२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

सेजमा स्थापित उद्योगलाई थप छुट सुविधा दिनुपर्छ : मन्त्री रिजाल

शनिवार , भाद्र १६, २०८०

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, १६ भदौ ।
    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सरकारले स्वदेशमा उत्पादित वस्तुलाई विदेश निर्यातका लागि उद्योगीलाई आवश्यक सहयोग गर्ने बताएका छन् । उनले उद्योगी व्यवसायीलाई सहयोग गर्दै अवसर दिएर उत्पादन वृद्धि गरी निर्यातलाई प्रोत्साहन गर्नुपर्ने बताए। मन्त्री रिजालले उद्योगीलाई सहयोग गरेमात्रै मुलुक अगाडि बढी समृद्धितिर जाने उल्लेख गरे । 

    शनिबार रुपन्देहीको रोहिणी गाउँपालिका–१ स्थित विशेष आर्थिक क्षेत्र (सेज) को निरीक्षणपछि बोल्दै मन्त्री रिजालले सेजमा स्थापित र अब स्थापना हुने उद्योगलाई सरकारले थप सुविधा दिन तयार रहेको बताए । 

    ‘अहिले ट्रेड ब्यालेन्स गडबड भएको छ । यसका लागि पनि निर्यातजन्य उद्योगलाई सरकारले संरक्षण गर्नुपर्छ, हामीले गर्छौ । उनले भने, ‘त्यसका लागि सरकारले के सहयोग गर्न सक्छ, त्यो गर्छ । ’

    मन्त्री रिजालले अहिले दिइएको छुट सुविधामा थप छुट दिएर भए पनि सेजमा स्थापित उद्योगलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उनले अहिले विशेष आर्थिक क्षेत्र प्राधिकरणले लिइरहेको प्लट भाडा अझै सस्तो गराउनुपर्ने धारणा राखे ।

    सेजमा सुरुमा उद्योगीबाट प्रतिवर्गमिटर प्रतिमहिना १५० रुपैयाँ भाडा लिइन्थ्यो । यसलाई घटाएर अहिले २० रुपैयाँ कायम गरिएको छ । उद्योगीले अझै पनि भाडा महंगो भएको जनाएपछि अहिले घटाएर १० रुपैयाँ कायम गर्ने प्रस्ताव गरिएको छ । मन्त्री रिजालले यसलाई पनि घटाएर ८ रुपैयाँ बनाउनुपर्ने बताए । 

    उनले उद्योगीलाई सहुलियत दिने कुरामा आवश्यक ऐन, कानूनमा के–के संशोधन गर्नुपर्छ, सरकारले गर्ने बताए । उद्योगीले विद्युत, बीमा, भन्सारमा झन्झट र बैंकले कजौ उपलब्ध नगराएको लगायतका समस्या रहेको गुनासो गरेका थिए । 

    शक्ति मिनरल्स प्रा.लि.का प्रबन्ध निर्देशक दीपक कुमार झाले चर्को भाडा, भन्सारमा झण्झटिलो प्रक्रिया, विद्युतलगायत समस्या रहेको बताए ।

    विशेष आर्थिक क्षेत्र (सेज) का कार्यकारी निर्देशक चण्डिका भट्टले केही कानूनी समस्या रहेको बताउँदै ती समस्या समाधान गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

    रोहिणी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष आविद अली पठानले सेजले गाउँपालिकासँग सहकार्य गर्नुपर्ने बताए । उनले सेजमा सञ्चालित उद्योगमा स्थानीयबासीलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने माग गरे ।