
शनिवार , माघ ३, २०७७
भैरहवा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले संसद पुनःस्थापना भए पार्टी एकता जोगिने बताएका छन्।
संसद विघटनपछि नेकपा दुई भागमा बाँडिएकोमा संसद पुनःस्थापना हुँदा पार्टी एकीकृत हुने र त्यसपछि प्रधानमन्त्रीले चालेको कदमको गम्भीर समीक्षा हुने उनको भनाइ छ।
नेकपा तिलोत्तमा नगर कमिटीले शनिबार मणिग्राममा आयोजना गरेको विस्तारित बैठक तथा भेलालाई सम्बोधन गर्दै नेता भुसालले संसद पुनःस्थापनाको विकल्प नभएको स्पष्ट पारे। उनले सेटिङ्ग बाहेक अर्को कुनै तरिकाले संसद पुनःस्थापनालाई रोक्न नसक्ने दाबी गरे। संसद पुनःस्थापना नभए मुलक डरलाग्दो भूमरीमा फस्ने र अहिलेसम्म प्राप्त उपलब्धिहरु नाँसिने बताउदै नेता भुषालले न्यायलयलाई प्रभावित पार्न नदिनको लागि दबाब दिन सडक आन्दोलन गर्न परेको बताए।
नेता भुसालले तीन महिनाभित्र संसद पुनःस्थापना हुने विश्वास व्यक्त गरे। संसद पुनःस्थापना हुन नदिने षड्यन्त्र विरुद्धको आन्दोलनलाई सफल बनाउन सबै न्यायप्रेमीहरु एकै ठाउँमा गोलबन्द हुनुपर्नेमा जोड दिए। उनले देशका बुद्धिजीवी, संविधानविद्, कानुनविद् सबै संसद विघटनको विपक्षमा रहेकोले पनि प्रधानमन्त्रीको असंवैधानिक कदम सच्चिने बताए।
‘संविधानलाई ट्रयाकमा ल्याउन, संविधानलाई च्यातिन नदिन पनि संसद पुनःस्थापना हुनुपर्छ।’ उनले भने, ‘प्रधानमन्त्री संविधान भत्काउने योजनामा हुनुहुन्छ। त्यसको फायर संसद विघटनबाट खोल्नुभएको छ। सबै कुरा आफ्नो नियन्त्रणमा राख्ने नपाएपछि प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको हो ।’ पूर्वमन्त्री समेत रहेका नेता भुसालले पार्टी कब्जा गर्ने, विधि प्रक्रियाअनुसार नचलाउने, घोषणापत्र अनुसार सरकारका नीति तथा कार्यक्रम नल्याउने कुरामा बाहेक पार्टीले प्रधानमन्त्रीलाई कुनै काममा अवरोध नगरेको स्पष्ट पारे।
नेता भुसालले भुसालले वैशाखमा चुनाव नहुने र पछि भैहाले पनि बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्ने प्रवृत्तिले मुलुकमा कहिल्यै स्थिरता नआउने बताए। शान्ति, स्थिरता, विकासको लागि नेपाली जनताले नेकपालाई अभूतपूर्व अभिमत दिए पनि प्रधानमन्त्रीले त्यसलाई सम्मान गर्न नसकेको बताए।
कार्यक्रममा नेकपा केन्द्रीय कमिटी सदस्य वामदेव घिमिरेले प्रधानमन्त्रीको एकात्मवादी सोंच र व्यवहारका कारण समस्या आएको बताउँदै संसद विघटनले राजवादीहरु सल्वलाउने अवसर पाएको बताए।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि सडकबाटै संसद पुनःस्थापना गरिने बताए। पार्टीका अर्का नेता तथा सामाजिक विकास मन्त्री समाजवाद उन्मुख देश बनाउन दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएकोमा त्यसतर्फ अघि बढ्न नचाहेकोले प्रधानमन्त्रीले अहंकारको धारा लगाएर संसद विघटन गरेको टिप्पणी गरे।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij