
बुधवार , आषाढ २७, २०८०
भैरहवा, २७ असार ।
रुपन्देहीको सियारी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ गाउँपालिकाको १३ औं नगर सभाको दोस्रो बैठकले आर्थिक वर्ष ०८०/०८१ का लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो ।
असार ९ गते गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने असार १० गते पालिका उपाध्यक्ष तारा थारुले बजेट प्रस्तुत गरेकी थिइन् । आज बसेको १३ औ गाउँसभाको दोस्रो बैठकले उपाध्यक्ष तारा थारुले पहिलो बैठकमा प्रस्तुत गरेको ६३ करोड ५६ लाख ५२ हजार ५ सय रुपैयाको बजेट संशोधनसहित सर्वसम्मतिले पारित गरेको सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।
त्यसै गरी गाउँपालिका अध्यक्ष घिमिरेले प्रस्तुत गरेको नीति तथा कार्यक्रम गहन छलफलपछि संशोधनसहित सभाले सर्वसम्मतले पारित गरेको हो । त्यस्तै सभाको असार २७ गते बसेको बैठकले सियारी गाउँपालिकाको स्थानीय तहको कर्मचारी व्यवस्थापन गर्न विधेयक २०८०, सियारी गाउँपालिकाको जलश्रोत विधेयक २०८०, गाउँपालिका आकस्मिक कोषको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन तथा सियारी रोजगार रणनीति सर्वसम्मतिले पारित भएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए ।
आर्थिक वर्ष ०८०/०८१ मा संघीय सरकारबाट समानीकरण अनुदानमा १२ करोड ५३ लाख, संघीय राजस्व बाँडफाँडमा ९ करोड ४७ लाख ८३ हजार २ सय, प्रदेश समानीकरणमा ९ करोड २४ लाख ५ हजार, प्रदेश राजस्व बाँडफाँडमा ४० लाख ५३ हजार ६ सय ३० रुपैयाँको बजेट अनुमान गरी पारित भएको पालिकाले जनाएको छ ।
१३ औं अधिवेशनको तेस्रो बैठकमा बोल्दै अध्यक्ष घिमिरे, उपाध्यक्ष थारु, वडाअध्यक्ष शेर बहादुर गुरुङ, कार्यपालिका सदस्य अन्जु रोक्का, वडा सदस्यहरु सन्तोष शर्मा, प्रकाश थापालगायतले नीति तथा कार्यक्रमलाई बजेटलाई पूर्ण रुपमा कार्यान्वयन गर्दै जानेमा जोड दिए । उनीरुहरुले नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भए जस्तै गरी बजेटलाई पनि कार्यन्वयन गर्दै जानेमा जोड दिएका छन् । सियारीले पालिकालाई आत्मनिर्भर बनाउनका लागि हल्दी, खुर्सानी र लसुनमा अनुदान दिने निर्णय गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij