२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

प्रतिनिधिसभा विघटनको विरोधमा बुटवलमा मैनबत्ती जुलुस

शुक्रवार , माघ २, २०७७

बुटवल, २ माघ । 
प्रधानमन्त्री केपी ओलीद्धारा हठात गरिएको प्रतिनिधिसभा विघटनको विरोधमा बुटवलमा मैनबत्ती जुलुस निकालिएको छ । ‘न्याय मर्न दिँदैनौं’ भन्ने मुल नाराका साथ बुटवलको मिलनचोकदेखि राजमार्ग चौराहासम्म मैनबत्ती जुलुुस निकालिएको थियो । हालै गठित लोकतन्त्र रक्षाका लागि नागरिक आन्दोलन रुपन्देहीको आयोजनामा निकालिएको सो मैनबत्ती जुलुसमा जिल्लामा क्रियाशिल एकदर्जन बढी संस्थाको सहभागिता थियो ।

जुलुसपछि आयोजित कोणसभामा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय असंवैधानिक मात्र नभई प्रतिगामी समेत भएको बताए । नेपाली जनताको त्याग र बलिदानीबाट प्राप्त लोकतान्त्रिक संबिधान च्यातेर प्रम ओलीले मुलुकमा गृहयुद्ध निम्त्याउन खोजेको आरोप लगाउँदै खनालले ओलीको उक्त अलोकतान्त्रिक कदमलाई आन्दोलनका बलमा उल्ट्याउनुको विकल्प नभएको बताए । 

प्रधानमन्त्री ओलीले सनकको भरमा स्वेच्छाचारी र निरंकुश तरिकाले संविधान र लोकतन्त्रको हत्या गर्न खोजेको जिकिर गर्दै खनालले सर्वोच्चले संविधान र लोकतन्त्र मर्न नदिने अपेक्षा रहेको धारणा व्यक्त गरेका थिए । कोणसभामा नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष डा. बुद्धबहादुर थापा, राष्ट्रिय समाचार समितिका पुर्व अध्यक्ष बालकृष्ण चापागाई, नेपाल बार एसोसियसन पुनरावेदन ईकाई बुटवलका पूर्वअध्यक्ष बाबुराम पाण्डे, वुमन केयर नेपालकी अध्यक्ष रिता केसी, गुनाराम घिमिरे लगायतले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नरहेको टिप्पणी गर्दै पुनःस्थापना नहुँदासम्म नागरिक आन्दोलन जारी राख्नुपर्ने धारणा राखेका थिए।
लोकतन्त्र रक्षाका लागि नागरिक आन्दोलन नामक नवगठित संस्था नागरिक समाजको साझा संगठनका रुपमा रहेको र लोकतन्त्रको रक्षाका लागि सदैव तत्पर रहने उद्देश्य रहेको बताइएको छ ।