२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लुम्बिनी गुरुयोजना पूरा गर्न भनेर आएको छु : उपाध्यक्ष डा.लामा

बिहिवार , भाद्र २१, २०८०

भैरहवा, २१ भदौ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजना पूरा गर्न भनेर नै आफू यहाँ आएको बताएका छन् । उनले केही काम गरेर देखाउन आफूले जिम्मेवारी लिएर आएको बताए ।

बिहीबार लुम्बिनी विकास कोषले लुम्बिनीमा आयोजना गरेको पत्रकारहरुसँगको परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष लामाले लुम्बिनी गुरुयोजना समयअनुसार परिमार्जन हुनुपर्ने तर सम्बन्धीत क्षेत्र र निकायसँग समन्वय गर्नुपर्ने र परामर्श लिनुपर्ने बताए । उनले भने, ‘लुम्बिनीमा ३०० फिट अग्लो बुद्ध मूर्ति बनाउन पाए के हुन्छ ? तर, त्यो गुरुयोजनाभित्र पर्दैन ।’ उनले लुम्बिनीस्थित मायादेवी मन्दिर नयाँ डिजाइनमा आकर्षक बनाउनुपर्नेमा जोड दिए । 
उनले मायादेवी मन्दिर पुनःनिर्माणका लागि व्यक्तिगत रुपमा ७ करोड रुपैयाँ प्रदान गर्ने घोषणा गरिसकेको हुँदा उक्त रकम छिटै उपलब्ध गराउने बताए ।

IMG_7519.JPG

‘अब ६/७ अर्बको रकम जुटाएर गुरूयोजना सकाउनु छ, अहिले देशको बजेटमा पनि समस्या छ । उनले भने, ‘म बुद्ध धर्मको विश्व समुदायसँगै जोडिएको छु, केही समयमा त्यो फोरममा म जानेछु र स्रोत जुटाउने छु । ’

उपाध्यक्ष डा. लामाले लुम्बिनीको अपेक्षित रुपमा प्रचारप्रसार हुन नसकेको बताए । उनले भने, ‘विश्वमा डेढ अर्ब बौद्ध धर्र्मावलम्बीहरु छन्, त्यसको केही प्रतिशत मात्र पनि लुम्बिनीमा ल्याउन सकिए त्यसले नेपालको विकासमा टेवा पुर्याउँछ । ’ लुम्बिनीमा पर्यटकको बसाइ लम्ब्याउने गरी योजना कार्यान्वयन गर्ने उनले बताए ।

लुम्बिनीका गुम्बा बिहारमा सञ्चालित गेष्ट हाउस दर्ता हुनुपर्ने र कर तिर्नुपर्ने बताए । उनले कानूनी दायरामा सञ्चालन हुने कुरा रोक्न नसकिने बताए । उनले आफू पवित्र भूमि बुद्ध जन्मस्थल लुम्बिनीमा आएकाले परिणाम आउने गरी काम गर्ने र कामको गतिलाई अझ बढाउने बताए ।

उपाध्यक्ष डा. लामाले रूपन्देही, कपिलवस्तु र नवलपरासीमा रहेका बौद्ध क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाउको बताउँदै यसका लागि आवश्यक रकम जुटाउन विश्व समुदायमा पुग्ने बताए ।

उनले आफू कमाउनका लागि भनेर लुम्बिनी नआएको र लुम्बिनीको विकासमा योगदान पुर्याउने आफ्नो उद्देश्य रहेको जिकिर गरे । उनले कर्मचारीहरुलाई आर्थिक अनुशासन र पारर्दिता कायम राख्न निर्देशन दिइएको बताए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले नवनियुक्त उपाध्यक्षलाई लुम्बिनी बनाउने सन्दर्भमा सिंगो टिमको साथ सहयोग रहने बताए । उनले लुम्बिनी विकास कोषले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम दुईजना उपाध्यक्षको भिजनअनुसार आएको बताए । सदस्य सचिव शाक्यले प्राचिन शाक्य गणराज्य कपिलबस्तुको तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकरणको तयारी भइरहेको समेत बताए । 

उक्त अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नवलपरासीका अध्यक्ष हरि शर्मा, कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यसहित पत्रकारहरुले लुम्बिनीका विषयमा प्रश्न र सुझाव राखेका थिए ।

पत्रकार सम्मेलनमा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य नेत्रबहादुर शाही, विश्वराज पौडेल, परिषद् सदस्य गोपिकृष्ण शर्मा, श्रीराम यादव, सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम प्रेस कन्सल्ट्यान्ट विनोद परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।