
नेपाल–इजरायलबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर हुँदै
बिहिवार , माघ ८, २०७७
काठमाडौं, ८ माघ ।
नेपाली युवाहरुका लागि ईजरायलमा रोजगारीको अवसर खुल्ने भएको छ । नेपाल र इजरायलबीच गत असोजमा भएको इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता भएको थियो ।
सो सम्झौता कार्यान्वयनका लागि दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर हुने भएको छ । प्रोटोकलमा हस्ताक्षर भएसँगै इजरायलको विशिष्ट श्रम बजार नेपाली युवाका लागि खुला हुनेछ । जसअनुसार ५०० नेपाली युवा रोजगारीका लागि इजरायल जानेछन् । यसले केयरगिभर, कृषि, होटल तथा रेष्टुरेण्ट, निर्माण लगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर खुल्नेछ ।
प्रोटोकलमा नेपाल सरकारका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायल सरकारका तर्फबाट नेपालका लागि इजरायली राजदूत हनान गोदरले हस्ताक्षर गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
केही वर्षदेखि नेपाली कामदार लान बन्द गरेको इजरायलले पछिल्ला समय नेपाली श्रमिक लैजाने चाहना गरेको थियो। इजरायलले कृषि तथा केयर गिभरको क्षेत्रमा विदेशी कामदार लिँदै आएको छ । इजरायलमा केयर गिभरको संख्या बढी छ र नेपालीहरू पनि धेरै जसो केयर गिभरका रूपमै नै त्यहाँ जाने गरेको छन् ।
गत असोज १४ गते नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’मा हस्ताक्षर भएको थियो । सम्झौतामा नेपालका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्य र इजरालयका तर्फबाट त्यहाँका परराष्ट्रमन्त्री गावी अस्खेनाजीले हस्ताक्षर गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij