
आइतवार , माघ ११, २०७७
तिलोत्तमा, ११ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटी अन्तर्गत वडा नम्बर १–४ शाखा कमिटीको संयुक्त भेला आइतबार सम्पन्न भएको छ । नेकपा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंको अध्यक्षतामा सम्पन्न भेलाले यही माघ १३ गते बुटवलमा आयोजना हुने युवा भेलामा सक्रिय सहभागिता जनाउने निर्णय गर्दै शाखा कमिटीहरुबाट उल्लेख्य सहभागिता गराउने निर्णय गरेको छ ।
त्यस्तै यही माघ १४ गते अर्थमन्त्री एवं पार्टीका महासचिव विष्णु पौडेलले मगरघाटमा निर्माण गरिएको पक्की पुलको उद्घाटन गर्ने कार्यक्रमलाई भव्यताका साथ सफल बनाउने निर्णय गर्दै भेलाले निर्वाचन आयोगले यही माघ १५ गते मतदाता नामावली प्रकाशन गरी १६, १७ र १८ गते दावी विरोधको समय निर्धारण गरेकाले यसका लागि सबैलाई सहभागिता जनाउन आह्वान गरेको छ ।
भेलालाई सम्बोधन गर्दै नगर कमिटी अध्यक्ष चापागाईंले पार्टीमा देखिएको मतभेद विचारको नभइ पद र स्वार्थका लागि भएको भन्दै सही विचार र नेतृत्वले मात्रै पार्टीलाई गति प्रदान गर्ने बताए । उनले केन्द्रीय कमिटीले पार्टीका सबै कमिटी पुनर्गठन गर्न निर्देशन दिएकाले अव हरेक कमिटीलाई पुनर्गठन गरी प्रभावकारी ढंगले सांगठनिक कामलाई अगाडि बढाइने बताए ।
भेलामा नेकपा रुपन्देहीका सल्लाहकार केशवराज न्यौपाने, तिलोत्तमा नगर कमिटीका मिनप्रसाद पोखरेल, तिलोत्तमा वडा नम्बर १ का वडाध्यक्ष तामनाथ पाण्डे, २ का अध्यक्ष दधिराम गौतम, ३ का अध्यक्ष टंक तिवारी, शाखा कमिटी १ का अध्यक्ष गोविन्द अर्याल, २ नम्बर शाखा कमिटी सचिव भुवन आचार्य, वडा नम्बर ३ का शाखा कमिटी अध्यक्ष अच्यूतराज पन्थी, ४ का अध्यक्ष जितेन्द्र जिसी लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij