
सोमवार , माघ १२, २०७७
बुटवल, १२ माघ ।
नेकपा प्रचण्ड–नेपाल समुहका नेता वर्षमान पुनले निर्वाचन आयोगले क्षमता अभावका कारण निर्णय गर्न नसकेको आरोप लगाएका छन् । कार्यकारी प्रमुखको दवावमा परेर निर्वाचन आयोगले यथार्थ निर्णय गर्न नसकेको टिप्पणी गर्दै नेता पुनले दलको आधिकारिकताका लागि सम्पूर्ण आधार र प्रमाण हुँदाहुदै आयोग निर्णयबाट पन्छिने काम मात्र गरेको बताए ।
नेता पुनले भने–नेकपा एकताका बेला रहेको कुल ४ सय ४१ सदस्यीय केन्द्रिय कमिटीमा रहेकामध्ये हाल ७० प्रतिशत प्रचण्ड–नेपाल पक्षमा छन् । तीमध्ये २ सय ९२ जनाले त हस्ताक्षर गरेर निर्वाचन आयोगमा बुझाएका छन् । आयोग अनिर्णयको बन्दी भयो । आन्दोलनबाटै संसद पुनःस्थापना र दलको आधिकारिकता स्थापित गरेरै छाड्ने कुरामा नेता पुनले जोड दिए ।
पुर्व जलस्रोत मन्त्री समेत रहेका नेता पुनले एमसीसीको बारेमा निर्णय लिन संसदमै छलफल हुन आवश्यक रहेको उल्लेख गर्दै संसद पुनःस्थापनापछि मात्र एमसीसीबारे निर्णय हुनसक्ने बताए । वर्तमान सरकारका मन्त्रीहरु जनताका काम गर्न छोडेर गाली गलौज गर्दै हिंडेको आरोप लगाउँदै नेता पुनले राम्रा काम गरेर देखाउन मन्त्रीहरुलाई चुनौती समेत दिएका छन् ।
लोडसेडिङ अन्त्यबारे बिभिन्न ब्यक्तिहरुले जस लिने काम भइरहेको कुराप्रति लक्षित गर्दै नेता पुनले प्रचण्ड प्रधानमन्त्री र जनार्दन शर्मा उर्जामन्त्री र कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएका बेला लोडसेडिङ अन्त्य भएको दावी गरे । आफु मन्त्री भएका बेला औद्योगिक क्षेत्रको लोडसेडिङ हटाउन सफल भएको उल्लेख गरे ।
आफु कुलमान घिसिङको म्याद थपको पक्षमा रहेको खुलासा गर्दै नेता पुनले भने–पहिलो ४ वर्षे कार्यकालमा राम्रो काम गरेका प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक घिसिङको म्याद थपका लागि प्रस्ताव मन्त्रीपरिषदमा लैजाँदा प्रधानमन्त्री केपी ओलीले निर्णय गर्नबाट रोकेका कारण म्याद थप गर्न नसकिएको हो ।
यसअघि आदिवासी जनजाति महासंघ रुपन्देहीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण भेलामा बोल्दै नेता पुनले वैशाखमा निर्वाचन हुने सम्भावना नरहेको बताए । म्ुालुकलाई अनिर्णयको बन्दी बनाएर र नयाँ खिलराज रेग्मीको खोजी भइरहेको उनले आशंका व्यक्त गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij