
बुधवार , भाद्र २७, २०८०
भैरहवा, २७ भदौ ।
उद्योगी–व्यवसायीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडियो) भरतमणी पाण्डेले जिल्लामा गरेका काम सधै स्मरणीय रहने बताएका छन् । सरुवा भएर गृह मन्त्रालयमा जान लागेका पाण्डेलाई विदाई गर्न आयोजित ‘फेरी भेटौला कार्यक्रम’ मा बोल्ने उद्योगी व्यवसायीहरुले सिडियोका रुपमा पाण्डेले अभिभावकीय भूमिका निर्वाह गर्नुभएको बताए ।
उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्स) रुपन्देही, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, मदिरा व्यवसायी संघ र आस्था महिला उद्यमी संघ रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको कार्यक्रममा उद्योगी व्यवसायीले सिडियो पाण्डेले निजी क्षेत्रलाई सहयोग गर्नुभएको बताए ।
कार्यक्रममा बोल्दै उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले प्रजिअ पाण्डेको कार्यकालमा शान्ति सुरक्षाको अनुभुति भएको बताए । उनले भने, ‘सिडियोसाबले रुपन्देहीको उद्योग, पर्यटन, व्यापार प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । दुईवटा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनुभयो । त्यस्तै सीमा नाका व्यवस्थित गर्न र भारतीय बजार फरेनी जाने प्रवृत्ति निरुत्साहित गर्न उहाँले आवश्यक कदम चाल्नुभयो । ’
उद्योगी व्यवसायीको अभिभावकको रुपमा भूमिका निर्वाह गर्नुभएको ज्ञवालीले बताए । विकास निर्माणका कार्यमा प्रजिअ पाण्डेले चासो लिइ आवश्यक कदम अगाडि बढाउनुभएको बताए ।
त्यस्तै संगठनका निवर्तमान अध्यक्ष तथा भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले निजी क्षेत्रले उठाएका मागको प्रजिअ पाण्डेले सुनुवाइ गर्नुभएको बताए । उनले भने, ‘उहाँले गरेका काम स्मरणीय रहनेछन् । अभिभावकमा रुपमा भूमिका निर्वाह गर्नुभयो । अस्पतालमा पनि उहाँबाट सहयोग पाए ।’
संगठनका सल्लाहकार सुरेन्द्र बस्यालले सिडियो पाण्डेले व्यवसायीको समस्या बुझ्दै प्रोत्साहन गर्नुभएको बताए ।
संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्रीले कोरोना महामारी र आर्थिक मन्दीमा निजी क्षेत्रले राज्यबाट धेरै आशा गरेको बेला सिडियो पाण्डेबाट सहयोग पाएको बताए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले निजी क्षेत्रका कार्यक्रममा पाण्डेबाट सहयोग भएको बताए । उनले भने, ‘सहज रुपमा काम गर्न पाइयो।’
त्यस्तै सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सतिश कुमार कौसल (दीपक), मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवाली, होटल व्यवसायी महासंघका केन्द्रीय उपमहासचिव एवं होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका महासचिव राजेश महोत्रा, आस्था महिला उद्यमी संघकी अध्यक्ष विन्दु न्यौपानेले सिडियो पाण्डेले रुपन्देहीका लागि महत्वपूर्ण योगदान गर्नुभएको बताए ।
उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
उद्योगी–व्यवसायीबाट सहयोग भयो : पाण्डे
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले उद्योगी व्यवसायीबाट रचनात्मक सहयोग भएको बताए । उनले उद्योगी व्यवसायीको सल्लाह सुझाव अनुसार भारतीय भूमिमा रहेको फरेनी बजार जाने व्यक्तिहरुलाई निरुत्साहित गरिएको बताए ।
उनले भने, ‘फरेनी बजारमा भैरहवादेखि पाल्पा, गुल्मीसम्मका व्यक्ति आउने गर्नुहुन्थ्यो । ’ त्यसले राजस्व चुहावट, चोरी तस्करीलाई बढावा दिनुका साथै आन्तरिक बजारलाई समेत नकारात्मक रुपमा समेत प्रभावित बनाएको थियो । उक्त बजारमा सामान खरीद गर्न जाने व्यक्तिलाई धेरै हदसम्म निरुत्साहित गरिएको छ । तपाईहरुले निरन्तर खबरदारी र निगरानी गर्नुहोला । ’प्रमुख जिल्ला अधिकारीको बढी भूमिका निर्वाचन र विपद/संकटमा आवश्यक देखिने उनको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij