
बिहिवार , भाद्र ७, २०८०
भैरहवा, ७ भदौ ।
लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्यार लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनी बनाउने सामूहिक संकल्पका साथ काम गर्न निर्देशन दिएका छन् । नवनियुक्त उपाध्यक्षले बिहीबार कार्यालयका कर्मचारीहरुसँग परिचय तथा भेटघाट कार्यक्रममा बुद्ध जन्मस्थल लुम्बिनी निर्माण गर्ने संकल्पका साथ काममा खटिन कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।
उपाध्यक्ष लामाले विश्वका २ अर्ब बौद्धमार्गीहरुको आस्थाको केन्द्र लुम्बिनी भएकाले यो पवित्रस्थलको प्रचारप्रसारसँगै कार्यालयको कार्यसम्पादन पनि चुस्त राख्नुपर्नेमा जोड दिए । उनले कर्मचारीहरुको पेशागत सुरक्षाका लागि आफूहरु लागिपर्ने बताउँदै संस्थाको काममा लापरवाही गरे कारवाही गर्ने बताए । नेपालको संविधानअनुसार बनेको ऐन, नियमावली, बिनियम, कार्यविधि, निर्देशिका र मापदण्डअनुसार संस्थाको काम अघि बढाउने बताउँदै पदाधिकारी र कर्मचारीबीचको एकताबाट लुम्बिनीलाई अगाडि बढाउने बताए ।
उपाध्यक्ष लामाले कोषमा यसअघि भएका गरेका कामका आधारमा बनेको दृष्टिकोण परिवर्तन गर्ने गरी काम गर्न आफू आएकाले सहयोग गर्न कर्मचारीहरुसँग आग्रह गरे । जसको जे काम हो, त्यो गर्नुपर्ने बताउँदै जिम्मेवारी अनुसार काम नहुने कर्मचारीहरुको मूल्यांकन हुने उनले बताए । संस्थागत सुशासन कायम गर्दै आर्थिक पारदर्शीता कायम गर्दै बाँकी रहेको गुरुयोजनाको कामलाई अघि बढाउने उपाध्यक्ष लामाले बताए ।
परिचयात्मक तथाल भेटघाट कार्यक्रममा कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राई लगायतले बोल्दै विभिन्न विषयहरुका बारेमा जानकारी दिए ।
उक्त अवसरमा उपाध्यक्ष समक्ष कर्मचारीहरुले कोषको वर्तमान अवस्था र कोषका विविध विषयमा सुझावहरु पेश गरेका थिए । लामालाई साउन १६ गते बसेको मन्त्रिपरिषदले कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो । उनले साउन २५ गते पदभार ग्रहण गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij