images

आइतवार, बैशाख १६ गते २०८१

पर्यटकको बसाई लम्ब्याउने योजना बनाउनुपर्नेमा जोड

पर्यटकको बसाई लम्ब्याउने योजना बनाउनुपर्नेमा जोड

images
images
images
बुधवार, आषाढ २० २०८०
बुधवार, आषाढ २० २०८०
  • पर्यटकको बसाई लम्ब्याउने योजना बनाउनुपर्नेमा जोड

    भैरहवा, २० असार ।
    पर्यटन क्षेत्रको विकासका लागि पर्यटकको बसाई लम्ब्याउने योजना बनाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले पर्यटकको बसाई लम्ब्याउन नसक्दा अपेक्षित रुपमा पर्यटन क्षेत्रको विकास हुन नसकेको बताए ।

    images

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को कार्यालयले मंगलबार भैरहवामा आयोजना गरेको पर्यटनको प्रवर्द्धनमा सिद्धार्थनगरको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा भैरहवामा सुविधासम्पन्न होटल हुँदा पनि पर्यटकको बसाई लम्ब्याउन नसकेको बताए । उनीहरुले पर्यटकलाई भुलाउने वातावरण बनाउन सके मात्र बसाई लम्ब्याउन सकिने भएकाले सोहीअनुसार योजना बनाउनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा बोल्दै साहित्यकार विजय गोविन्द श्रेष्ठले पर्यटक महल मात्र हेर्न नआउने बताए । उनले भैरहवामा भएका मठमन्दिरको संरक्षण गर्न आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘रैथानी संस्कृति संस्कारको संरक्षण गर्नुपर्छ । पर्यटकलाई देखाउन सक्ने चिज भैरहवामा के छ ?’  उनले सिद्धार्थनगर नगरपालिकामा उद्घाटन भइसकेको कतिपय संरचना सञ्चालनमा आउन नसकेको भन्दै यथाशिघ्र सञ्चालनमा ल्याउनुपर्ने माग गरे । उनले रोहिणी नदी बुद्धसँग सम्बन्धीत भएकाले रोहिणी गाउँपालिकासँग सहकार्य गर्दै अगाडि बढ्न आग्रह गरे । 

    सिद्धार्थ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा सिद्धार्थनगर वडा नं. ५, १२, १३ का अध्यक्ष गोविन्द प्रसाद बस्यालले पर्यटन प्रवर्द्धनका लागि डण्डाखोलाको संरक्षण आवश्यक रहेकोमा जोड दिए । उनले कारागार बजारको बीचमा भएकाले त्यसलाई सारेर राम्रो उद्यान बनाउन सके आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । उनले भने, ‘कारागार शहरको बीचमा राख्नुभन्दा सारेर राम्रो उद्यान बनाउनुपर्छ । गफ धेरै गर्यौं, काममा जोड दिऔं ।’

    चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठले स्थानीय उत्पादनको ब्राण्डिङ आवश्यक रहेकोमा जोड दिए । उनले रात्रीकालीन बजारलाई जोड दिनुपर्ने बताए । उनले बजार झिलीमिली र रंगीचंगी बनाउन सके पर्यटक आकर्षित हुने बताए । उनले स्थानीय उत्पादन विक्रीवितरणका लागि पसल सञ्चालन गर्नुपर्ने र पसल सञ्चालनमा आए पर्यटकले कोशेली खरीद गरेर लैजाने बताए । 

    भैरहवा नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ताले पर्यटकलाई खुसी बनाउन व्यवहारमा परिवर्तन हुनुपर्ने बताए । उनले भारतीय पर्यटक भन्नेबित्तिकै दुःख दिने प्रवृत्ति हटाउनुपर्ने बताए । उनले भने, ‘पर्यटकलाई आकर्षित बनाउने खालको कार्यक्रम ल्याउनुपर्छ । कम खर्चमा पनि कार्यक्रमहरु गर्न सकिन्छ ।’

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष गणेश प्रसाद बेल्बासेले पर्यटकको बसाई लम्ब्याउने वातावरण बनाउनुपर्ने बताए । उनले भैरहवाको बैंकरोडलाई रात्रीकालीन बजार बनाउन सकिने बताए । 

    सिद्धार्थनगर नगरपालिका शिक्षा समिति सदस्य सलुजा रामदामले पर्यटन प्रवद्र्धनका लागि नागरिकको पनि महत्वपूर्ण जिम्मेवारी रहेको बताइन् । उनले पर्यटक बसाल्ने योजना बनाउनुपर्ने बताइन् ।

    भैरहवा मर्निङ वाक ग्रुपका अध्यक्ष ओमकार गौचनले विगतमा भैरहवामा निर्माण भएको लुम्बिनी गेटका कारण पनि पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताए । उनले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले महत्वपूर्ण कार्यक्रम गरेको भन्दै प्रशंसा गरे ।

