
सोमवार , माघ १२, २०७७
भैरहवा, १२ माघ ।
नेकपा (प्रचण्ड–माधव) समुहका नेता घनश्याम भुसालले ३ महिनाभित्र संसद व्युतिने बताएका छन् । उनले अरु कुनै कारणले ढिलो गरिए सडकबाटै संसद व्युतिने दावी गरेका छन् ।
लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भुसालले भने, ‘सडकमा बसेर हामी संविधानको रक्षाको पक्षमा छौं, संविधानमा भएका जनताको अधिकार बताउँदै आएका छौं, अदालतको निर्णयको पखाईमा छौं, महेन्द्रले ३० वर्ष खोसे, ज्ञानेन्द्रले ३ वर्ष खोस्न सकेनन्, ३ महिनाभित्र संसद व्युताउँछौं ।’ सेटिङको हल्ला गरेर प्रचार गर्ने र प्रभावित पार्ने षडयन्त्रविरुद्ध सडकमा आएको उनले बताए ।
उनले निर्वाचन आयोगले ४४१ सदस्यीय केन्द्रीय कमिटीको बहुमत निर्णय सदर गर्नुपर्ने भए पनि त्यसो गर्न नसकेको बताए । निर्वाचन आयोगले किन आफ्नो औचित्य पुष्टि गर्न सकेन भनेर आयोगसंग प्रश्न गरिने उनले बताए । ‘४४१ सदस्यीय केन्द्रीय कमिटी हो भन्ने कुरा स्थापित गर्छ यस अर्थमा ठीक छ, त्यसबाहेक निर्वाचन आयोगले निर्णय गर्न सकेन, आयोगले आफ्नो औचित्य पुष्टि गर्नुपर्छ भनेको सेटिङमा छैन् भन्ने बुझ्नुपर्छ, कानून संविधान अनुसार निर्वाचन आयोगले काम गरेको छैन, ’भुसालले भने ।
संसद विघटनको मुद्दामा एकहिसाबले आफु हार्ने महसुस गरेर प्रधानमन्त्री केपी एक्लै गालीगलौजमा उत्रिएको उनले बताए । ‘मुद्दा हारिन्छ भन्ने कुरा प्रधानमन्त्रीलाई महसुस भइसकेको छ, उहाँ अफ्ठयारोमा पर्दै जानु भएको छ, भन्ने मलाई लाग्छ, पछिल्लो समय उहाँ आक्रमक बन्दै जानुभएको छ, उनले भने ।
प्रधानमन्त्री ओलीले संसद विघटन भनेर सिफारिस गरेपछि अहिलेसम्म संसदीय परम्परा अनुसार कुनै आधार पेश गर्न नसकेको भुसालले बताए । पूर्व कृषिमन्त्री समेत रहेका नेता भुसालले सेटिङको हल्लाले त्रसित सज्जनहरु पनि अहिले चुपचाप लागेको बताए । नेकपाको बहुमतको निर्णय नै वैधानिक नेकपा हुने उनको भनाइ छ ।
संविधान च्यातेर निर्वाचन हुँदैन
नेता भुसालले संविधान च्यातेर निर्वाचन हुन नसक्ने बताए । लोकतन्त्रलाई एक हिसाबले घाइते र असफल बनाएर निर्वाचन हुन नसक्ने भुसालको भनाइ छ । ‘यो निर्वाचन गर्नको लागि घोषणा गरिएको होइन, पार्टीमा एकतिहाइ भन्दा कम भोट भएका प्रधानमन्त्री ओलीले निर्वाचनमा दुईतिहाई बहुमत ल्याउँछु भनेर हिंड्ने कुरा हास्यास्पद छ, ’उनले भने । यसले आफै निर्वाचनको कुराको खण्डन गर्ने उनले बताए । लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के.सी.को अध्यक्षता तथा सचिव शंकर प्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij