२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सिद्धार्थनगर नगरपालिका पुगेर रास्वपाले भन्यो : बढाइएको एकीकृत सम्पत्ति कर फिर्ता गर

बिहिवार , श्रावण २५, २०८०

भैरहवा, २५ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धार्थनगर नगर समिति, रुपन्देहीले बढाइएको एकीकृत सम्पत्ति कर फिर्ता गर्न माग गर्दै बिहीबार ध्यानाकर्षण गराएको छ । १४ औं विशेष नगरसभा सुरु हुनअघि बिहीबार बिहान १० बजे सिद्धार्थनगर नगरपालिकाको कार्यालय पुगेर जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराइएको रास्वपा सिद्धार्थनगरका संयोजक सुमन न्यौपानेले बताए । उनले भने, ‘सिद्धार्थनगर नगरपालिकाले जनताको ढाड नै सेक्ने गरी कर बढाएकोमा आपत्ति जनाउँदै यसअघि नै ज्ञापनपत्र बुझाइसकेका छौं । एकीकृत सम्पत्ति कर वृद्धि गर्ने निर्णय सच्याउन माग गर्दै रास्वपाका नेता कार्यकर्ताहरु बिहान १० देखि ११ बजेसम्म (१ घण्टा) प्लेकार्ड बोकेर ध्यानाकर्षण गराएका हौं ।’

प्लेकार्डमा कर बढाउने होइन, करको दायरा बढाउनुपर्दछ, पुरानो सम्पत्ति कर कार्यान्वयन गर, अधुरा काम पूरा गर, विकासका नाममा हुने गुणस्तरहीन कामहरु बन्द गर, बढाइएको सम्पत्ति कर फिर्ता गर, कर तिरेअनुसारको सेवा सुविधा दिने गर, नगरपालिकाको जग्गा संरक्षण गर, कृषकहरुलाई मलको व्यवस्थापन गर, फोहोर व्यवस्थापन सधैका लागि समुचित व्यवस्थापन गर र करको नाममा जनतालाई लुट्न बन्द गरजस्ता नारा लेखिएका थिए ।