आइतवार , कार्तिक १५, २०८३
भैरहवा, १५ कार्तिक । रुपन्देही जिल्ला अदालत बार एशोसिएशनको शनिबार सम्पन्न निर्वाचनमा चोला बहादुर कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । बारको ५९ औं वार्षिक साधारणसभा एवं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेलले जानकारी दिनुभयो ।
अध्यक्ष पदमा चोला बहादुर कार्की र डण्डप्रसाद भट्टराईले उम्मेदवारी दिनुभएको थियो । कार्कीले ७६ मत प्राप्त गरी विजयी हुनुभएको छ । अध्यक्षका प्रत्यासी भट्टराईले ४२ मत प्राप्त गर्नुभयो । त्यसै गरी सचिव पदमा मेघनाथ खनाल ६८ मत प्राप्त गरी विजय हुनुभयो । उहाँका प्रत्यासी पंकज कुमार पाण्डेयले ४८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै उपाध्यक्षमा होमराज पन्त, कोषाध्यक्षमा साधना पाण्डेय, सह–सचिवमा पार्वती फूयाल, सदस्यमा कृष्णप्रसाद ढकाल, रामकुमार लोध, गोमा सापकोटा, अयोध्या प्रसाद भण्डारी, आशिषलाल कर्ण, भूपराज भण्डारी, विनय पाठक, खेम बहादुर पुन सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
रुपन्देही जिल्ला अदालत बारमा वरिष्ठ अधिवक्ता, अधिवक्ता र अभिवक्ताहरु समेत गरी १५२ जना सदस्य मतदाताहरुमध्ये १ सय १३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
यसपूर्व १० कार्यकालका कार्यसमितिहरु सर्वसम्मत रुपमा चयन हुँदै आएकोमा यसपटक अध्यक्ष र सचिव पदमा सहमति जुट्न नसकेपछि रुपन्देही बारमा २२ बर्षपछि मतदानद्वारा नयाँ नेतृत्व चयन भएको हो । साधारणसभा एवं अधिवेशन समेतको निर्वाचन कार्यक्रम भैरहवास्थित बारको तीनतल्ले अत्याधुनिक बार भवनमा आयोजना गरिएको थियो ।
रुपन्देही जिल्ला अदालतका न्यायधिश कोमल प्रसाद आचार्यले साधारणसभा एवं अधिवेशनको औपचारिक उदघाटन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा नेपाल बार एशोसिएशन केन्द्रिय समितिका पूर्व उपाध्यक्ष एवं रुपन्देही बारका संस्थापक गोपाल प्रसाद पाण्डे, रुपन्देही बार पूर्व अध्यक्ष एवं प्रमुख निर्वाचन अधिकृत शिव प्रसाद गौडेल, वरिष्ठ अधिवक्ता धर्मबहादुर खड्काले भनाइ राख्नुभएको थियो ।
बारका अध्यक्ष लयप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा सचिव केशव सिंह चौधरीबाट प्रस्तुत प्रतिवेदन र कोषाध्यक्ष माधवप्रसाद आचार्यले पेश गर्नुभएको आर्थिक प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij