२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

मर्चवारीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बुधवार , श्रावण ३१, २०८०

भैरहवा, ३१ साउन । 
रूपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित ७ जनाले भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गाउँपालिकाको विभिन्न विकास निर्माणको काममा तथा तालिम कार्यक्रमहरुमा कमिशन लिएको आरोपसहित मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

आयोगले बुधबार जारी गरेको विज्ञप्तीमा मर्चवारीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्याल, उनका छोरा पवन कुमार अर्याल, वडा नम्बर ३ का तत्कालीन वडाअध्यक्ष नारायण बहादुर यादव, वडा नम्बर ५ र ६ का वडा सचिव गुलाब यादव, सम्वृद्ध नेपाल ईनर्जीका प्रोपाईटर बिनोद बाबु तिवारी, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजन र मानसरोवर टेक्निकल ट्रेनिङ्ग इन्ष्टिच्युटका प्रोपाइटर अमरिश यादवमाथि मुद्दा दायर गरिएको छ ।

गाउँपालिकामा अवैध कमिशन जम्मा गराउनका लागि अर्कै व्यक्तिको नाममा बैंक खाता खोलिएको र सोही खातामा विकास निर्माणका योजना र कार्यक्रमबाट लाखौं रकम भ्रष्टाचार गरी कमिसनको रुपमा जम्मा गराइएको आरोप छ ।

यस विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा लेखिएको उजुरी राष्ट्रिय सतर्कता केन्द्रबाट छानबीन गरी विस्तृत अध्ययन गर्न आयोगमा फाइल पठाइएको र अख्तियारले अनुसन्धान गर्दा आर्थिक वर्ष २०७७÷०७८ मा वडा नम्बर ३ मा गरिएका विकास निर्माणका कामहरु, मर्चवारी गाउँपालिकामा सौर्य उर्जा प्रविधि जडान कार्य, वडा नम्बर ६ मा र वडा नम्बर ७ का वडाहरूमा गरिएका विकास निर्माणका कामहरु, पालिकाबाट सामाजिक विकासतर्फको सीपमूलक तालिमहरू सिलाईकटाई तालिम कार्यक्रमहरु भएको जनाइएको छ ।

सोही योजना एवं कार्यक्रमहरुको वर्षको अन्यत्यमा सरकारी रकम भुक्तानी दिँदा प्रमुख प्रशासकीय अधिकृत अर्यालले गाउँपालिकासँग सरोकार राखेर आर्थिक कारोबार गरेका समूहबाट घुस लिएको पुष्टि भएको प्रवक्ता दाहालले बताए । उनकाअनुसार प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले १३ लाख ४५ हजार रुपैयाँ घुस लिएको अख्तियारले पुष्टि गरेको छ ।

अख्तियारले अर्यालबाट घुस लिएको १३ लाख ४५ हजार रुपैयाँ जफत, त्यसअनुसारको जरिवाना र कैद सजायको मागदावी लिएको छ । उनका छोरा पवनकुमारसँग पनि सोही बिगो बमोजिमको सजाय मागदावी गरेको छ ।
वडा सचिव गुलाबसँग २ लाख रुपैयाँ बिगो बमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ । तत्कालीन वडाअध्यक्ष नारायणबहादुरसँग ५ लाख बिगो कायम गरेको छ ।

त्यसै गरी प्रोपाइटर विनोद बाबु तिवारीविरुद्ध ८५ हजार, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजनविरुद्ध ३ लाख ६० हजार र प्रोपाइटर अमरिश यादवविरुद्ध २ लाख विगो मागदावी गरेको छ । आरोपितहरुमध्ये प्रमुख प्रशासकीय अधिकृत  अर्याल अवकाश पाइसकेका छन् भने तत्कालीन कार्यपालिका सदस्य राजेश हरिजनको मृत्यु भइसकेको छ ।