२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सिद्धार्थनगरको १३ औं अधिवेशन सम्पन्न

मंगलवार , आषाढ २६, २०८०

भैरहवा, २६ असार ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/२०८१ का लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

नगरपालिकाको १३ औँ नगर सभाको असार १० गते बसेको पहिलो बैठकले आर्थिक वर्ष ०८०/०८१ का लागि नगर उपप्रमुख उमा अधिकारीद्वारा प्रस्तुत गरेको १ अर्ब १३ करोड बढी रुपैयाँ बजेट दोस्रो बैठकमा छलफलपछि सर्वसम्मतले पारित भएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए । जसअनुसार चालुतर्फ ५८ करोड ६ लाख ८० हजार ७ सय ४ रुपैयाँ र पुँजीगततर्फ ५५ करोड ३४ लाख ६१ हजार २ सय ९६ रुपैयाँको बजेट प्रस्तुत भएको थियो ।

त्यस्तै नगरप्रमुख इश्तियाक अहमद खानले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पनि छलफलपछि संसोधनसहित सभाले सर्वसम्मतले पारित गरेको हो ।

त्यस्तै सभाको असार २६ गते बसेको तेस्रो बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण, न्यायीक समिति, लेखा समितिको प्रतिवेदन छलफलपछि सर्वसम्मतले पारित गरेको छ भने सभामा पेश भएको कर्मचारी व्यवस्थापन विधेयक तथा शिक्षा ऐन, २०७४ संसोधन विधेयकमा नगर सभा सदस्यले अध्ययनको माग गरेपछि हिउँदो अधिवेशनमा पुनः पेश गर्ने गरी नगरसभाको १३ औं अधिवेशन समापन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौड्यालले बताए ।

आर्थिक वर्ष ०८०/०८१ मा संघीय सरकारबाट समानीकरण अनुदानमा १७ करोड ८९ लाख, सशर्त अनुदानमा २८ करोड ५४ लाख, समपूरक अनुदान ८० लाख, विशेष अनुदान ९० लाख, राजस्व बाडफाँड १० करोड ४३ लाख ४६ हजार र प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान एक करोड ३७ लाख ३३ हजार, सशर्त अनुदान ८६ लाख ५० हजार, राजस्व बाडफाँड ८६ लाख ८० हजार चार सय १३, समपूरक अनुदान एक करोड ५० लाख, नेपाल सरकार तथा एशियाली विकास बैंकको संयुक्त लगानीमा सञ्चालन हुने परियोजना लागि दातृ निकायबाट प्राप्त हुने १३ करोड ४० लाख, मालपोत कार्यालयबाट प्राप्त हुने राजस्व बाँडफाँड ५ करोड, आन्तरिक आयबाट १९ करोड ९५ लाख र अनुमानित बैंक मौज्दात ११ करोड ८९ लाख ३२ हजार ५ सय ८७ गरी १ अर्ब १३ करोड ४१ लख ४२ हजार रुपैयाँको बजेट अनुमान गरी पारित भएको नगरपालिकाको कार्यालयले जनाएको छ ।

त्यस्तै नगरपालिका ल्याएको नीति तथा कार्यक्रममा नगरलाई ‘क्लिन’ ‘ग्रिन’ ‘इको फ्रेन्डली’ बनाउनका लागि वृक्षारोपणसहितको कार्यक्रम, ८० वर्ष उमेरमाथिका जेष्ठ नागरिकको घरदैलोमा गई स्वास्थ्य जाँच गर्ने, फोहोरमैला व्यवस्थापन गर्ने स्थलमा प्रभावित बासिन्दाको निःशुल्क बीमा कार्यक्रम, ब्लड बैंकमार्फत नगरसबाीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्ने, उपप्रमुख सुत्केरी भेटघाट कार्यक्रम, सार्वजनिक शौचालयको निर्माण, अटोमेटिक नम्बर प्लेट रिडिङ्ग प्रणली जडान, छाडा चौपायाको व्यवस्थापन, फायर हाइड्रेन्ट जडान, वाटर एटीएमलगायत रहेको छ ।