आइतवार , भाद्र ३१, २०८०
रुपन्देही, ३१ भदौ ।
समय र परिस्थितिले कसलाई कतिबेला कहाँ पुयाउँछ पत्तै नहुने । यस्तै भएको छ रुपन्देहीको बुटवलमा विगत १५ वर्षदेखि विभिन्न संघ–संस्थाको नेतृत्व गरेका, राजनीतिमा पनि उत्तिकै सम्भावना भएका र झण्डै करोडको व्यवसाय गरेका रामु गैह्रेलाई । स्याङजाको गल्याङ नगरपालिका–९ गेझा घर भई १५ वर्षदेखि बुटवल दीपनगरमा बस्दै आएका ३९ वर्षिय रामुले एक महिना अघिसम्म रोजगारी गर्न विदेश जानुपर्ला भन्ने सोचेकै थिएनन् ।
राष्ट्रिय युवा संघ, नेपाल रुपन्देहीको सदस्य, नेपाल खेलकुद महासंघ रुपन्देहीको सदस्य, लायन्स क्लब बुटवल देउरालीको सदस्य, जागृति र सिद्धार्थ बहुउद्देश्यीय सहकारीका शेयरधनी अनि एक करोड लगानीको माउन्टेन कलेक्स फेन्सी पसलका मालिक रामु बुटवलमै जमेर व्यवसाय अनि राजनीति र सामाजिक संघ–संस्थाको नेतृत्व गर्दै समाज रुपान्तरण गर्नुपर्छ भन्ने मान्यतामै थिए ।
उनी आफू आबद्ध राजनीतिक संगठन, खेलकुद संगठन आदि सबैमा आबद्ध साथीभाईलाई स्वदेशमै केही गर्नुपर्छ भनेर प्रोत्साहन गर्दै हिंड्थे । तर, कोरोना महामारीपछि सुरु भएको आर्थिक मन्दी, जग्गा विक्री ठप्प, चरम महंगीको असर बढ्दै गएको अवस्था र मुलुकमा भ्रष्टाचार र बेथितिका एकपछि अर्को घटनाहरु सार्वजनिक भइरहँदा रामुले देशमा बसेर अब बैंक ब्याज र किस्ता तिर्न, छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिलाउन नसकिने हो कि भन्ने चिन्ता लाग्यो । र, फलस्वरुप उनी चौतारी थियो बर थिएन, शहर थियो तर आफ्नो घर थिएन, विदेशिनु मेरो बाध्यता थियो तर कुनै रहर थिएन भन्दै सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै बुटवल र आफ्नो जन्मथलो गेझामा कमाएको ख्यातिलाई थाती राखेर एकाएक रोजगारीका लागि जापान जाने निर्णयमा पुगे ।
सोहीअनुसार रामु एक महिना अघि जापानको टोकियो शहरको एक रेष्टुरेन्टमा काम गर्न जान विवश भए । नेपालमा काम गर्दा मासिक ५० हजार तलब पाउन पनि मुस्किल हुने तर जापानमा भने मासिक ३ लाख बढी तलब हुने उनले बताए । ‘यसरी आफ्नो मातृभूमि छाडेर अर्काको देशमा १२ घण्टा काम गर्न आउनुपर्ला भन्ने कल्पनै गरेको थिइन’–जापानबाट भावुक हुंदै रामुले भने–‘राम्रो होला भनेर झण्डै एक करोड लगानी गरेर एकजना साथीसँग मिलेर बुटवलको दीपनगरमा फेन्सी पसल खोलियो, कोरोना महामारीका कारण व्यवसाय चौपट भयो अनि विदेश पलायन हुनुको विकल्प देखिन ।’
बैंकबाट ऋण लिएर व्यापारमा लगानी गर्दा १० पटक सोचेर मात्र गर्नुपर्ने शिक्षा आफूले पाएको उनले बताए । नेपालमा कुनै पनि कुरा नीति, नियम र सिस्टम अनुसार नचल्दा व्यवसायीदेखि जनताले दुःख पाउने गरेको जापानको सिस्टम देखेर अनुभव भएको रामुले सुनाए ।
‘जापानमा हरेक कुरा सिस्टम, कानूनअनुसार चल्दो रहेछ, व्यवसायी र करदातालाई सरकारले उच्च सम्मान गर्दो रहेछ, यहाँका जनता धनी भए पनि बुढेसकालसम्म मिहिनेत गर्दा रहेछन् तर हाम्रोमा यस्तो छैन’–रामुले भने–‘धेरै मिहिनेती भएकाले जापानीहरुको आयु पनि धेरै रहेछ ।’ मुलुकको वर्तमान विषम परिस्थितिले जापान आउनुपरे पनि केही वर्ष काम गरेपछि नेपालमै फर्केर राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील हुने रामुको भनाइ छ ।
आफू जस्तै पछिल्लो समय वैदेशिक रोजगारी र अध्ययनका लागि दिनहुँ २ हजार बढी युवाहरु विदेश पलायन हुने डरलाग्दो अवस्था रोक्न सरकार र राजनीतिक दलहरु, युवा संगठनहरु गम्भीर हुनुपर्ने र स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने रामुको सुझाव छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij