२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

‘ट्रंक लाइन’ विद्युत महशुल विवाद : उद्योगीले बुझाए उर्जामन्त्रीलाई ज्ञापनपत्र

सोमवार , माघ ५, २०७७

भैरहवा, ५ माघ ।
रुपन्देही उद्योग संघले उद्योगहरुलाई ट्रंक लाइन प्रयोगको नाममा लागू गरिन लागेको चर्को शुल्क खारेज गर्न माग गरेको छ । संघले साधारण लाइनबाट विद्युत प्रशारण र प्रयोगको वातावरण तयार गरी उद्योग सञ्चालनको उपयुक्त वातावरण तयार पार्न माग गरेको हो । सोमबार रुपन्देही उद्योग संघले संघीय सरकारका उर्जामन्त्री टोप बहादुर रायमाझीलाई भैरहवामा ज्ञापनपत्र बुझाउँदै कुनै जानकारी र सम्झौता विना नै ट्रंक लाइन बिलिङ्ग लागू गरिरहँदा उद्योगीहरु नै त्रसित बन्दै गएकोले समस्या समाधान गर्न आग्रह गरेको छ ।

‘विगतमा ट्रंक लाइनको अर्थ लोडसेडिङ नहुने बुझिन्थ्यो, तर तत्कालिन समयमा प्राधिकरणले तालिका समेत प्रकाशन गरी लोडसेडिङ गर्दै आइरहेको थियो, लोडसेडिङ पनि गर्ने र ट्रंक कल बिलिङ्ग पनि गर्ने उपयुक्त देखिदैन, ‘संघका अध्यक्ष बाबुराम बोहोराले भने । 

उद्योगीले नियमित विद्युत महशुल बुझाउँदै आइरहेको, पाउने रिवेट २ प्रतिशत समेत पाइरहेको तर हाल आएर बाँकी भन्दै पत्र काटिनु अच्चमको विषय बनेको बोहोराले बताए । 

ट्रंक लाइन विद्युत जडान गर्न कुनै पनि उद्योगले निवेदन नदिए पनि ट्रक लाइन जडानका बखत बिलि¨ नगरिनु प्राधिकरणको लापरवाही भएको उनको भनाइ छ । २०७५ वैशाखमा नेपाल लोडसेडिङमुक्त घोषणा भइसक्दा समेत २०७६ मंसिरदेखि उद्योगलाई ट्रंक लाइन शुल्क लागु गर्नु कदापी उपयुक्त नदेखिएको बोहोराले बताए ।

‘उद्योगको हरेक वर्ष लेखा परीक्षण सम्पन्न गरी आय–व्यय विवरण समेत बुझाइ सकिएको अवस्थामा छ, भनी दावी गरिएको रकम अहिले खर्च मिलान गर्न असम्भव देखिन्छ, न त उद्योगीले उक्त रकम बुझाउने क्षमता राख्छन्, तत्कालिन समयम उत्पादन गरी सोही समयको खर्च बमोजिम वस्तु उत्पादन र विक्री वितरण समेत भइसकेको अवस्थामा यो बिलि¨ अनावश्यक व्यवयभार बढ्न गई उद्योगहरु संकटमा पर्ने देखिन्छ, ’उनले भने ।

त्यस्तै रुपन्देही उद्योग संघले उत्पादन क्षेत्रमा लाग्दै आएको डिमाण्ड चार्जको व्यवस्था सधैका लागि खारेज गर्न र महशुलमा समेत विशेष सहुलियत छुट सुविधाको व्यवस्था गर्न उर्जामन्त्री रायमाझी समक्ष आग्रह गरेको छ । 

त्यसै गरी टीओडी मिटर जडान भएका उद्योगीहरुलाई पुसदेखि चैतसम्मको अफ आवरको सुविधा कटौती गरिंदा उद्योगहीहरु मर्कामा परेकोले उक्त समय पनि अफ आवरको सुविधा कायम गर्नुपर्ने संघको माग छ ।

सो अवसरमा रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष गणेश प्रसाद अधिकारी, उद्योगी चन्द्रमान श्रेष्ठ, मधुसुदन घिमिरेले उद्योगी धरासायी बन्दै गएकोले ट्रंक लाइन महशुल विवाद सुल्झाउन उर्जामन्त्रीलाई आग्रह गरे । विगतमा पनि पटकपटक यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएको उनीहरुको गुनासो थियो ।

ज्ञापनपत्र बुझ्दै उर्जामन्त्री रायमाझीले उद्योगीहरुको समस्या समस्याको लागि पहल गर्ने आश्वासन दिए । ‘उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नुपर्छ, प्रोत्साहन गर्न सकिएन भने देश आर्थिक समृद्धितर्फ अगाडी बढ्दैन, ’उनले भने । उनले अप्ठ्यारो परिस्थितिमा आफु सरकारमा सहभागि भएकोले विभिन्न चुनौतीहरु रहेको बताए ।