२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

नेकपा रुपन्देहीले बनायो अधिवेशन आयोजक कमिटी

आइतवार , माघ ११, २०७७

बुटवल, ११ माघ ।
केपी ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले ४९९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी बनाएको छ । नेकपा जिल्ला कमिटी रुपन्देहीको आइतबार पुष्पलाल स्मृति भवन बुटवलमा बसेको चौथो पूर्ण बैठकले अधिवेशन आयोजक कमिटी निर्माण गरेको हो । 

बैठकले माघ महिनाभरीमा जिल्ला, क्षेत्र, पालिका र वडा तहसम्मका कमिटी गठन पुनर्गठन विस्तार गर्ने तथा फागुनमा जिल्ला, क्षेत्र र पालिकास्तरमा सभाहरु गर्ने निर्णय गरेको छ । बैठकले निर्वाचन आयोगले माघ १५ गते प्रकाशन गर्ने मतदाता नामावली हेरी १६, १७ र १८ मा नाम सच्याउन सम्पूर्ण पार्टी कमिटीहरुलाई ध्यान पुर्याउन आग्रह गरेको छ ।

बैठकलाई संबोधन गर्दै पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज लिला गिरीले पार्टीमा देखिएको बिग्रह र तटस्थतालाई चिर्दै सम्पूर्ण शक्तिका साथ कार्यकर्ता र जनतामा जान नेतृत्वमा रहेका कार्यकर्तालाई आग्रह गरे । उनले देशलाई बिखण्डनबाट बचाउन, विकास र समृद्धिको यात्रालाई निरन्तरता दिन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले ताजा जनमतको लागि निर्वाचनमा जाने निर्णय गर्नु बाध्यात्मक कदम भएको बताए ।

अर्का केन्द्रीय सदस्य एवं सह–इञ्चार्ज दधिराम न्यौपानेले बैठकले गरेका निर्णयहरु दृढतापुर्वक कार्यान्वयनका लागि लाग्न निर्देशन दिंदै गाली गलौजमा होइन, आदरभावका साथ सैद्धान्तिक रुपमा जुध्ने कामको नेतृत्व गर्न आह्वान गरे ।
पार्टी जिल्ला कमिटी अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य एकराज विश्वकर्मा, पूर्व केन्द्रीय सल्लाहकार नेत्र पन्थी, जिल्ला कमिटीका प्रेम गुरुङ लगायतले बोलेका थिए ।