
शुक्रवार , माघ २, २०७७
बुटवल, २ माघ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोप बहादुर रायमाझीले विवादस्पद अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे यथाशिघ्र टुंगो लगाउनु पर्ने धारणा व्यक्त गरेका छन् । रिपोर्टर्स क्लब लुम्बिनीले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले बहुचर्चित एमसीसी परियोजनाबारे निर्णय गर्न रत्तिभर ढिलाइ गर्न नहुने कुरामा जोड दिँदै एमसीसी पास गर्ने वा खारेज गर्ने भन्ने बारेमा तत्काल निर्णयमा नपुगे उर्जा क्षेत्रमा ठुलो समस्या आउने बताए ।
एमसीसीबारे आफु घनिभुत छलफलमा रहेको चर्चा गर्दै मन्त्री रायमाझीले यदि विदेशी सहयोग आवश्यक नरहे स्वदेशी लगानीमा भए पनि ट्रान्समिसन लाइन तत्काल निर्माण गर्नुपर्ने अन्यथा उर्जा क्षेत्रमा ओभरलोडको अवस्था सिर्जना भइ अर्को संकट उत्पन्न हुने संकेत गरेका छन् । उनले नेपालमा आगामी वर्षसम्म ५ सय मेगावाट विद्युत आन्तरिक खपत भन्दा बढी उत्पादन हुने र सोको व्यवस्थापनका लागि ट्रान्समिसन लाइन आवश्यक रहेको बताए ।
मुलुकमा लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना आफ्नै रहेको दावी गर्दै मन्त्री रायमाझीले २०७२ मा उर्जा संकट हटाउन ९९ बुंदे कार्ययोजना आफुले तयार गरेको बताए । कुलमान घिसिङ्गलाई आफुले प्रोत्साहन गरेको समेत उल्लेख गर्दै लोडसेडिङ अन्त्य गर्ने कामको जस अरुले लिएको उनले बताए । मन्त्री रायमाझीले भने-अब उत्पादन हुने विद्युत खपत गर्न तुरुन्त नयाँ उपाय खोज्नुपर्ने कुरामा हामी तत्काल गम्भिर हुनुपर्छ ।
मन्त्री रायमाझीले नेकपा भित्रकै विवादका कारण प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको कुरा प्रष्ट पारे । प्रधानमन्त्रीले राजनैतिक अस्थिरताको विकल्पका रुपमा चुनाव रोजेको भन्दै सबैलाई चुनावमा होमिन आग्रह गरे । राजनीतिमा सबै विकल्प र सम्भावनाका ढोका खुला रहने उल्लेख गर्दै भोली पार्टी एकता नहोला भन्न नसकिने पनि टिप्पणी गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij