२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

शान्ति सुरक्षाको माग गर्दै तिलोत्तमा उद्योग वाणिज्य संघ तिलोत्तमा नगरपालिकामा

बिहिवार , श्रावण ४, २०८०

तिलोत्तमा, ४ साउन । 
तिलोत्तमा उद्योग वाणिज्य संघ, रुपन्देहीले उद्योगी व्यवसायीहरुलाई निर्वाध तथा सुरक्षित रुपमा आफ्नो उद्योग व्यवसाय सञ्चालन गर्न पाउने अधिकारको प्रत्याभूति दिलाउन माग गरेको छ । संघले नगरमा शान्ति सुरक्षा कायम गर्ने र उद्योगी व्यवसायीको संरक्षण गर्ने दायित्व स्थानीय सरकार तथा नगरपालिकाको भएकाले यसतर्फ ध्यान दिन नगरपालिकाको ध्यानाकर्षण गराउँदै तिलोत्तमा नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।  

तिलोत्तमा–११ स्थित गाईघाटका निर्माण व्यवसायी गोविन्द प्रसाद अधिकारीको निवासको पार्किङमा राखिएका जे.सी.भी., भ्याक्कु र टेक्टरमा आपराधिक समूहबाट भएको आगजनी र उद्योगी व्यवसायीलाई आतंकित बनाएको घटनाप्रति तिलोत्तमा उद्योग वाणिज्य संघले भ्रत्सना गर्दै शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध मिलाउन नगरपालिकासँग आग्रह गरेको छ ।

संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव) को नेतृत्वमा नगरपालिका गएको संघको प्रतिनिधिमण्डलले यही साउन १ गते सोमबार बिहान करिब २ः३० बजे भएको आगजनीको घटनाको जानकारी गराउँदै शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन माग गर्दै नगरप्रमुख रामकृष्ण खाँणलाई बुधबार दिउँसो ज्ञापनपत्र बुझाएको हो ।

संघका अध्यक्ष भण्डारी र महासचिव राजकुमार पाण्डेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा यस्ता खालका आपराधिक क्रियाकलापका कारण उद्योगी र व्यवसायीहरुले यस क्षेत्रमा उद्योग व्यवसाय गर्न नसकी विस्थापित हुनुपर्ने अवस्था आउन सक्ने भएकाले शान्ति सुरक्षाको प्रबन्ध मिलाउन सम्बन्धित निकायसँग अपील गरिएको छ । संघले उक्त घटनाको यथाशिघ्र छानबीन गरी आपराधिक क्रियाकलापमा संलग्न दोषीमाथि कडा कारवाही गर्न तिलोत्तमा नगरपालिका, प्रहरी प्रशासन र राज्यको ध्यानाकर्षण गराएको छ ।  

Press realse.jpeg