
शुक्रवार , आषाढ १५, २०८०
भैरहवा, १५ असार ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को कार्यालयले विपन्न वर्गहरुका लागि राहतस्वरुप खाद्यान्न वितरण गरेको छ । बिहीबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाभित्रका विपन्न नागरिकलाई खाद्यान्न सामग्री वितरण गरिएको वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताए ।
कार्यक्रममा प्रतिपरिवार २५ किलो चामल, १ किलो नुन, २ लिटर खानेतेल, १ पोका सोयाबीन, ५ किलो चिउरा, ५ किलो पीठो, १ किलो अरहरको दाल लगायत सामाग्री वितरण गरिएको श्रेष्ठले जानकारी दिए । उनले वडाबासीको सेवा गर्नका लागि नै निर्वाचित भएकोले आफूले वाचा गरेअनुसार नै वडाबासीका हकहितको लागी काम गर्ने बताए । उनले पछिल्लो समय देश आर्थिक मन्दीको चपेटाबाट गुज्रिरहेकोले विपन्न वर्गलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्य खाद्यान्न वितरण गरिएको बताए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, वडा नम्बर १३ का वडाअध्यक्ष सोम बहादुर गुरुङ, समाजसेवी ओमकार गौचनलगायतले बोल्दै वडा नम्बर ५ ले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे ।
सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता, नगरप्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता, वडा सदस्य विनित बेरिवालको स्वागत तथा वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij