
शुक्रवार , आषाढ २९, २०८०
भैरहवा, २९ असार ।
पाल्पाको माथागढी गाउँपालिकाका कर्मचारीहरुले गाउँपालिकामा उपस्थित भइ सुरक्षित रही कामकाज गर्न सक्ने अवस्था नरहेको भन्दै सुरक्षाको व्यवस्थाको प्रत्याभूति हुने वातावरण बनाउन माग गरेका छन् । उनीहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय पाल्पामा पुगेर निर्धक्क भएर कानूनबमोजिम कामकाज गर्न पाउने वातावरण बनाउन माग गरेका हुन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली, लेखा अधिकृत सन्तोष दाहाल, इञ्जिनियर धमेन्द्र कुमार यादव र लेखापाल टिकाराम बस्यालले जिल्ला प्रशासन कार्यालय पाल्पामा निवेदन दर्ता गराउँदै कर्तव्य पालनाको सिलसिलामा जनप्रतिनिधिहरुबाट नियोजित रुपमा गराइएको अभद्र व्यवहार र आक्रमणबाट गाउँपालिकाका सिंगो कर्मचारी परिवार त्रसित रहेकाले दागाी उपर कानून बमोजिम कारवाहीको माग गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले असार २३ गते सुत्र प्रणालीमा पटकपटक समस्या आएको र असार २४ गते दिनभर र बेलुकासमेत उक्त प्रणाली नचल्दा केही फाइलहरु सदर हुन बाँकी रहेको बताए । उनले भने, ‘उक्त रातको सुत्र प्रणाली चालु रहदासम्म भरसक कुनै पनि भुक्तानी बाँकी राख्न नपरोस् भन्ने अभिप्राय र भौचर उठाइसकेका फाइलहरुमा ईएफटी सदर गर्न पक्कै मिल्छ भन्ने बुझाइका साथ सुत्र प्रणाली नचलेसम्म (करिब रातको ११ः४५ सम्म) भौचर उठाइ लगभग सम्पूर्ण योजनाहरुको काम सकिएको थियो । अर्को दिनबाट उठिसकेका भौचरको पनि ईएफटी गर्न नमिल्ने गरी सुत्र प्रणाली लक भएको र भुक्तानीसम्बन्धी धेरै सेवाग्राहीहरुको गुनासो आएकोमा जनप्रतिनिधिहरुलाई समेत यथार्थ व्यहोराको रिपोर्टिङ गरी सेवा पुनः सुचारु भइ भुक्तानी हुने सम्भावनाबारे आश्वस्त पारेका थियौं । ’
त्यस्तै असार २६ गते कार्यपालिकाको बैठकमा लेखा अधिकृतलाई उपस्थित गराइ भुक्तानी सम्बन्धी विषयमा हुर्मत लिने कार्य भएको ज्ञवाली बताए । त्यस्तै अर्को दिन २७ गते लेखा शाखामा प्रणाली चल्ने प्रतीक्षा गर्दै अन्य नियमित कार्य गरी बसेको अवस्थामा एक्कासी करिब १ सय जना (प्राय वडा नम्बर ३ का) आई लेखा शाखा घेराउ गरी कार्यकक्षमा ताला लगाइ थुनामा राखी गाउँपालिका अध्यक्षकै समन्वयमा प्राविधिक इञ्जिनियर समेतलाई अनेक गालीगलौज गर्दै लेखा अधिकृत लगायत लेखापालसमेतलाई ज्यान लिनेसम्मको धाकधम्की दिइएको प्रशासन कार्यालयमा दर्ता भएको निवेदनमा उल्लेख छ । थुनिएका लेखा अधिकृतलाई बाहिरबाट लठ्ठीले घोची भौतिक आक्रमण गरिएको ज्ञवालीको भनाइ छ ।
‘विभिन्न योजनाहरु जनप्रतिनिधिकै दबाबमा छोटो समय दिइ कार्यक्रम सम्झौता गर्नुपरेको र असारको २०–२२ तिर मात्र धेरै योजनाका फाईलहरु कार्यालयका विभिन्न शाखाहरु हुँदै आर्थिक प्रशासन शाखामा प्राप्त भएको हुँदा कार्यबोझ अत्यन्तै बढेको कारण हामी कर्मचारीहरु दिनरात नभनी खट्टिई काम गरिरहेका थियौं, ’निवेदनमा उल्लेख छ ।
यता माथागढी गाउँपालिका अध्यक्ष यम चिदीले भुक्तानीको विषयमा समाधान निकाल्ने प्रयास भइरहेको समयमा उपभोक्ताले कार्यालय घेराउ गरेको बताए । कर्मचारीलाई अभद्र व्यवहार गर्न नदिन आफू कार्यपालिका बैठक रोकेरै सहजीकरण गर्न पुगेको चिदीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij