२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

असंवैधानिक र स्वेच्छाचारी ढंगले घोषणा भएको निर्वाचन स्वीकार्य छैन : गगन थापा

बिहिवार , माघ ८, २०७७

बुटवल, ८ माघ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले असंवैधानिक र स्वेच्छाचारी ढंगले घोषणा भएको संसद बिघटन र निर्वाचन कांग्रेसलाई स्वीकार्य नभएको बताएका छन् । नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री केपी ओलीले संविधान च्यात्दै संसद विघटन गरेर नेपाली जनताको विश्वासमाथि घात गरेको आरोप लगाए । 

नेता थापाले भने–‘निर्वाचनका लागि हामी जुनसुकै बेला तयार छौं तर ओलीको कदम असंवैधानिक हो, जुनसुकै हालतमा सच्चिनुपर्छ, संसद पुनःस्थापना हुनुपर्छ र संवैधानिक पद्धति अनुरुप निर्वाचन हुनुपर्छ । 

संसदीय पद्धति, संघीय लोकतन्त्र, संविधानको रक्षा गर्न नेपाली कांग्रेस सदैव तयार रहेको उल्लेख गर्दै नेता थापाले संवैधानिक तरिकाले केपी ओली र विद्यादेवी भण्डारीलाई घर पठाएर देश, सरकार र संसद सम्हाल्न कांग्रेस तयार रहेको प्रष्ट पारे ।

नेकपा एकताको नाममा सत्ता प्राप्तिको लागि मात्र सपना देखाएर स्वार्थपूर्ण ढंगले गरिएको अपवित्र गठबन्धनका कारण आज मुलुक अन्यौलताको भुमरीमा परेको कुरामा जोड दिँदै नेता थापाले आलु र काउलीको बिउ फ्युजन गरेर दुवै तरकारी एकै बोटमा फलाउन खोज्दा आज रुदै हिड्नुपर्ने अवस्था आएको टिप्पणी गरेका छन् । थापाले भने ‘आलु काउली पार्टी बनाउदा आज यो परिणाम आयो, देश र जनताले दुःख पाउनुपर्यो । 

मुलुक र जनताको साझा अभिभावक बन्नुपर्ने राष्ट्रपति र प्रधानमन्त्री जस्तो संस्था एउटा गुटको सदस्य बनेकाले नेपालको राजनीतिमा अप्रत्यासित र कल्पना नगरेको परिस्थिति सिर्जना भएकोले अव कस्तो व्यक्तिलाई मुलुकको सर्वोच्च संस्थाको प्रमुख बनाउने भन्नेबारेमा नेपाली जनताले गम्भिर भएर सोंच्नुपर्ने बेला आएको उनको भनाइ थियो ।

उनले भने-नेकपाका नेताहरु छलछाम, धोखाघडी, ललिपप, रेल, पानी जहाज र गुटको राजनीतिको वरिपरी रमाएर बसेकाले आज यो दुर्गती आफैले भोग्नुपरेको हो ।

प्रम ओलीले असंवैधानिक ढंगले नेपाली जनतालाई धोका दिने उद्देश्यले गरेको संसद विघटन पुनःस्थापना भएरै छाड्ने आशा र भरोसा व्यक्त गर्दै नेता थापाले अदालतले फैसला गर्दा न्यायपूर्ण ढंगले गर्ने विश्वास समेत व्यक्त गरेका छन् । उनले भने-सम्मानित न्यायमुर्तिहरु कसैको प्रभावमा नपरी संवैधानिक धारा उपधाराको व्याख्या गरेर कसैप्रति आग्रह पूर्वाग्रह नराखेर निर्णय गर्नुस् ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेको थापाले अगाडी भने—नेकपाका दुवै समुहका नेताहरुलाई यो प्रश्न गर्नुस् तपाईहरुलाई जनताले दुईतिहाईको सरकार बनाउन अभिमत प्रदान गरेका हुन् । हठात संसद् बिघटन गरेर फेरी दुईतिहाईका लागि भन्दै निर्वाचनमा जाने अवस्था कसरी आयो र हामी यहाँ छौं भन्दै सडकमा रोइलो गर्ने परिस्थिति कसरी सिर्जना भयो, यसको प्रमुख दोषी को हो र उसले के सजाय पाउनु पर्छ ?