
शनिवार , माघ ३, २०७७
नवलपरासी, ३ माघ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीले आफु संसद विघटनको पक्षमा रहेको बताएका छन् । नेपाली कांग्रेस सुनवल नगर कार्यसमिति पश्चिम नवलपरासीले संसद् विघटनकोविरुद्ध आयोजना गरेको विरोधसभामा बोल्दै नेता भण्डारीले यस्तो बताए ।
नेकपा सरकारले गरेको संसद् विघटन असंवैधानिक भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शनिबार प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन भइरहदा नेता भण्डारीले भने पश्चिम नवलपरासीको
विरोधसभालाई सम्बोधन गर्दै भने, ‘सर्वोच्चले चुनावको व्यवस्था गरोस्, कम्युनिष्टलाई सधैंलाई विदा गर्छौ । बाँकी २ वर्ष अझै कम्युनिष्टलाई सरकार चलाउन दिने हो भने मुलुक झन अस्थिरतातर्फ जान्छ ।
कम्युनिष्टहरु न विकास चाहन्छन न आफुहरु नै मिलेर बस्न सक्छन, उनले भने ‘५ वर्षसम्म पनि सरकार चलाउन नसकेर ३ वर्षमै संसद विघटनको स्थितिमा पुग्ने नेकपा पार्टीलाई अब जनताले कहिले पनि जिताउने छैनन् ।’
जनताले दुःख पाउदा कतै नदेखिने नेकपाका (प्रचण्ड–नेपाल) समुह अहिले व्यक्तिगत स्वार्थ र लाभका लोभले सडकमा बसेर हामी यहाँ छौ’ भनेर देखिनु आफुलाई अचम्म लागेको बताए । भण्डारीले जनताले औषधि उपचार नपाएको बेलामा पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिलाई सर्प पाल्नकै लागी सरकारले ७२ करोड रुपैयाँ दिने प्रसंग जोड्दै भने ‘अब कम्युनिष्टहरुलाई भोट जनताले होइन तीनै सर्पले दिन्छन्’ ।
नेपाली कांग्रेस सुनवल नगर पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली सुनवल चोकमा पुगी कोणसभामा परिणत भएको थियो । विरोधसभामा कांग्रेसका भातृ सगठन तरुण दल, नेपाल विद्यार्थी संघ, ट्रेड युनियन र नेपाल महिला संघको समेत सहभागीता थियो ।
विरोधसभामा नेपाली कांग्रेस जिल्ला सभापति विष्णु पौडेल, उपसभापति अर्जुन कुमार पोखरेल र जिल्ला सदस्य रुद्रकुमारी कंडेल र नेपाली कांग्रेसका महासमिति सदस्य एवं सुनवल नगरप्रमुख भिम बहादुर थापा क्षेत्रीले समेत सम्बोधन गरेका थिए ।
नेपाली कांग्रेस सुनवल नगर कार्यसमितिका सभापति सोमबहादुर रायमाझीको अध्यक्षतामा रहेको विरोध कार्यक्रमको सञ्चालन कांग्रेस नगर कार्यसमिति सचिव जयराम बस्यालले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij