
सोमवार , माघ ५, २०७७
नवलपरासी, ५ माघ ।
पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिकामा कोभिड–१९ बाट प्रभावित १ सय ५८ जना व्यवसायीलाई आर्थिक पुर्नलाभ कार्यक्रम सोमबार एक कार्यक्रमकाबीच सम्पन्न गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस र त्यसले निम्त्याएको लकडाउनका कारण नगरपालिकाभित्र रहेका प्रभावित व्यवसायीहरुको आर्थिक उपार्जनका निम्ति उनीहरुलाई पुनःस्थापित गराउने उद्देश्यले युएस आईडी तयार नेपालको आर्थिक सहयोग तथा हिकोडेफ र सुनवल नगरपालिकाको सहजीकरणमा विगत ४ महिनादेखि सञ्चालित सो कार्यक्रमको सोमबार समापन गरिएको हो ।
लकडाउनबाट प्रभावित १ सय ५८ जना व्यवसायीहरुलाई शसर्त अनुदान वापत ३२ हजार रुपैयाँँको दरले नगद अनुदान वितरण गरिएको युएस आईडी तयार नेपालका फिल्ड अधिकृत छबि सुनारले जानकारी दिए ।
कार्यक्रममा नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीले कोरोनाबाट प्रभावित व्यवसायीहरु अनुदान रकमले व्यवसायिक लाभ प्राप्त गरेकाले कार्यक्रम प्रभावकारी भएको उल्लेख गरे । कोरोनाका कारण वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुलाई स्वदेशमै स्वरोजगार बन्न चाहेमा स्वरोजगारका कार्यक्रमका निम्ति हातेमालो गर्न नगरपालिका तयार छ ।’ उनले भने ‘सुनवल नगरपालिकाका स्थानीय सकेसम्म रोजगारका लागि विदेश जान नपरोस्, यदि जानै परे पनि सिप सिकेर दक्ष कामदार भएर विदेश जाउन भन्ने नगरपालिकाको उद्देश्य छ ।’ उनले भने ‘उद्यमी बन्न चाहने नगरवासीलाई समुह बनाएर आउनुहुन्छ भने आवश्यक तालिम र सीप दिन नगरपालिका कटिबद्ध छ ।’
नगरपालिकाले कोभिड–१९ बाट प्रभावित गरिब, एकल असहाय, महिला, दलित र अपाङ्ग जस्ता पिछडिएका बर्गका व्यवसायीहरुलाई लक्षित गरी नगरका १३ वटै वडाबाट लाभग्राहीहरुको निवदेन माग गरी सोही अनुरुप छनोटमा परेका व्यवसायीहरुलाई अनुदान रकम वितरण गरिएको हो । यो कार्यक्रम नेपालका १२ वटा स्थानीय तहहरुमा मात्र संचालित छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij