२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

युवा जनशक्ति रोजगारीको नाममा विदेश पलायन भइरहेका छन् : घनश्याम भुसाल 

मंगलवार , आश्विन २, २०८०

रुपन्देही, २ असोज ।
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले अबको राजनीतिक बाटो पहिल्याउन नसक्दा मुलुकबाट युवा जनशक्ति रोजगारीको नाममा विदेश पलायन भइरहेको बताएका छन् । उनले संविधान निर्माणपछि बनेको सरकारको नेतृत्वकर्ताले राष्ट्रिय पूँजीको विकास गर्न नसक्दा त्यसबाट समाजमा निराशा र अराजकताले प्रश्रय पाएको बताए । उनले अब स्वदेशमा रोजगारी सृजना गर्ने गरी राजनीतिक कार्यक्रम आवश्यक रहेको बताए । 

नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले मंगलबार बुटवलमा कार्यकर्तासँग गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आगामी १० वर्षमा मुलुक बनाउने एजेण्डासहित नेकपा (एकीकृत समाजवादी) छिट्टै देशव्यापी अभियानमा सामेल हुने बताए । उनले संविधानमा समाजवाद उन्मुख भनेर लेखिए पनि त्यसको स्पष्ट बाटो कुनै पनि दलसँग नभएको बताउँदै अब त्यसको अगुवाइ एकीकृत समाजवादीले गर्ने बताए । 

आगामी १० वर्षमा राष्ट्रिय पूँजीको विकास गर्दै देशमा रोजगारीको वातावरण सृजना गर्ने उनले बताए । उनले नेपालबाट युवाहरु विदेश पलायन हुने क्रम बढेको बताउँदै त्यो जनशक्तिलाई नेपालमै रोजगारी दिएर राष्ट्रिय पूँजीको विकास गर्नुपर्ने बताए । ‘हरेक वर्ष देश छोड्नेहरुको संख्या बढेको छ, ३ लाखबाट ८ लाख पुगिसक्यो, यो अवस्था निकै भयानक हो’ महासचिव भुसालले भने –‘अब हामीले हाम्रा छोराछोरीलाई विदेश पलायन हुनबाट रोक्ने गरी राजनीतिक रुपमा एजेण्डा र कार्यक्रम बनाउँदैछौं ।’ 

उनले आगामी माघमा हुने पार्टीको महाधिवेशनसम्म आफूहरुले १० वर्षमा राष्ट्रिय पूँजीको विकास गर्ने स्पष्ट योजना र खाका तयार पारेर राजनीतिक बाटो स्पष्ट पार्ने बताए । उनले प्रतिनिधि सभाको विघटनविरुद्धको लडाईँमा सफलता हासिल गरेको बताउँदै अब नेपाली मोडेलको समाजवादको कार्यक्रम समेत आफूहरुले नै दिने बताए । ‘अहिले हाम्रा सामु, अबको बाटो के भन्ने प्रश्न छ’ भुसालले भने –‘यसका लागि एक÷डेढ महिनामा हामीले स्पष्ट राजनीतिक कार्यदिशा ल्याउछौं ।’  

उनले नेकपा एमालेको नवौं महाधिवेशनमा राष्ट्रिय पूँजीको विकास गरेर अगाडि बढ्नुपर्ने नीति पारित भए पनि केपी ओलीका कारण मुलुक त्यसतर्फ नभई सत्ता र शक्तिको दुरुपयोगमा केन्द्रीत हुँदा नेपाली समाजमा निराशा देखा परेको टिप्पणी गरे । 

पूर्व कृषिमन्त्री समेत रहेका भुसालले राष्ट्रिय पूँजीको विकासलाई रोजगारीसँग र सरकारको नीतिसँग जोडेर अगाडि बढनुपर्ने बताए । उनले ३ सय वा १ हजार जनालाई रोजगारी दिने उद्योगलाई कर वा अन्य सहुलियत दिएर देशभित्र रोजगारीको वातावरण बनाउनुपर्ने बताए । उनले रोजगारीका लागि स्वदेशभित्र र विदेश नीतिमा समेत परिवर्तन गरेर अब मुलुक बनाउने गरी एकीकृत समाजवादीले स्पष्ट योजना बनाउने तयारीमा जुटेको बताए ।

उनले पहिलो १० वर्षमा रोजगारी सृजना गर्ने, त्यसपछिको १० वर्ष रोजगारी सृजनापछि उत्पन्न असमानताको दुरी घटाउने र अर्को १० वर्षमा बल्ल नेपाली मोडेलको समाजवादमा जान सकिने बताए । महासचिव भुसालले १० वर्षमा बेरोजगारी समस्या उन्मूलन गर्नैपर्ने बताए । उनले नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय पूँजीको विकास गर्ने नीति सहितको एजेण्डा तय गरेर देशव्यापी अभियानमा सामेल हुन लागेको समेत बताए । 

संविधान निर्माणपछि बनेको दुईतिहाईको सरकारले रोजगारी सृजना गरेर मुलुकलाई अगाडि बढाउनुपर्नेमा संविधान र व्यवस्थाको रक्षाका लागि विद्रोह गरेर एकीकृत समाजवादी पार्टीका रुपमा आफूहरु स्थापित भएको उनले बताए । उनले पार्टी सचिवालय बैठकले एजेण्डामा केन्द्रीत भएर छलफल गरेर मुद्दा तय गर्ने बताए । 

भुसालले केही दिनअघि केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी बाँडफाँड गरेको बताउँदै त्यसमा आएका असन्तुष्टीहरुलाई सम्बोधन गर्ने समेत बताए । उनले एकीकृत समाजवादीलाई जनतासँग जोड्ने गरी पार्टीले देशव्यापी पुर्नजागरण अभियान सुरु गर्न लागेको बताउँदै जिल्ला–जिल्लाबाट समाजवादी कार्यक्रममा जोडिन आग्रह गरे ।  

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, बाबुलाल यादव, भगवती घिमिरे, जिल्लाका कार्यवाहक अध्यक्ष श्रीराम यादव, उपाध्यक्ष चिनबहादुर गुरुङ, पूर्व सांसद रामचन्द्र भट्टराई, साहित्यकार बुँद राना, उपसचिव टंक पोखरेल लगायतले बोल्दै समाजवादी पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिएका थिए ।