
बिहिवार , माघ ८, २०७७
बुटवल, ८ माघ ।
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा करिब २३ प्रतिशत मात्र बजेट खर्च भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७७/०७८ को पुस मसान्तसम्म करिब १९ प्रतिशत मात्र पुँजीगत खर्च गर्न सफल भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार यसवर्ष साउनदेखि पुस मसान्तसम्म प्रदेश सरकारको पुँजीगत खर्चतर्फ अर्थात विकास खर्च १८ दशमलव ९७ प्रतिशत मात्र रहेको छ ।
कार्यालयका अनुसार चालु खर्चतर्फ भने यस आर्थिक वर्षको पहिलो ६ महिनामा प्रदेश सरकारले करिब २७ प्रतिशत खर्च गर्न सफल भएको छ । प्रदेश सरकारको प्रशासनिक एवं व्यवस्थापकीय संचालन खर्च पुस मसान्तसम्म कुल २६ दशमलव ८५ प्रतिशत रहेको कार्यालयका प्रमुख दीपक ज्ञवालीले बताए ।
प्रमुख ज्ञवालीका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को पहिलो ६ महिनामा प्रदेश सरकारको कुल खर्च १९ दशमलव १६ प्रतिशत मात्र थियो । समिक्षा अवधीमा प्रदेश सरकार सञ्चालन खर्चतर्फ २२ दशमलव ७६ प्रतिशत र विकास खर्चतर्फ १६ दशमलव ४० प्रतिशत मात्र खर्च गरिएको थियो ।
यस्तै चालु आवमा मन्त्रालयगत खर्चमा सबैभन्दा बढी भौतिक पूर्वाधार बिवास मन्त्रालयले चालुतर्फ झण्डै ४० प्रतिशत र विकासतर्फ करिब २१ दशमलव ३६ प्रतिशत मात्र खर्च गरेको छ भने सबैभन्दा कम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कुल ८ दशमलव ३८ प्रतिशत खर्च गरेको छ ।
आर्थिक वर्षको पहिलो ६ महिना बजेट तर्जुमा गर्ने, योजना बनाउने, बजेट कार्यान्वयनका प्रक्रिया र पद्धतिउपर कार्य गरिने भएकोले बजेट खर्चको आकार कम देखिएको दावी गर्दै प्रमुख ज्ञवालीले विकास खर्चले गति लिने समय अबको अवधि भएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij