
बिहिवार , श्रावण ११, २०८०
भैरहवा ११ साउन ।
रुपन्देहीमा ‘हरित रोजगारी’ सिर्जना गर्न कार्यशाला गोष्ठी सुरु भएको छ । विकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपालको आयोजना तथा कोटहीमाई गाउँपालिकाको सहयोगमा तीनदिन सञ्चालन हुने उक्त गोष्ठी बिहीबार (आज) देखि भैरहवामा सुरु भएको हो ।
समुदायस्तरमा उद्यमशीलता कार्यक्रमअन्तर्गत कोटहीमाईमा विभिन्न कार्यक्रममार्फत रोजगारी सिर्जना गर्न कार्यविधि निर्माण गर्न जनप्रतिनिधि, कर्मचारी, विभिन्न कृषकहरुको सहभागीतामा उक्त गोष्ठी सञ्चालन भएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा बोल्दै आयोजक संस्थाका प्रोग्राम अफिसर टंक बहादुर सुनारले कोटहीमाई गाउँपालिकाभित्र प्राकृतिक सम्पदा तथा संरचनालाई कुनै असर नहुने गरी हरित रोजगार सिर्जना गर्ने उद्देश्यले कार्यक्रम थालिएको बताए । कोटहीमाई गाउँपालिकाभित्र ३ वर्षसम्म सञ्चालन हुने उक्त कार्यक्रमबाट वृक्षारोपण, पशुपालन, कृषि, आवश्यक भौतिक संचारना निर्माणलगायतका कार्यहरु गर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले रोजगारी र विकासको नाममा पर्यावरणलाई विनास गर्ने कार्यलाई रोक्नुपर्ने बताए । यसप्रति हरेक निकाय समयमै गम्भीर भई पर्यावरणलाई जोगाउन, प्राकृतिक सम्पदालाई संरक्षण गर्न चासो राख्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष त्रिपाठीले बताए ।
उनले भने, ‘मान्छेले आफ्नो सुःखका लागि भन्दै विकासका नाममा प्राकृतिक संरचनालाई बिगारिरहेका छन् । विकास निर्माण, रोजगारी जस्तै प्राकृतिक सम्पदालाई पनि प्राथमिकतामा राखेर जोगाउनुपर्ने आवश्यकता रहेको छ ।’ बोटबिरुवा फडानी तथा अन्य प्राकृतिक संरचनालाई विनास गर्नुकै कारण विभिन्न रोगब्याधी लाग्ने गरेको उनले बताए ।
त्यस्तै कोटहीमाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले हरेक योजना निर्माण गर्दा प्राकृतिक सम्पदाको संरक्षण साथै वृक्षारोपणको स्टीमेट समेत बनाउनुपर्ने बताए । कार्यशाला गोेष्ठीमा उपलब्धीमूलक तथा प्राकृतिक हितमा कार्यविधि निर्माण गर्न सहभागीलाई आग्रह गरेका थिए ।
कर्ण बहादुर नेपालीले सहजीकरण गर्ने उक्त गोष्ठीमा कोटहीमाई गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्ष, विभिन्न शाखाका शाखा प्रमुख, कृषक लगायतको सहभागीता रहेको छ । गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सञ्चालन अवधेश बरईले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij