२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

संयुक्त राष्ट्र संघका उपमहासचिवद्वारा लुम्बिनी भ्रमण, लुम्बिनी विकास कोषद्वारा स्वागत

बिहिवार , आषाढ १४, २०८०

भैरहवा, १४ असार ।
संयुक्त राष्ट्र संघका उपमहासचिव जिन–पियरे ल्याक्रोइक्सले बिहीबार बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । भ्रमणमा आएका उपमहासचिव पियरेलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ ।

उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश कुमार त्रिपाठी) सहित कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, सूचना अधिकारी राजन राई, बोर्ड सदस्य विश्वराज पौडेलले उमहासचिवलाई खादा ओढाएर लुम्बिनीमा स्वागत गरेका हुन । उक्त अवसरमा कोषका उपाध्यक्ष मैत्तयले लुम्बिनीको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

राष्ट्र संघको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिवले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा निकै खुशी लागेको बताए । उनले लुम्बिनीको विकासमा संयुक्त राष्ट्र संघले सहकार्य गर्दै आएको बताउँदै आगामि दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए । उपमहासचिव ल्याक्रोइक्समायादेवी मन्दिर, शान्ति दीप, थाई, कम्बोडियन फ्रान्स र भियतनाम गुम्बाहरुको भ्रमण गरे ।

४ दिवसीय भ्रमणका शिलशिलामा नेपाल आएका उपमहासचिव ल्याक्रोइक्सले बुद्ध जन्मस्थल लुम्बिनी पनि भ्रमण गरेका हुन् ।

भ्रमणमा नेपाली सेनाको युद्ध कार्यविभागका विभागीय प्रमुख उपरथी ताराध्वज पाण्डे, रक्षा मन्त्रालयका सह–सचिव बाबुराम अधिकारीसहित नेपाली सेनाका रथिहरुको उपस्थिति रहेको थियो ।

 

संयुक्त राष्ट्रसंघको शान्ति सेनामा पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा रहेको छ भने सोही शान्ति सेनामा महिला सैनिक धेरै पठाउने देशमा नेपाल पहिलो नम्बरमा छ ।