२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

शनिवार , माघ ३, २०७७

काठमाडौं, ३ माघ ।
नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आज (शनिबार) सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार एक सूचना जारी गर्दै माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शनमा सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् ।

यसअघि पुस १३ मा १६५ निर्वाचन क्षेत्र र पुस २५ मा ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध र गरिएको थियो । विरोधलाई विस्तार गर्दै स्थानीय तहसम्म पुर्‍याइएको  छ । त्यस्तै एक सातापछि वडा तहमा विरोध गर्ने कांग्रेसले जनाएको छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गरिरहेको छ । पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न भएका छन्, सूचनामा उल्लेख गरिएको छ, ‘माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु ।’

साथै प्रतिनिधिसभा विघटनको कार्यलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको भन्दै संविधानमा भएको व्यवस्था प्रतिकूल‚ जनभावनाविपरीतको कार्यविरूद्ध कांग्रेस एकमतका साथ उभिएको समेत सभापति देउवाले बताए ।

यसैबीच रुपन्देहीको भैरहवामा शनिबार प्रतिनिधिसभा विघटनविरुद्ध विरोध सभा कार्यक्रम हुँदैछ । नेपाली कांग्रेस नगर समिति सिद्धार्थनगरको आयोजनामा बिहान ११ बजेदेखि विरोधसभा सुरु हुने पार्टीले जनाएको छ । सि.न.पा. वडा नम्बर ४ स्थित श्री राम जानकी हनुमान मन्दिरको प्रांगणमा  हुने सभालाई कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खांणले सम्बोधन गर्ने नगर सभापति दिलिप धितालले जानकारी दिए ।