    समाजसेवी नारायण प्रसाद अग्रवालले पर्यटकलाई सुविधा दिनुपर्ने बताए । उनले पर्यटकलाई आतिथ्यता प्रदान गर्न नसके पर्यटक आउन नसक्ने बताए । उनले भने, आर्थिक मन्दी र सरकारको नीतिका कारण उद्योग व्यवबसाय धरासायी हुँदै गएका छन् । 

    व्यवसायी हरिश सेठियाले राती ७ बजे नै बैंकरोड लगायतका क्षेत्र सुनसान हुने गरेकाले व्यवसाय चलायमान बनाउन सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ की वडा सदस्य सीता बुढाप्रितीले भैरहवालाई पर्यटकको केन्द्र बनाउन योजना ल्याउनुपर्ने बताइन् । उनले नयाँ वर्ष मनाउन पर्यटक पोखराको लेकसाइड जाने गरेकोले भैरहवामा पनि पर्यटक ल्याउने र बसाल्ने गरी प्याकेज बनाउनुपर्ने बताइन् ।

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष रामप्रसाद पोखरेलले डण्डा नदीको संरक्षण गर्नुपर्ने बताए । उनले पर्यटकलाई भुलाउन सेवासुविधामा जोड दिनुपर्नेमा जोड दिए । उनले भने, ‘डण्डा नदीको सरसफाईमा ध्यान दिनुपर्छ ।’

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ की वडा सदस्य निलु श्रीस मगरले पर्यटन प्रवद्र्धनका लागि भैरहवाको दरखसवा पार्कलाई अझ व्यवस्थित बनाउनुपर्ने बताइन् । 

    चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवालीले पर्यटन व्यवसायलाई स्थापित गर्नुपर्ने बताए । उनले पर्यटन क्षेत्रको विकासमा सिद्धार्थनगर नगरपालिकाको भूमिका महत्वपूर्ण रहने बताए । उनले निजी क्षेत्र र नगरपालिका हातेमालो गर्दै अघि बढ्नुपर्ने र पर्यटकको बसाइ लम्ब्याउने योजना बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘पर्यटन आन्दानीको प्रमुख स्रोत हो । पर्यटन क्षेत्रमा फड्को मार्न सक्छौं । पर्यटकलाई कसरी यस क्षेत्रमा रोक्न सकिन्छ र बसाइ लम्ब्याउन सकिन्छ भन्नेतर्फ लाग्नुपर्छ । ’ भैरहवामा रात्रीकालीन बजार सञ्चालनका लागि नगरपालिकाले पहलकदमी लिन आवश्यक रहेको उनको भनाइ छ । अध्यक्ष ज्ञवालीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि निरन्तर आवाज उठाइरहेको बताए । 

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउनुपर्ने माग गरे । उनले निजी क्षेत्रले मात्रै कति आवाज उठाउने भन्दै प्रश्न गरे । अध्यक्ष श्रेष्ठले पर्यटक सोचमा परिवर्तन आवश्यक रहेको र पूर्वाधारमा जोड दिनुपर्ने बताए । उनले भने, ‘नगर क्षेत्रभित्र रहेका विभिन्न मठमन्दिरको संरक्षण गर्नुपर्छ । ’उनले पर्यटक भन्नेबित्तिकै गोरो छाला र अफ्रिकनलाई मात्र बुझ्न नहुने बताए । उनले तेस्रो मुलुकको भन्दा भारतीय पर्यटकले धेरै खर्च गर्ने भएकाले सोचमा परिवर्तन ल्याउनुपर्ने आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधारमा जोड दिनुपर्छ ।’

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ की वडा सदस्य सरस्वती श्रेष्ठले पर्यटनको प्रवद्र्धनका लागि आफैबाट सुरुवात गर्नुपर्ने बताइन् । 

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले पर्यटनको प्रवद्र्धन आवश्यक रहेको बताए । उनले पर्यटन क्षेत्रलाई चलायमान बनाउन सिद्धार्थनगर नगरपालिकाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले आर्थिक मन्दीका कारण पर्यटन क्षेत्र प्रभावित भएको बताए । उनले व्यवसायीका समस्या समाधानतर्फ लाग्नुपर्नेमा जोड दिए ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले सल्लाहसहित आलोचना आवश्यक रहेको बताए । उनले राज्यले सहयोगी भूमिका खेल्ने भएकोले निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । उनले राज्यप्रति सबैको उत्तिकै दायित्व रहेको बताए । उनले भने, प‘र्यटक भन्नेबित्तिकै तेस्रो मुलुकको पर्यटक मात्र बुझ्नु भन्दा भारतीयसँगै आन्तरिक पर्यटकलाई बुझ्नुपर्छ । ’प्रमुख प्रशासकीय अधिकृत पौड्यालले आर्थिक चलायमानका लागि आन्तरिक पर्यटनलाई पनि जोड दिनुपर्ने बताए । कम्तीमा दुई दिन पर्यटकलाई भैरहवामा बसाल्न सके पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

    IMG_1106.JPG

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ की वडा सदस्य किरन देवी सुनारको स्वागत तथा वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij