२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

कोटहीमाई गाउँपालिकाको बजेट ४८ करोड

सोमवार , श्रावण १, २०८०

भैरहवा, १ साउन ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकाको १२ औं गाउँसभा आइतबार सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम एवं अनुमानित आय व्यय सार्वजनिक गरी गाउँ सभा सम्पन्न गरेको हो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले कोटहीमाईको समस्याको रुपमा रहेको सिंचाइलाई दीर्घकालिन व्यवस्थापनमा जोड दिइने बताए । ‘नेपाल विद्युत प्राधिकरणको सहकार्यमा सिंचाइको लागि निःशुल्क विद्युतको व्यवस्था गरिनेछ’ अध्यक्ष त्रिपाठीले भने ।

उनले गाउँपालिकाको समग्र विकासको लागि भौतिक पूर्वाधारमा मात्र नभइ कृषि, स्वास्थ्य, शिक्षा एवं सामजिक विकासको नीतिलाई पनि अगाडी बढाएको बताए । उनले गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्स सेवालाई प्रभावकारी बनाइने एवं गाउँपालिका भित्रका बर्थिङ्ग सेन्टरमा सुत्केरी गराउने गर्भवती महिलालाई सुत्केरी हुन स्वास्थ्य संस्थामा जाँदा र सुत्केरीपश्चात् घरमा फर्कदा एम्बुलेन्स शुल्क नलाग्ने व्यवस्था मिलाईने बताए ।

‘आमा र शिशुको स्वास्थ्यलाई ध्यान राख्दै बर्थिङ्ग सेन्टर तथा अस्पतालमा सुरक्षित सुत्केरी गराउन प्रोत्साहन गर्ने र बर्थिङ्ग सेन्टर तथा अस्पतालमा प्रसुति गराइएका गाउँपालिकाभित्र स्थायी बसोबास भएका सुत्केरी महिलालाई कार्यविधि बनाइ ‘उपाध्यक्षसँग सुत्केरी प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरी पोषण सामाग्री उपलब्ध गराउने नीति लिइनेछ, ’त्रिपाठीले भने ।

‘गुणस्तरीय शिक्षा कोटहीमाईको प्रतिवद्धता’ भन्ने मूल नारासहित सबै बालबालिकालाई विद्यालयमा अनिवार्य पठाउँ, सिकाउँ र टिकाउँ भन्ने अभियान सहित सामुदायिक तथा धार्मिक विद्यालयहरुमा भौतिक पूर्वाधार विकाससँगै गुणस्तर वृद्धिमा जोड दिइने उनले बताए । 

त्यसै गरी कक्षा १० मा अध्ययनरत छात्राहरुलाई पठनपाठनमा प्रोत्साहन गर्न साईकल वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिईने दिने एवं एसइई परीक्षमा सामूदायिक विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थिहरुलाई पुरस्कारको व्यवस्थालाई निरन्तरता दिइने नीति गाउँपालिकाले लिइएको छ ।

त्यस्तै गाउँसभाबाट कोटहीमाई गाउँपालिकाले ४८ करोड ५७ लाख ५० हजार बराबरको बजेट पनि सार्वजनिक गरेको छ । बजेट सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले नेपाल सरकारको निशर्त वित्तीय समानीकरण अनुदान रु. १२ करोड ६५ लाख, राजश्व बाँडफाँडबाट रु. ९ करोड ८४ लाख ६२ हजार ४ सय, आन्तरिक आय तर्फबाट रु. ५० लाख, बैंक मौज्दात अनुमानित आय रु. २ करोड ६० लाख ८० हजार पाँच, संघीय सशर्त चालु अनुदान रु. १७ करोड १२ लाख, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदानबाट रु. ९१ लाख ९७ हजार, शसर्त अनुदानबाट रु. ९१ लाख ५० हजार, प्रदेश सरकारको राजश्व बाडफाडबाट रु. ५० लाख ६० हजार ५ सय ९५, नदीजन्य श्रोतको वाडफाडबाट रु. ५१ लाख र समपूरक अनुदान संघबाट रु. ५० लाख, प्रदेश सरकार समपूरक अनुदानबाट रु. १ करोड र जिल्ला समन्वय समिति अनुदानबाट रु.१ करोड ५० लाख गरी कुल जम्मा रकम रु ४८ करोड ५७ लाख ५० हजारको बजेट रहेको बताए ।

कुल अनुमानित आयबाट पालिकाको प्रत्येक वडालाई रु. १ करोड १५ लाखको दरले जम्मा रु. ८ करोड ५ लाख विभिन्न शाखाहरुमा रु.१ करोड ६६ लाख प्रशासनिक खर्चतर्फ रकम रु. ६ करोड ९५ लाख, समपूरक कोषको लागि रु.४ करोड ५ लाख र पालिकातर्फ रु. ६ करोड ८३ लाख, सशर्ततर्फ रु. १९ करोड ५३ लाख ५० हजार र जिल्ला समन्वयतर्फ रु. १ करोड ५० लाख गरी कुल जम्मा रु. ४८ करोड ५७ लाख ५० हजार विनियोजन गरेको उनले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख रामकृपाल धोबीले विद्यालयको अनुगमनलाई तीव्रता दिन आग्रह गरे । उनले भने, ‘हरेक विद्यालयको अनुगमन गरी आवश्यकताका आधारमा लगानी गर्न तथा त्यस लगानीको नियमित अनुगमन गर्न पालिकालाई आग्रह गर्दछु । कुनै विद्यालयमा आवश्यकताभन्दा बढी फर्निचर तथा कुनैमा अपुगको अवस्था रहेको छ । केही विद्यालयलाई दिइएको विभिन्न सामाग्री प्रयोगबिहीन छन् त्यसलाई अनुगमन गरी आवश्यकताअनुसार व्यवस्थापन गर्नुपर्छ ।’ गाउँपालिकाभित्रका विभिन्न राजनीतिक दलको सकारात्मक सहयोग लिएर सबै कर्मचारी र जनप्रतिनिधि सकारात्मक भई एकबद्ध मात्र गाउँपालिका समृद्ध हुने उनले बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शुसिला कुमारी यादव, प्रमुख प्रशासकिय अधिकृत राजन श्रीवास्तव, गाउँसभा सदस्य अर्जुन केवट, हबिब खान, इशराक अहमद खान, समाजसेवी गुरुवचन यादव, रामगणेश पाल, विपद् व्यवस्थापन सन्जालका राष्ट्रिय अध्यक्ष जगन्नाथ यादव, वडा नम्बर १ का वडाअध्यक्ष राजेश गुप्ता, वडा नम्बर ५ का अध्यक्ष संजय कुमार सैनीलगायतले गाउँपालिकामा भएको कमीकमजोरी तथा विकास निर्माणबारे बोलेका थिए । 
गाउँपालिका अध्यक्ष त्रिपाठीको अध्यक्षता, सनोज कुमार चौधरीको स्वागत तथा अजय सिंह क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।