२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

२५ औं उपभोक्ता स्थापना दिवसमा अन्तरसंवाद कार्यक्रम

शुक्रवार , भाद्र २२, २०८०

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • रुपन्देही, २२ भदौ ।

    उपभोक्ता हित संरक्षण मंच लुम्बिनीले २५ औं उपभोक्ता स्थापना दिवसको अवसरमा उपभोक्ताका अधिकार तथा मन्चले गरेका प्रयासहरुका बारेमा अन्तरसंवाद कार्यक्रम गरेको छ । शुक्रबार बुटवलमा २५ औं उपभोक्ता स्थापना दिवसका अवसरमा अन्तरसंवाद गरिएको मन्चले जनाएको छ । 

    कार्यक्रममा मञ्चका प्रदेश अध्यक्ष तेजकुमार पाठकले २५ वर्षको कार्यकालमा उपभोक्ताका अधिकारका पक्षमा गरिएका प्रयासहरुको बारेमा जानकारी गराएका थिए । उनले पछिल्लो समय उपभोक्ता आफै पनि धेरै विषयमा सचेत हुन थालेको तर केही उद्योगी व्यवसायीहरुले गरेका गलत क्रियाकलापले समस्या पारिरहेको बताए । उनले सबै उपभोक्ताका आफ्ना अधिकारका विषयमा जागरण ल्याउनुपर्ने बताउँदै सबैको समन्वयमा मात्रै सबै उपभोक्तालाई न्याय दिलाउन सकिने बताए ।

    मन्चका केन्द्रीय सदस्य ऋषि आजादले केही उद्योगी व्यवसायी र विचौलियाका कारण सर्वसाधारण उपभोक्ताका अधिकार हनन भएको बताउँदै उपभोक्ताको हितमा मन्चले अझै धेरै अभियानमुखी कामहरु गरिरहनुपर्ने बताए । उनले हरेक टोलटोलबाट सचेतना अभियान चलाउन सके र पालिकास्तरमा रहेका मन्चले स्थानीय सरकारसँग समन्वय गरेर काम गर्नसके अझै प्रभावकारी बनाउन सकिने जनाएका थिए ।

    मन्चलाई सरकारी पक्ष तथा निजी क्षेत्रको पूर्ण साथ नहुने भएकाले स्वतः सदस्यहरु क्रियाशील हुनुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।  केही समयअघि मंचका केन्द्रीय अध्यक्ष ज्योती बानियाँलाई आमन्त्रण गरेर यस क्षेत्रका सबै सरोकारवाला पक्षलाई राखेर गरिएको कार्यक्रम निकै प्रभावकारी भएको समीक्षा कार्यक्रममा गरिएको थियो । कार्यक्रममा मन्चका बुटवल अध्यक्ष समुद्र जिसीले आफ्नो कार्यकालमा भएका कामहरुको विवरण पेश गरेका थिए ।

    कार्यक्रममा उपभोक्ताकर्मी बुटवल उपमहानगरपालिका उपभोक्ता हित सँरक्षण मन्चका उपाध्यक्ष भक्तबहादुर कार्की, सह–सचिव पुष्पा शर्मा, सदस्यहरु राजु लिगल, मोहन पाण्डे, वसन्ता गैरेलगायतले विचार राखेका थिए ।

    कार्यक्रममा मन्चले फादर अफ कन्जुमर  घोषणा गरेका पूर्वअध्यक्ष स्व. नर्बु लामाको सम्झना गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव लिलाधर लुइँटेलले गरेका थिए । पहिले सीमित जिल्लामा रहेको मन्च अहिले केन्द्र, प्रदेश, जिल्ला र पालिकास्तरमा क्रियाशील हुन थालेको छ ।