२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लुम्बिनीको विकासका लागि हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड

सोमवार , भाद्र ११, २०८०

भैरहवा, ११ भदौ ।
लुम्बिनी विकास कोषका पदाधिकारी र यस क्षेत्रका उद्योगी–व्यवसायीहरुले लुम्बिनीको विकासका लागि हातेमालो गर्दै अघि बढ्नुपर्ने जोड दिएका छन् । उनीहरुले लुम्बिनीको विकासमा सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए । 

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आइतबार लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामासँग भैरहवामा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा सहभागीहरुले लुम्बिनीको विकास बिना समग्र विकास हुन नसक्ने भएकाले सबै एकजुट भइ अगाडि बढ्नुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामाले आफूले लुम्बिनी गुरुयोजनालाई मुख्य प्राथमिकतामा राखेको बताए । उनले लुम्बिनीको विकासमा सबैको सहकार्य हुनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘लुम्बिनी विकास कोषमा सबैको सहभागिता बनाउन विभिन्न उपसमिति बनाएर काम गर्न सुरु गरिसकेका छौं । पर्यटक बसाउन बौद्ध सर्किटका क्षेत्रको विकास पर्याप्त नहुँदा समस्या भएको जनाउँदै अब यी क्षेत्रको विकास गरेर अघि बढ्छौं ।’

मायादेवी मन्दिरको रिडिजाइन गरी ‘मोर्डन टेक्नोलोजी’ अनुसार बनाउनुपर्ने  र यसतर्फ आफू लाग्ने बताए । आफ्नो कार्यकालमा लुम्बिनीमा केही गरेर देखाउनु छ भन्दै उपाध्यक्ष डा. लामाले यसका लागि सबैको सल्लाह, सहयोग र सहकार्यको आफूले अपेक्षा गरेको बताए ।

आफ्नो जीवन नै बुद्ध जीवनी र बुद्ध दर्शनमा समर्पित भएकाले केही गरौं भन्ने उद्देश्यसहित लुम्बिनी आएको उनको भनाइ छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले स्थानीयबासीको साथ र सहयोग लिएर अघि बढे लुम्बिनीको विकासमा थप टेवा पुग्ने उनले बताए । उनले भने, ‘विकास कोषले गर्ने कार्यले स्थानीय लाभान्वित हुनपर्छ ।’ लुम्बिनी गुरुयोजनाले छिट्टै मूर्त रुप पाउनुपर्ने उनको भनाइ छ ।

संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले उपाध्यक्ष डा. लामाको कार्यकालमा लुम्बिनी साँच्चिकै विकसित हुने विश्वास व्यक्त गरे । 

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले कोषका उपाध्यक्ष डा. लामाको कार्यकालमा केही भयो भन्ने अनुभुति हुने विश्वास व्यक्त गरे । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

संघका महासचिव कृष्ण प्रसाद घिमिरे, पूर्वअध्यक्षहरु रामकुमार शर्मा, कुल प्रसाद न्यौपाने, कार्यसमिति सदस्यहरु कैलाश गुप्ता, यमकला न्यौपाने, धर्मराज आचार्यलगायतले बोल्दै विकास कोषमा स्थानीयबासीको सहभागिता हुनुपर्ने, लुम्बिनीमा पर्यटकको बसाइ लम्ब्याउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।