम बुधबार एक कार्यक्रमकाबीच समापन गरिएको हो । तालिममा २० जनाको सहभागीता रहेको बुटवल लुम्बिनी टेक्निकल कलेज प्रा.लि.कार्यक्रम संयोजक शेर बहादुर वि.क.ले जानकारी दिए ।
तालिमको समापन कार्यक्रममा बोल्दै पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक)ले तालिममा सिकेका कुराहरु सदुपयोग गर्न सहभागीहरुलाई आग्रह गरे । उनले आगामी दिनमा एडभान्स तालिम पनि सञ्चालन गरिने बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले विदेश जाँदा सीप सिकेर जानुपर्ने बताए । उनले भने, ‘सीप सिकेर स्वदेशमै उपयोग गर्न सकिन्छ ।’ आगामी दिनमा पनि यस्ता तालिम सञ्चालन हुने उनको भनाइ छ ।
बुटवल लुम्बिनी टेक्निकल कलेज प्रा.लि.का अध्यक्ष राज गुप्ताले सहभागीहरुलाई उपलब्ध गराइएको प्रमाणपत्र सीप सिकेको प्रमाणपत्र भएको बताए । उनले तालिम लिएका सहभागीहरु आफ्नो गाउँ घर तथा टोलमै काम गरेर स्वरोजगार बन्न सक्ने बताए ।
कार्यक्रममा प्रशिक्षक शैलेन्द्र कुमार त्रिपाठी, पत्रकार माधब न्यौपानेलगायतले बोल्दै सीप सिके आत्मनिर्भर बन्न सकिने बताए ।
वैदेशिक रोजगारका लागि जान चाहनेहरुका लागि आवश्यकताअनुसार सीपमूलक दुईमहिने हाउस वायरिङ तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij