
बिहिवार , माघ ८, २०७७
बुटवल, ८ माघ ।
ईट्टा व्यवसायीले कांचो ईट्टामा बिमाको व्यवस्था गर्न सरकारसंग माग गरेका छन् । बिमा नहुँदा ईट्टा उद्योगहरु थप संकटमा परेकाले ईट्टा व्यवसायीले कांचो ईट्टाको बिमाको व्यवस्था मिलाई दिन सरकारसंग माग गरेका हुन् ।
सबै क्षेत्र र व्यवसायमा बिमा हुने तर कांचो ईट्टामा बिमा नभएकाले लगानी असुरक्षित बनेको व्यवसायीको गुनासो छ ।
लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीको बुधबार सियारीमा सम्पन्न २२ औं वार्षिक साधारणसभामा बोल्ने व्यवसायीले ईट्टा व्यवसायीलाई हेर्ने राज्यको दृष्टिकोणमा परिवर्तन आउन नसकेको बताएका छन् । नीजि क्षेत्रको लगानीबाट ईट्टामा देशलाई आत्मनिर्भर बनाउन सफल ईट्टा व्यवसायीले बैंक तथा वित्तीय संस्थाहरुबाट सहज रुपमा ऋण लिन पनि समस्या भोग्नुपरेको उनीहरुको भनाइ छ ।
कांचो ईट्टामा बिमाको व्यवस्था नहुनु र राज्यको स्पष्ट नीति नियमको अभावका कारण व्यवसाय संकटमा देखेपछि बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्न आनाकानी गर्ने गरेको व्यवसायीको भनाइ छ ।
सोही कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल ईट्टा उद्योग व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ सल्लाहकार तथा लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीका संस्थापक अध्यक्ष रतन कुमार गुप्ताले राज्यको नीति स्पष्ट नहुँदा ईट्टा उद्योग र व्यवसायीको लगानी जोखिममा रहेको बताए । ईट्टा उद्योग व्यवसाय निकै जोखिमपूर्ण प्रकृतिको व्यवसाय भए पनि ईट्टाबाट देशलाई आत्मनिर्भर बनाएर अर्थतन्त्रमा टेवा पुर्याउँदा पनि राज्यले व्यवसायीका समस्या बुझ्न नसकेको उनले बताए ।
नेपाल ईट्टा उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष सफरअली मियाले लकडाउन र बेमौसमी वर्षाका कारण कांचो ईट्टा नोक्सान हुँदा नीजि क्षेत्रका व्यवसायीको करौडौको लगानी डुबेको बताए । उनले कांचो ईट्टामा सरकारले बिमाको व्यवस्था नगर्दासम्म ईट्टा व्यवसायी जोखिमबाट उन्मुक्ति पाउन नसक्ने उनले बताए ।
लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देही अध्यक्ष थानेश्वर घिमिरेले प्रकृतिको जोखिम, कामदारको अभाव, मंहगो व्याजको ऋण र राज्यको असहयोगका कारण ईट्टा व्यवसायी समस्यामा परेको बताए ।
कार्यक्रममा रुपन्देही उद्योग संघका उपाध्यक्ष दिलिप सापकोटा, लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देही सचिव रमेश खनाल, ईट्टा व्यवसायी लुम्बिनी प्रदेशका सल्लाहकार टंकनाथ अधिकारी लगायतले बोल्दै लकडाउन, प्रकृतिको प्रकोप, महंगो कच्चा पदार्थ र कामदारको अभावले व्यवसाय जोखिममा रहेकाले यसप्रति गम्भिर बन्न सरकारसंग माग गरे।
लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेको अध्यक्षता र तथा महासचिव अजय कुमार गुप्ताको सञ्चालनमा कार्यक्रम भएको हो ।
पत्रकार ढुंगाना सम्मानित
यसैबीच संघले साधारणसभा समारोहमा पत्रकार माधव ढुंगानालाई सम्मान गरेका छन् । पत्रकारिताको क्षेत्रमा निरन्तर समर्पित भइ विगत २६ वर्षदेखि योगदान पुर्याएको भन्दै कान्तिपुर पब्लिकेशनका उप–सम्पादक ढुंगानालाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको संघका रुपन्देही महासचिव अजय कुमार गुप्ताले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij