
शनिवार , श्रावण १७, २०७७
बुटवल, १७ साउन ।
रगतको अभाव हुन नदिन बुटवलमा क्रियाशिल नियमित रक्तदाता संघ संग सैनामैना नगरपालिकाले सहकार्य गरी अगाडी बढने भएको छ ।
नियमित रक्तदाता संघसंगले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले रगतको अभाव हुन नदिनका लागि नगरपालिकाले अभियान चलाउने र आर्थिक सहयोग गर्न तयार रहेको बताए ।
मानिसको पुर्नजीवनका लागि रक्तदान महत्वपुर्ण कार्य भएकाले नगरपालिका संघसंग हातेमालो गरेर अगाडी बढन तयार रहेको नगरप्रमुख कार्कीले बताए । उनले नगरपालिका क्षेत्र भित्रका असहाय, जेष्ठ नागरिक र अशक्तलाई रगत चढाउन परेमा रक्त सञ्चार केन्द्रले लिने सेवा शुल्क नगरपालिकाले व्यर्होने गरी कार्ययोजना बनाएर नगरपालिका अगाडी बढने समेत बताए ।
नियमित रक्तदाता सरोज शिलवालको मृत्युपछि सुसुप्त अवस्थामा रहेको नियमित रक्तदाता संघ १३ वर्षपछि पुनः संचालनमा आएसंगै गत महिनादेखि हरेक महिनाको तेस्रो शनिबार नियमित रक्तदान गर्ने गरेको अध्यक्ष दया बहादुर सिलवालले बताए ।
संस्था पुर्नजीवित भएपछि आयोजित नियमित रक्तदानको दोस्रो महिनाको रक्तदान कार्यक्रममा शनिबार ८५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक दिपक अधिकारीले बताए ।
संस्थाका संह–संयोजक लेखनाथ भण्डारीले रगतको अभावमा कोही कसैले पनि ज्यान गुमाउन नपरोस् भनी संस्थाले हरेक महिना नियमित रुपमा रक्तदान गर्ने गरेको र रगतको अभाव भएमा आकस्मिक रुपमा रक्तदान गराएर अभावलाई समाधान गर्ने गरी कार्ययोजना बनाएको बताए ।
रक्तदान कार्यक्रममा रक्त संचार सेवा केन्द्रका निरन्जन राजभण्डारीको नेतृत्वको टोलीले प्राविधिक सहयोग गरेको सचिव महेश खनाल बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij