शुक्रवार , भाद्र २९, २०८०
रुपन्देही, २९ भदौ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित कोटिहवामा प्रधान कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एशियाली स्तरको सिल्भर ब्राण्ड प्राप्त गरेको छ ।
एशियाली ऋण महासंघ (अक्कू) को आयोजनामा काठमाडौंको द होटल सोल्टीमा शुक्रबार भएको अक्कू फोरम २०२३ को ग्राण्ड ओपनिङ सेरेमोनिका अवसमा अक्कूका अध्यक्ष योकसुक किम र प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यानरोकेले ब्राण्ड प्रदान गरेका हुन् ।
त्यस्तै काभ्रेको बनेपास्थित चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि एशियाली स्तरको सिल्भर ब्राण्ड प्राप्त गरेको छ ।
अक्कूको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) एवं राष्ट्रिय सहकारी बैंकको संयुक्त प्रायोजनमा अक्कू फोरम २०२३ नेपालमा आयोजना भएको हो । त्यस्तै फोरममा फिलिपिन्सको तगुम कोअपरेटिभ र इण्डोनेशियाको सांसबेरङ कोअपरेटिभले एक्सेस गोल्ड ब्राण्ड प्राप्त गरेका छन् ।
ब्यालेन्स स्कोर कार्डमा आधारित ४ वटा परिवेशहरु वित्तीय, सदस्य, आन्तरिक व्यवसायिक र सिकाई एवं वृद्धिका कुल ८६ वटा सूचकहरुमा कार्यसम्पादनको परिणामहरु प्रस्तुत गरेपछि सो को आधारमा सुपरीवेक्षकीय परीक्षण हुँदै एशियाली ऋण महासंघबाट अन्तिम परीक्षणपश्चात प्रमाणीकरण गरिने यो गुणस्तर सुनिश्चितता मापदण्डको परीक्षणमा सहभागी हुन शुद्ध संस्थागत पूँजी कम्तीमा ५ प्रतिशत, भाखा नाघेको ऋण ५ प्रतिशतभन्दा कम र पर्ल्स मापदण्ड बमोजिम आवश्यक सुरक्षण कोष कायम गरिएको थियो ।
हरेक परिवेशमा कम्तिमा ५० प्रतिशत अंकभार प्राप्त गरिएको थियो भने सुशासन, व्यवस्थापकीय कुशलता एवं प्रभावकारिता, दुरदृष्टि, ध्येय, उद्देश्य एवं स्पष्ट रणनीतिक व्यवसायिक मार्गचित्र, फिट एण्ड प्रोपर टेस्ट, सदस्य सन्तुष्टी, प्रविधिको प्रयोग, भौतिक सुरक्षाका मानक एवं पर्ल्स मापदण्ड बमोजिमका वित्तीय मानकहरुको कायम जस्ता मुख्य परीक्षणका सूचकहरुमा संस्थाहरुले अब्बल परिणाम हासिल गरेका थिए ।
४० हजार ६ सय भन्दा बढी सदस्यहरु र ३ अर्ब ३३ करोडको कारोबार भएको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शुद्ध संस्थागत पूँजी ८.१९ प्रतिशत रहेको सहकारीका व्यवस्थापक रन बहादुर थापाले बताए । १० वटा सेवा केन्द्र र ८ वटा संकलन केन्द्रमार्फत सदस्यहरुलाई सेवा प्रदान गरिरहेको यस सहकारीले विशेषतः लघु उद्यम व्यवसायहरुमा लघु ऋणहरु प्रदान गरेको छ ।
विषम परिस्थितिमा पनि निरन्तर सदस्यको हितमा काम गरिरहेको जनउत्थानले कोरोना महामारीको विषम समयमा कृषकहरुको उत्पादन बजारीकरणको लागि कृषि एम्बुलेन्ससमेत सञ्चालन गरेको संस्थाकी अध्यक्ष ज्ञानु पौड्यालले बताइन् । यो संस्थाको कुल बचतमध्ये ४१.५ प्रतिशत नियमित मासिक तथा कुल धन सिर्जना गर्ने बचतको भार ५६.८ प्रतिशत रहेको सहकारीले जनाएको छ ।
त्यस्तै ९ हजार १ सय २२ सदस्य र १ अर्ब २९ करोडको वासलात भएको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको शुद्ध संस्थागत पूँजी १०.३१ प्रतिशत रहेको छ । यो संस्थाले हायरपर्चेज ऋण र व्यवसायिक ऋणहरुलाई प्राथमिकतामा राखेको जनाएको छ । कुल बचतको २७ प्रतिशत धन सिर्जना गर्ने बचत रहेको यस संस्थामा कुल बचतको १७ प्रतिशत नियमित मासिक बचत रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij