
शुक्रवार , श्रावण १९, २०८०
भैरहवा, १९ साउन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा अस्वभाविक रुपमा करको दायरा बढाएको भन्दै नगरबासी आक्रोशित बनेका छन् । नगरबासीले सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोख्नुका साथै शुक्रबार नगरपालिका कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका छन् ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर समिति, रुपन्देहीले पनि सिदार्थनगर नगरपालिका कार्यालय पुगेर नयाँ कायम भएको करको दर तत्काल हटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले नगरपालिकाले गरेको कर वृद्धि तत्काल खारेज गरी पुरानै कायम राख्न माग गरे ।
सिद्धार्थनगर नगरपालिकाले चालु आर्थिक वर्षमा करको दर बढाएको छ । नगरपालिकाले एसियाली विकास बैंकको ऋण तिर्नका लागि आन्तरिक आम्दानी आवश्यक रहेकाले करको दायरा बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौडेलले बताए ।
ज्ञापनपत्र बुझ्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले देखिएका समस्या छलफलको माध्यमबाट समाधान गर्ने बताए ।
ज्ञापनपत्र बुझाउन राप्रपा सिद्धार्थनगर समितिका कार्यवाहक अध्यक्ष कृष्ण अर्याल, रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव बलराम शर्मा, केन्द्रीय सदस्य वसन्त विक्रम शाही, स्वाती थापा, नेताहरु शिवहरि शर्मा, सिद्धार्थनगर सचिव प्रकाश ढाडीलगायत नेता तथा कार्यकर्ता सिद्धार्थनगर नगरपालिका कार्यालय पुगेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij