२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

भैरहवामा कृष्ण सिटौलाले भने-‘माओवादी आएर धर्मनिरपेक्षता आएको भन्ने भ्रम छ’

सोमवार , भाद्र २५, २०८०

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, २५ भदौ ।
    नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री कृष्ण प्रसाद सिटौलीले माओवादी आएर मुलुकमा धर्मनिरपेक्षता आएको भन्ने भ्रम रहेको बताएका छन् । उनले यो भ्रममा नहिंड्न कांग्रेस नेता–कार्यकर्तालाई आग्रह समेत गरेका छन् । 

    नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व महामन्त्री सिटौलाले धर्मनिरपेक्षता संसदबाट सर्वसम्मतिले पारित भएकाले माओवादीका कारण आएको भन्ने भ्रममा नपर्न आग्रह गरे । उनले ७ दलको एलायन्सले माओवादीसँग १२ बुँदे सम्झौता गरिएको र १२ बुँदाको निष्कर्ष माओवादी हतियार छाडेर शान्ति प्रक्रियामा आउनुपर्छ र लोकतन्त्रको मूल्य मान्यता मान्नुपर्छ भन्ने रहेको बताए ।

    उनले तीनै तहको सरकारको अहिले मूल्यांकन गरिहाल्ने बेला भइनसकेको धारणा व्यक्त गरे । नेता सिटौलाले भने, ‘स्थानीय सरकार दोस्रो बजेटमा गएका छन्, केन्द्र सरकार भर्खर पहिलो बजेटमा गएको छ, प्रारम्भिक अवस्था मान्नुपर्छ । ’ नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि संविधानबमोजिम तीनै तहका सरकारले एक कार्यकाल पूरा गरिसकेको उनको भनाइ छ ।

    कांग्रेस कांग्रेसका लागि मात्र नभइ देश र जनताको अधिकारका लागि जन्मेको पार्टी भएको उनले बताए । उनले कांग्रेस सबै धर्म, संस्कृति, भाषा र सबै क्षेत्रको आस्थाको केन्द्र भएको दावी गरे । उनले भने, ‘कांग्रेसमाथि अनेकौं षडयन्त्र भयो । तर, सकेनन्, भविष्यमा पनि कांग्रेसलाई सकाउन सक्दैनन् । कांग्रेसकै नेतृत्वमा मुलुकमा परिवर्तन आएको उनको भनाइ छ । कमजोर अर्थतन्त्र नेपालको समस्या भएको र यही ढंगले अर्थतन्त्र सुधार हुन नसक्ने सिटौलाले बताए ।

    ‘खाणजीको कुनै दोष छैन’

    कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले आफ्नो विचारमा बालकृष्ण खाणको कुनै दोष नरहेको बताएका छन् । उनले भने, ‘मेरो आफ्नै विचारमा खाणजीको कुनै गल्ती छैन् । यो कुरा मैले पार्टीको पदाधिकारीबीच पनि राखेको छु । म कानूनको विद्यार्थी पनि हुँ । मेरो विचारमा खाणजी चाँडै आउनुहुन्छ । विचाराधिन मुद्दाका बारेमा म त्यति बोल्दिन ।’

    कार्यक्रममा बोल्ने कांग्रेस नेता-कार्यकर्ताहरुले सरकारमा कांग्रेस भए पनि अनुभुति हुन नसकेको, कांग्रेस नेता कार्यकर्तामाथि आक्रमण बढेकोलगायत धारणा राखेका थिए ।

    कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति सुशील गुरुङको सभापतित्व, कोषाध्यक्ष कृष्ण खनालको स्वागत तथा सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।