२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

केपी ओलीले जनादेश मान्नुभएन : बालकृष्ण खांण

शनिवार , माघ ३, २०७७

भैरहवा, ३ माघ । 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खांणले प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश नमानेको बताएका छन् । उनले जनताको जनादेशलाई स्वीकार नगर्ने कम्युनिष्ट पार्टीको सिद्धान्त नै रहेको दावी गरे ।

नेपाली कांग्रेस नगर समिति सिद्धार्थनगरले शनिबार भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै खांणले संविधान नै नमान्नेले अरु के नै मान्छन् भन्दै प्रश्न गरे । उनले सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा संविधान च्यात्ने र न्यायपालिकालाई निर्देशन दिने गरेको बताए ।

‘ओली प्रधानमन्त्री बनेपछि नेकपाको शासन स्थापित गर्न खोज्नुभयो, नेपाललाई नै कम्युनिष्टराजमा रुपान्तरण गर्न खोज्नुभयो, तर त्यो संविधानमा सम्भव छैन, हाम्रो संविधानले वाक स्वतन्त्रता, स्वतन्त्र पत्रकारिता र जनताको मौलिक अधिकारलाई स्थापित गरेको छ, ’खांणले भने । कम्युनिष्ट पार्टीले विधिको शासन, कानूनी राज्य र जनतालाई मालिक नमानेको उनले बताए । ‘संविधानमा भएका कमीकमजोरी सच्याउनुपर्छ, तर सर्वप्रथम संविधानको रक्षा गर्नुपर्छ, ’उनले भने ।

पूर्व रक्षामन्त्री समेत रहेका नेता खांणले जनताको आँखामा आशु आउँदा कम्युनिष्ट आँखामा आंशु नआउने दावी गरे । नेकपाले आफ्नो पार्टीभित्रको समस्या समाधान गर्न नसकेकोले अब मुलुकको समस्या समाधान नेकपाले गर्न नसक्ने उनको भनाइ थियो ।
नेपाली कांग्रेस राष्ट्रवादी पार्टी भएकोले नेपालको राष्ट्रियता, लोकतान्त्रिक मुल्य मान्यताविरुद्ध पार्टीले कसैसंग सम्झौता नगर्ने खांणले ठोकुवा गरे । ‘नेपाली भुमिको रक्षा गर्न रगत बगाउन तयार छौं, ’उनले भने । सीमाको रक्षा गर्ने मधेशी जनतालाई कम्युनिष्टले गाली गरेको उनले बताए । 

जनता, मुलुक, संविधान र लोकतन्त्र बचाउन कांग्रेस संगठित र एकताबद्ध भएर अगाडी बढ्नुपर्नेमा उनले जोड दिए । संसद विघटन गर्ने कदम अलोकतान्त्रिक भएकोले यसको पुनस्र्थापना हुनुपर्ने माग गर्दै कांग्रेसमा आन्दोलनमा उत्रिएको खांणले बताए ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति मात्रिका प्रसाद यादवले संविधानको रक्षाको लागि कांग्रेस आन्दोलनमा रहेको बताए । उनले ओली नेतृत्वको सरकारले किसानलाई समयमै मल उपलब्ध गराउन नसकेको बताए ।

कांग्रेस रुपन्देही जिल्ला कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले पार्टीबाट सहयोग भएन भनेर ओलीले संसद विघटन गराउनु अलोकतान्त्रिक कदम भएको बताए । 

संविधानसभा सदस्य तथा कांग्रेस महासमिति सदस्य इस्तियाक अहमद खानले संसद पुनस्र्थापना हुनुपर्ने बताए । संविधानसभा सदस्य जन्नतुन निशाले नेपाली कांग्रेस निर्वाचनबाट नडराउने बताइन् ।

कांग्रेस महासमिति सदस्य माधवी शर्मा वाग्लेले ओली नेतृत्वको सरकारले जनतालाई झुठो आश्वास दिएको बताइन् । नेपाल तरुण दल रुपन्देहीका सभापति तथा कांग्रेस महासमिति सदस्य सोम बहादुर गुरुङले ओली नेतृत्वको सरकारले असंवैधानिक काम गरेको बताए ।

कांग्रेस सिद्धार्थनगर वडा नम्बर ६ का सभापति तथा वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले दुईतिहाई बहुमतप्राप्त सरकारले जनताको मतको कदर नगरेको बताए ।

कांग्रेस सिद्धार्थनगर वडा नम्बर ४ का सभापति नरेन्द्र प्रसाद रौनियारले कम्युनिष्ट सरकारले जनताको हकहितमा काम नगर्ने बताए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ की वडा सदस्य रुपा पुनले कम्युनिष्टलाई चिन्ने अवसर प्राप्त भएको बताइन् ।
नेपाल विद्यार्थी संघ पक्लिहवा कृषि क्याम्पस इकाई समितिका सचिव सुलभ भट्टराईले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको बताए ।

कांग्रेस नगर समिति सिद्धार्थनगरका सभापति दिलिप धितालको सभापतित्व, सचिव याम बहादुर थापा (माइला)को स्वागत तथा सचिव सञ्जिव शर्मा रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

नेकपाको के.पी. शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध भैरहवामा विरोधसभाको आयोजना गरिएको कांग्रेस नगर समिति सिद्धार्थनगरका सभापति दिलिप धितालले बताए । कांग्रेस पार्टी कार्यालयदेखि सुरु भएको विरोध ¥याली बैंकरोड, मिलनचोक, गल्लामण्डी हुँदै सि.न.पा.–४ स्थित श्री रामजानकी हनुमान मन्दिर प्रांगणमा पुगेर सभामा परिणत भएको थियो ।IMG_0542.JPG