२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सिद्धार्थनगर नगरपालिकाको आर्थिक ऐन संशोधन

बिहिवार , श्रावण २५, २०८०

भैरहवा, २५ साउन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको १४ औं नगरसभाले नगरपालिकाको आर्थिक ऐन २०८० संशोधन विधेयक बहुमतले पारित गरेको छ ।

बिहीबार बसेको सभाले गत आर्थिक वर्ष २०७९/०८० को सम्पत्तिको मूल्यांकन यथावत राख्ने र गत आर्थिक वर्ष २०७९/०८० को सम्पत्तिकरको दरमा २० प्रतिशत वृद्धि गर्ने निर्णय पारित गरेको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ ।

नगरपालिकाको आर्थिक ऐन २०८० को दफा ४ को उपदफा ३ बमोजिम ‘सम्पत्ति कर निर्धारण प्रयोजनका लागि जग्गाको मूल्यांकन गर्दा मालपोत कार्यालय रुपन्देहीबाट रजिस्ट्रेशन प्रयोजनका लागि कायम गरिएको जग्गाको न्यूनतम मूल्यांकन अनुसार गरिनेछ’ भन्ने व्यवस्था भएकोमा बिहीबार बसेको सभाले उक्त दफामा रहेको वाक्यलाई हटाएर ‘सिद्धार्थनगर नगरपालिकाको आर्थिक ऐन, २०७९ बमोजिम आर्थिक वर्ष २०७९/०८० को लागि कायम भएको जग्गाको मूल्यांकनलाई आधार लिइनेछ’ वाक्य थप गरी ऐनमा संसोधन गरेको छ ।

त्यस्तै सभाले ‘मालपोत कार्यालयबाट निर्धारण हुने दरमा समान्जस्यता हुने गरी नगरसभाबाट पारित मूल्यांकनलाई आधार लिइनेछ’ भन्ने वाक्यलाई हटाएर ‘सिद्धार्थनगर नगरपालिकाको आर्थिक ऐन, २०७९ बमोजिम आर्थिक वर्ष २०७९/०८० को लागि कायम भएको जग्गाको मूल्यांकनलाई आधार लिइनेछ’ वाक्य थप गरी ऐनमा संसोधन गरेको छ ।

उदाहरणका लागि गत आर्थिक वर्ष २०७९/०८० मा ५० रुपैयाँ सम्पत्ति कर बुझाउँदै आएको नगरवासीले ऐन संशोधनपश्चात ६० रुपैयाँ कर बुझाउनुपर्ने हुन्छ ।

चालु आर्थिक वर्ष २०८०/०८१ को सम्पत्ति कर अत्याधिक भएको भन्दै नगरबासीहरुले गुनासो पोखेपछि विशेष नगरसभा आह्वान गरी आर्थिक ऐन संसोधन गरी सम्पत्तिकरको दर घटाइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले जानकारी दिए ।

नगरप्रमुख खानले नगरबासीहरुले अत्यधिक सम्पत्ति कर बढाउनु उचित नभएको र बढाउनैपर्ने भएमा पनि थोरै वृद्धि गर्नुपर्ने सुझाव अनुसार नगरबासीको हितमा विशेष नगरसभा आह्वान गरी अत्यधिक बढेको भन्ने सम्पत्ति कर घटाई गत आर्थिक वर्ष भन्दा सम्पत्ति कर २० प्रतिशतले मात्र सभाले वृद्धि गरेको बताए ।