२०८३, कार्तिक १७ गते

Nov 03 2026 | २०८३, कार्तिक १७ गते

रुपन्देहीमा महिलाको हत्यामा संलग्न चारजना पक्राउ

मंगलवार , कार्तिक १७, २०८३

  • 211
    Shares
  • 211
    Shares
  • भैरहवा, १७ कार्तिक । रुपन्देहीमा एक महिलाको हत्या गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कोटहीमाई गाउँपालिका–५ स्थित छोटकी मझगाँवाकी ४१ वर्षीया जुबेदा भन्ने जोबेदा खातुन धोबीको हत्यामा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी निरीक्षक चन्द्र किशोर शाहका अनुसार कार्तिक १२ गते बिहान करिब ११ बजे कोटहीमाई गाउँपालिका–६ र ७ को बीचमा रहेको धानखेतमा जुबेदाको हत्या भएको थियो । उनको टाउकोमा कोदालोको बिँडले प्रहार गर्नुका साथै घाँटीमा हँसिया प्रहार गरी हत्या गरिएको र कानमा लगाएका सुनका गहना लुटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    घटनाको अनुसन्धानका क्रममा प्रहरीले कोटहीमाई–६ खजनी चोकका ४० वर्षीय बैजनाथ यादव, ३० वर्षीय प्रमोद कुमार कुर्मी, सोही वडाको बोगडीका २६ वर्षीय मन्जे हरिजन र मर्चवारीका ३५ वर्षीय धर्मराज यादवलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका चारैजनालाई रुपन्देही जिल्ला अदालतमा पेस गरिएकोमा अदालतबाट ज्यान, करणी तथा चोरी र डाँकासम्बन्धी कसुरमा अनुसन्धान गर्न म्याद थप भएको प्रहरीले जनाएको छ । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो ।