२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

बुटवल उपमहानगरपालिकाद्वारा निजी तथा संस्थागत विद्यालयको शुल्क निर्धारण

मंगलवार , श्रावण ३०, २०८०

बुटवल, ३० साउन ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले निजी तथा संस्थागत विद्यालयले लिने शुल्क निर्धारण गरेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले निजी विद्यालयहरूले अभिभावकहरूबाट लिने मासिक शुल्क, भर्ना, प्रयोगशाला र बसको नयाँ भाडादर निर्धारण गरेको हो ।

त्यसलाई सोमबार राजपत्रमा प्रकाशित गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । बुटवल उपमहानगरपालिकाको नेतृत्वमा अभिभावक, निजी विद्यालयका छाता संगठनका संस्थाहरूसँग छलफल गरेर नयाँ शुल्क निर्धारण गरिएको पन्थीले जानकारी दिए ।

नयाँ मापदण्डअनुसार चालु शैक्षिक सत्रमा ‘ग’ श्रेणीमा रहेको निजी विद्यालयले पूर्वप्राथमिक तहका लागि मासिक शुल्क २ हजार, ‘ख’ ले २ हजार ४ सय र ‘क’ ले बढीमा २ हजार ७ सय ५० रुपैयाँ मात्र मासिक शुल्क लिन पाउनेछन् ।

त्यस्तै प्राथमिक तहमा कक्षा १ देखि ५ सम्म ‘ग’ वर्गका विद्यालयले २ हजार २ सय, ‘ख’ ले २ हजार ६ सय र ‘क’ वर्गको विद्यालयले ३ हजार रुपैयाँसम्म शुल्क लिन पाउने मापदण्ड उपमहानगरपालिकाले बनाएको छ ।
त्यसै गरी निमावि तहमा कक्षा ६ देखि ८ सम्म ‘ग’ वर्गका विद्यालयले २ हजार ६ सय, ‘ख’ वर्गले ३ हजार र ‘क’ ले ३ हजार ३ सय मासिक शुल्क लिन पाउनेछन् ।

त्यस्तै माध्यमिक विद्यालयका लागि ग, ख र क वर्गका लागि क्रमशः ३ हजार २ सय, ३ हजार ६ सय र ४२ सय शुल्क निर्धारण गरिएको छ भने कक्षा ११ र १२ को लागि ग, ख र क वर्गका लागि क्रमशः ३ हजार ५ सय, ४ हजार १ सय र ४७ सय शुल्क निर्धारण गरेको छ ।

त्यसै गरी मावि ११ र १२ मा विज्ञान विषयका लागि मासिक शुल्क बढीमा ४ हजार ७ सय, ५ हजार ५२ सय लिन पाउनेछन् । त्यस्तै व्यवस्थापनतर्फ, क्रमशः ४ हजार ३ सय, ४ हजार ७ सय र ५ हजार शुल्क निर्धारण गरेको छ ।