२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

एकीकृत सम्पत्ति करमा पुरानै दर कायम गर्न स्वतन्त्र नागरिक अभियान सिद्धार्थनगरको माग

आइतवार , श्रावण २१, २०८०

भैरहवा, २१ साउन ।
स्वतन्त्र नागरिक अभियान सिद्धार्थनगर, रुपन्देहीले बढाइएको एकीकृत सम्पत्ति करमा सुधार गरी पुरानै दर कायम गर्न सिद्धार्थनगर नगरपालिकासँग माग गरेको छ । आइतबार नगरप्रमुख (मेयर) इश्तियाक अहमद खानलाई ज्ञापनपत्र बुझाउँदै अभियानले जनताको भावनाअनुसार एकीकृत सम्पत्ति कर वृद्धि गर्ने निर्णय सच्याउन माग गरेको हो ।

अभियानका संयोजक नारायण प्रसाद भण्डारीले अस्वभाविक कर बढाइएकाले यसलाई घटाउनुपर्ने बताए । सिद्धार्थनगर नगरपालिकाले यसै आर्थिक वर्ष २०८०/०८१ साउनदेखि लागू हुने गरी नगरबासीहरुबाट लिदै आएको एकीकृत सम्पत्ति कर (तिरो) लाई अस्वभाविक रुपमा वृद्धि गरेको बताए । उनले भने, ‘जनसमुदायहरुबाट जानकारी पाएअनुसार ७ सयदेखि १ हजार २ सय प्रतिशतसम्म कर वृद्धि गरिएको देखिएको भन्ने जनगुनासोको आधारमा निर्णय सच्याउन नगरपालिकालाई अपील गर्दछौं ।’

कोभिड, आर्थिक मन्दीले थला परेको अवस्थामा जनताको मत लिएर जनताको काममा राहत हुने किसिमको योजना दिनुपर्नेमा एकाएक करको दरसमेत अस्वभाविक रुपले वृद्धि गरेर ‘जनतामारा नीति’ ल्याउनु राम्रो नभएको भण्डारीको भनाइ छ । कमसेकम जनभावनाको मर्मविपरीत यो कार्यजति निन्दा गर्दा पनि कम नै हुने वातावरण जनप्रतिनिधिहरुबाट हुन्छ भने गुहार माग्ने अर्को स्थान के होला ? भन्दै उनले प्रश्न गरे ।

यदी यो बढेको कर पुरानै गत आर्थिक वर्षको दरमा नलगी यही नै अघि बढाइ चरणबद्ध आन्दोलन गर्ने र नगरका सम्पूर्ण कर अवज्ञा गर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझेपछि नगरप्रमुख इश्तियाक अहमद खानले करसम्बन्धी माग छिटो भन्दा छिटो सम्बोधन गर्ने बताए । उनले सिद्धार्थनगर नगरपालिका जनतासँग सम्बन्धित कार्यालय भएकाले जनताको भावनाविपरीत जान नसक्ने बताए । उनले भने, ‘तपाईहरुको माग जायज छ । यो माग सम्बोधन गर्ने म आश्वासन दिन चाहन्छु ।’

त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले समस्या समाधानका लागि छलफलमा जुटेको बताए ।